मिलन बगाले
अंग्रेजी नयाँ बर्षको एकाबिहानै सामाजिक सञ्जालको भित्तामा एउटी स्यानी बच्ची रोइरहेकी देखे । बुझ्ने रहर जाग्यो । फोटो ठूलो पारेर हेरे । कठै ! ति बच्ची गिर्वाणी रहिछिन् । स्वर्गीय राजकुमारी श्रुतीकी छोरी गिर्वाणी ! आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी । तिनको आँसुले मेरो मन बेस्सरी अमिलो भो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रसम्बन्धी फोटो प्रर्दशनी गरेका रहेछन पूर्व शाहीचिकित्सक डा. खगेन्द्र श्रेष्ठले । त्यही प्रदर्शनी हेर्दै गिर्वाणी रोईरहेकी रहिछिन् । यतिविघ्न मन छुने र मन रुने फोटो खिच्नेलाई धेरै धन्यवाद ।
Photo : Binita Pandey |
गिर्वाणीका हजुरबा ज्ञानी थिए । आफ्ना बाबुले लादेको नराम्रो
ब्यवस्था यिनले निकैबर्ष धाने । पञ्चायत धान्नु हुदैनथ्यो पढेलेखेका राजाले । परम्पराबादी घेरोले उनलाई बाध्यो । उनी पनि बाधिन रुचाए । आन्दोलन चर्किएपछि २०३६ सालमा जनमतसंग्रह गराए । जालझेलका कृपाले त्यतिबेला पञ्चायत धानियो । २०४६ सालमा धानिएन । शासन सत्ताको साँचो जनताका मान्छेलाई बुझाएर खोपाको देउता बन्न यिनी राजी भए । २०४६ सालपछि नै वीरेन्द्र जनताको मनमन्दिरमा बास गरेका हुन् । पञ्चायतमा यिनलाई बमले उडाउन खोजिएको थियो । ‘वीरे चोर, देश छोड’को नाराले काठमाडौं घन्किएको थियो अरे । इतिहासका किताब पढेर थाहा पाएको हु मैले । संवैधानिक राजालाई जनताले बढी सम्मान गदौरैछन भन्ने भेउ वीरेन्द्रले बलियोसग महसुस गरे क्यार, मृत्युपर्यन्त लक्ष्मणरेखा नाघ्ने रहर गरेनन । अनि सर्वत्र पूजिए ।
२०४६ सालको जनआन्दोलनपछि वीरेन्द्र खोपाको देउता त बने, तर खोपामा बन्दुक पनि साथै राखे । उनी परम सेनाधिपति थिए । सेना ‘शाही’ थियो । उनको घरको भित्तो अग्लो थियो । भित्ताका ठाउँठाउँमा बडेबडे बन्दुक बोकेका सिपाहीले पहरा दिन्थे । भित्तोमुनि हिड्ने अधिकार कसैलाई थिएन । भित्तोतिर हेर्ने अधिकार पनि कसैलाई थिएन । भित्तो हेरे आखै फुक्लिने डर । सास फेरे सासै फुक्लिने डर । डरैडरको घरभित्र बन्दुकको भर मानेर गिर्वाणीका हजुरबा बसेका थिए । जनतासग अलग्गीएर बन्दुकको आडमा अग्लो पर्खालभित्र बस्नु राजा वीरेन्द्रको भयंकर गल्ती थियो गिर्वाणी ।
अग्लो पर्खालभित्र राजा वीरेन्द्रका शत्रुमात्रै थिए अरे । कोही ‘बाउको शासन मास्यो’ भनेर हप्काउथे अरे । कोही तेस्सै डराएर कांग्रेस -कम्युनिष्टलाई देश बुझाईस’ भन्थे अरे । कोही ‘बाउले झै फेरि उपध्रो गरेर शासन खोस’ भन्थे अरे । हप्काउनेका कुरा उनले सुनेनने अरे । पर्खालबाहिर भने यिनका शुभचिन्तक मात्रै थिए । सप्पैले मन पराउथे । देख्न खोज्थे । हेर्न खोज्थे । सुन्न खोज्थे । छुन खोज्थे । उनी बेलाबेलामा आईदिन्थे । हासिदिन्थे । बोलीदिन्थे । राजा जनता देखेर दंग पर्थे । जनता राजा देखेर । गजबको मेल थियो राजा -जनताको । जनताको आस्थाले राजसंस्था बाचेको थियो ।
बाहिर सुखी देखिएका राजा वीरेन्द्र र उनका परिवार दरबार नामको एम्बुसभित्र गुम्सिएर बसेका थिए । जन्मजात बानी परेकाले उनी एम्बुसभित्रै रमाइरहेका थिए । एम्बुसमा रमाउनु एक्काईसौ शताब्दीका पठित राजाको ठूलो भूल थियो, नेपाली जनताका लागी ठूलो क्षति । एउटा कालो राता आयो २०५८ जेठमा । त्यो रात आत्मघाती एम्बुस पडकियो र ३ हजारभन्दा बढी सेनाले घेरिएका राजाको परिवार नष्ट गर्यो । पर्खाल अग्लो थियो । पर्खाल होचो भइदिएको भए जनता भित्र पसेर राजाको उद्धार गर्ने थिए । रानीको उद्धार गर्ने थिए । गिर्वाणीकी आमालाई पनि बचाउने थिए । देउता खोपामा थिए । खोपाका वरिपरि हतियारका खपटा थिए । हतियारका खपटा छिचोलेर आफ्ना देउतासामू नेपाली जनता पुग्नै पाएनन ।
गिर्वाणी , तिमी हतियारलाई घृणा गर । हतियारले तिम्री आमा खाइदियो । आमाको न्यानो काख र हजुरबाको प्यारो काधबाट तिमी र तिम्री बहिनीलाई सदाको लागी बन्चीत तुल्याइदियो । नेपाली जनताका प्यारा राजालाई खाइदियो । तिम्रा आसुँले हत्यारा र हतियारलाई बेस्सरी पोल्नेछ । तिमी ज्ञानी बन्नु । श्रुतीकी छोरी र वीरेन्द्रकी नातिनीको रुपमा नेपाली जनताले तिमीलाई सधैं माया गर्नेछन् । नानी, तिम्रो सधैं जय होस् । साभार: शब्द चित्र डट कम
No comments:
Post a Comment