सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले दैलेखका विस्थापित पत्रकारहरुलाई शनिबारसम्म गृह-जिल्ला दैलेख फर्काउने प्रतिबद्धता जनाउनुभएको छ।
प्रेस चौतारी नेपालद्वारा आज दियिएको ज्ञापनपत्र बुझ्दै सञ्चार मन्त्री यादवले प्रधानमन्त्री र गृहमन्त्रीसँग पत्रकारहरुको सुरक्षाका विषयमा छलफल गरेर पत्रकारहरुलाई जिल्लामै बसेर काम गर्ने सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दैलेखमा अस्ति भएको घटनापछि 'ज्यान मार्ने धम्की दिइएको' भन्दै त्यहाँका बाइसजना पत्रकारहरु सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पुगेका छन्। उनीहरुले आज मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिए। एक घण्टा चलेको धर्ना कार्यक्रम नेपाल पत्रकार महासंघ मध्य-पश्चिम क्षेत्रीय समन्वय समितिको अगुवाइमा भएको थियो।
ती पत्रकारहरुले वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गर्नुका साथै आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका छन्। पत्रकारहरु सुर्खेत गएपछि दैलेखबाट प्रकाशित हुने दुइवटा दैनिक र दुइवटा एफएम रेडियो बन्द भएको बताइएको छ।