Friday, October 19, 2012

खाली हुँदैछ राजधानी


काठमाडौं, कार्तिक ३ - राजधानीको मुख्य बजार दसैं किनमेलले भीडभाड भएको छ । उपत्यका बाहिर जाने सवारीमा यात्रुको चाप छ । दिनभर किनमेल गर्दै साँझको सवारीमा उपत्यका छाड्नेहरू बढ्दै गएका छन् । राजधानी विस्तारै सुनसान बन्दै गएको छ ।
राजधानीको नयाँसडक, सुन्धारा, पुतलीसडक, बानेश्वर, पाटनलगायत बजारमा देखिने उपभोक्ताको हात खाली छैन । भृृकुटीमण्डप, खसीबजार भेडा, बोका र च्याङ्ग्राले भरिएको छ । गाउँ जाने पनि राजधानीदेखि खसी/बोका खरिद गरिरहेका छन् । राजधानीसहित मोफसलका सहरहरूमा ठूला व्यापारिक कम्प्लेक्स खुले पनि सामान्य र सस्तो सामान किनबेच हुने क्षेत्रका उपभोक्ताको चहलपहल घटेको छैन ।
किनमेलमा भेटिएकाहरू हतारमा देखिन्छन् । फेसनेबल कपडा र पहिरनका सामानसँगै बजारमा मनोरञ्जनका सामानको खपत पनि बढेको छ । आफन्त र नातेदारलाई उपहार दिन सजिलो र सहज हुने भएकाले मोबाइलको खपत ह्वात्तै बढेको छ । न्युरोड, सुन्धारालगायत आसपासका व्यवसायीका अनुसार दसंै लागेपछि नयाँ डिजाइनको सामानको खोजीमा सबै छन् । 'सबैले नयाँ डिजाइन देखाउनुस् भन्छन्,' भोटाहिटीका व्यापारी सुन्दर खड्काले भने, 'किन्नेभन्दा हेर्ने बढी छन् ।' मध्यमवर्गको रोजाइमा पर्ने पसलहरूमा पनि घुइँचो छ । 'अझै दुई दिन यत्तिकै भीड होला जस्तो छ,' उनले भने, 'अनि विस्तारै चाप घट्छ ।'
शुक्रबारसम्म बाहिरी जिल्ला जाने सर्वसाधारणले किनमेल गरिसक्ने व्यापारीहरूको अनुमान छ । आइतबार फूलपातीदेखि दसैं बिदा सुरु हुन्छ । समाजशास्त्रीहरू भने दसैंमा किनमेलको शैली पनि बदलिंदै गएको बताउँछन् । रेमिटेन्सले धानेको अर्थतन्त्र, विश्वव्यापीकरण लगायतका कारण समाज बदलिएको र किनमेलमा समेत त्यसको प्रभाव परेको उनीहरूको धारणा छ ।
पढाइ, जागिर, व्यापार वा अरू कुनै त्यस्तो कारणले वर्षभरि यहाँ बसेर यतिखेर उनीहरू आफ्नै गाउँमा दुःख/सुख सुनाउन गइरहेका छन् । काठमाडौंमा आएर जति नै प्रगति गरे पनि बाहिरबाट आएकाहरू दसैंमा भने आफ्नै थातथलोमा गएर रम्न रुचाउँछन् । त्यसैले घटस्थापना लागेदेखि नै काठमाडौं छाड्नेहरूको लर्को छ । उडेर र गुडेर जानेहरूको ताँती बसपार्क र विमानस्थल दुवैतिर ठूलो छ । हवाई र सवारी साधनको टिकट पाउन मुस्किल त छँदैछ । सवारी साधनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले दसैंमा मात्र करिब २० लाख मानिस बाहिरिने गरेको बताए । 'राजधानीवासीका साथै दसैंका लागि विदेशबाट आउनेको भीड हुन्छ,' उनले भने । उनका अनुसार यात्रुले औसतमा ७ सय रुपैयाँ टिकटमा खर्च गर्छन् । यस आधारमा टिकटका लागि मात्र करिब ३ अर्ब रुपैयाँको कारोबार हुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख गणेशराज राईका अनुसार थानकोट, जगातीलगायत अन्य नाकाबाट १ हजार ८ सय ८६ सवारी बाहिरिएका छन् । यसमा सरदर ३० राख्दा बुधबारमात्रै करिब ५७ हजार सर्वसाधारण राजधानीबाट बाहिरिएका छन् । उपत्यका नजिकका रुटमा चल्ने माइक्रोबसमा समेत यात्रुको भीड छ । हवाई यात्राको टिकटसमेत पाउन मुस्किल रहेको व्यवसायीले बताएका छन् ।

११ को बढुवा


काठमाडौं, कार्तिक २ - मन्त्रिपरिषद् बैठकले ११ सचिवको बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले ११ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नारायणगोपाल मलगो, आत्माराम पाण्डे, रणबहादुर श्रेष्ठ, उद्धब बास्कोटा, जनार्दन नेपाल, लक्ष्मणकुमार पोखरेल, शान्तबहादुर श्रेष्ठ, शारदाप्रसाद त्रिताल र शान्तराज सुवेदी, सुमनकुमार शर्मा र नरेन्द्र दाहाल पनि सचिवमा बढुवा भएका छन् ।
बैठकले नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । दीपक रौनियार जलविद्युत् विकास तथा लगानी कम्पनीमा महाप्रबन्धकमा नियुक्त भएका छन् । दुवै खुला प्रतिस्पर्धाबाट छानिएका हुन् ।
सचिव हेरफेर पनि
मन्त्रिपरिषद् बैठकले अर्थसचिव कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । अर्थसचिवमा बिहीबार नै बढुवा भएका शान्तराज सुवेदीलाई लगिएको छ ।
कृषि सचिव गणेशराज जोसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ भने कृषिमा जयमुकुन्द खनाललाई ल्याइएको छ । शान्ति मन्त्रालयका सचिव ध्रुवराज शर्मालाई राष्ट्रपति कार्यालयमा लगिएको छ भने युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेलाई शान्ति मन्त्रालय लगिएको छ ।
यसैगरी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा दिनशहरि अधिकारी, वातावरणमा केशव भट्टराई, सहरी विकास तथा गरिवी निवारण मन्त्रालयमा रणबहादुर श्रेष्ठ, भूमिसुधारमा शान्तबहादुर श्रेष्ठ, महालेखामा नरेन्द्र दाहाल, उपराष्ट्रपति कार्यालयमा लक्ष्मण पोखरेल, खेलकुद मन्त्रालयमा हरि नेपाल र प्रधानमन्त्री कार्यालयमा नारायणगोपाल मलेगोको सरुवा तथा पदस्थापना गरिएको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले केही प्रहरी अधिकारीको सरुवा गरेको छ ।