Monday, February 4, 2013
एमाओवादीले सुरु गरेको मौलिक बाटो महत्वपूर्ण र उल्लेखनीय: विदेशी पाहुना
एमाओवादीको सातौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका विदेशी भाइचारा पार्टीका प्रतिनिधिले नेपालको कम्युनिस्ट आन्दोलन मौलिक ढङ्गले अगाडि बढेको प्रतिक्रिया दिएका छन् ।
तस्विर सौजन्य: इकान्तिपुर |
रसियन कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य सिन्द्रो यारोस सोल्पाले विश्वका महान् कम्युनिस्ट नेताहरुजस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक ढङ्गले क्रान्तिलाई अगाडि बढाएको भन्दै खुसी व्यक्त गरे ।
उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलन नितान्त मौलिक ढङ्गले अगाडि बढेको छ । यसलाई सफल पार्नु विश्वभरिको क्रान्तिहरुको दायित्व हो ।’ उनले राजनीतिक क्रान्तिसँगसँगै आर्थिक क्रान्तिलाई अगाडि बढाउने ढङ्गले राजनीतिक अभियानलाई अगाडि बढाए माओवादी सफल हुने विश्वास व्यक्त गरे ।
यस्तै, रेड पार्टी नर्वेका नेता अर्नेस्टोले नेपालको राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतनको एजेन्डालाई अगाडि बढाएको भन्दै एमाओवादीको उच्च प्रशंसा गरे । उनले राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतनको एजेन्डालाई अगाडि बढाउन सके नेपालको तीव्रतर रुपमा आर्थिक विकास पनि हुने र नेपालको समृद्धि पनि हुने भएकाले सो कार्यदिशा अपनाउँछौँ भन्ने एमाओवादीको कार्य दिशा वर्तमान सन्दर्भमा जायज र समयसापेक्ष भएको बताए ।
त्यस्तै, भारतीय कम्युनिस्ट पार्टीका नेता शतिश भट्टचार्यले नेपालको कम्युनिस्ट आन्दोलन अनुकरणका लागि लायक भएको बताउँदै आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको बताए ।
सो अवसरमा युरोपेली मुलुकका प्रतिनिधिहरुले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्लगायतका क्षेत्रमा सहयोग गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले अध्यक्ष प्रचण्डले महाधिवेशनका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समय सान्दर्भिक र यथार्थमा आधारित भएको बताएका थिए । -रासस
Subscribe to:
Posts (Atom)