यस वर्षको दशमीको भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा फुलपाती नसेलाउन्जेलसम्म टीको लगाउने चलन छ।
सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ। नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा। नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात त्याे दक्षिणाकाे रकम पटकपटक गन्दैमा रमाइलाे र अानन्द छ।
आखिर यसै उसै गर्दै यस वर्षको दशैंले पनि बिट मार्न आँटेको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा व्रत बस्ने, फलाहार मात्र गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ।
भागवत पुरानका अनुसार, भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुका लागि यस्ता एकादशीले विशेष महत्व राख्दछन। दशैंको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ। दुर्गा भवानीको अर्चना गरिएको नवरात्रिपछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ।
टाढा टाढा घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई कोजाग्रत पूर्णिमासम्म दशैको टीका र जमरा लगाइदिने चलन नेपालका धेरै ठाँउमा छ। अतः आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ।
यस एकादशीका बारेमा भगवान श्रीकृष्ण र यूधिष्ठीर बीचको संवादमा वर्णन भएकाे पाइन्छ। कृष्णका अनुसार, यस एकादशीमा व्रत बसेर भगवानको उपासना गर्नाले भगवान पद्मनाभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ। विष्णु सहस्त्रनाम अनि श्रीराम र श्रीकृष्णको अश्तोतरा श्रवण या अध्ययन गर्नु अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ। यस्ता दिनमा व्रत बसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदीमा स्नान गरेकाेभन्दा पनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ। दिउँसोको समयमा व्रत बस्ने र भगवानको भजन गर्देै राती पनि जाग्राम बसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णुको चरणकमलमा मोक्ष मिल्ने कुरा बताइन्छ। यो एकादशी विष्णुभक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ।
विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ। तसर्थ यस एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभूत र अलौकिक फल प्राप्त हुने एकादशीका रुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन्।
विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ। पूजापाठ अनि मन्दिर दर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ। भक्तिभावपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि फलाहार मात्र गर्ने चलन छ। आजको एकादशीमा वर्त बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फवबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्तासम्मका पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहिअाएको छ।
आजको दिन सुन, तिल, जौ, अन्न, भूमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने विश्वास गरिन्छ। मानिसहरु सजीव र सामाजिक प्राणी हुन। तसर्थ आफूसँग भएको थोरैतिनो जे भए पनि गक्षअनुसार गरिब अनि दीनदुखीहरूलार्इ दान गर्न धर्मशास्त्रले प्रेरित गरेको छ। दुखीकाे सेव भन्दा ठूलो धर्म संसारमा अरु केही छैन। आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउनसक्ने काम गरेर बितोस, हामी सबैलाई शुभकामना।
हाम्रो पात्रोका लागि सुयोग ढकाल