Showing posts with label Tradition/Culture. Show all posts
Showing posts with label Tradition/Culture. Show all posts

Tuesday, September 21, 2021

आजदेखि पितृपक्ष अर्थात साेह्रश्राद्ध शुरू

ज श्विन कृष्ण प्रतिपदा। जदेखि पितृपक्ष अर्थात साेह्रश्राद्ध शुरू भयाे। आश्विद कृष्ण पक्षमा सूर्य कन्या राशीमा बसेका बेला पितृका लागि पर्व जस्तै हुन्छ भनी धार्मिक ग्रन्थमा वर्णन गरिएकाे छ।

पितृपक्षकाे तिथिमा आफ्ना दिवङ्गत पितृहरूलाई श्रद्धाका साथ अन्नजल अर्पण गरिने हुँदा साेह्र श्राद्धकाे विशेष महत्व रहेकाे छ। 

ठूला चाडपर्व, यज्ञ दि सम्पादन गर्नुभन्दा अघि पितृकाे पूजा गर्ने हाम्राे परम्पराअनुसार वडा दशैं र तिहार जस्ता ठूला चाडपर्वभन्दा अघि पर्ने साेह्र् श्राद्धले हामीलाई पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि पनि गराउँछ भन्ने मान्यता रहिएकाे छ। 

दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भूमिका छ।  पितृलाई भगवान अनि पितृकर्मलाई सनातन संस्कारको केन्द्रविन्दुका रुपमा लिइएको छ। श्राद्ध गर्दा सात पुस्तासम्मलाई पितृ तर्पण दिने चलन त झन पितृकर्मको महत्व तथा आफ्ना बाबु, बाजेलगायतकाे एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो। साेह श्राद्धले वैदिक सनातन संस्कारको उचाइ र महत्वलाई थप स्पष्ट पार्छ।

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर विदाइ गरेपछि बल्ल दशैंको रौनक औपचारिकरूपमा शुरु हुनेगर्दछ। सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यस १६ दिनकाे पवित्र पक्षला पुकारिन्छ। पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म जारी रहन्छ। पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन भन्ने विश्वास गरिन्छ।
श्राद्धको दिन घरमा  विशेष चहलपहल हुन्छ। आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ। विहानैदेखि माैलिक विशेषता बोकेका पारम्परिक नैवेध्य तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ। अनि श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरिने स्थानमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ।

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन। सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ। पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ।

सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ। भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन। पुत्र अनि पुत्री पितृका लागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वतःस्फूर्त सहभागिता र कर्ताकै रुपमा भूमिका निर्वाह गर्न थालिएको छ जुन अत्यन्त सराहनीय कुरा हाे। धर्म अनि संस्कारले छोराछोरी दुबैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुई पटक गरिन्छ। वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध सोह्र श्राद्धको अवधिमा गरिन्छ। पूर्णिमादेखि सोह्रश्राद्ध शुरु भएसंँगै पहिलो तिथी अर्थात प्रतिपदाको तिथीमा मृत्यू भएका पितृहरुको सम्झनामा प्रतिपदा श्राद्ध गरिन्छ। त्यसैगरी अन्य तिथिहरूमा पनि। 

यस वर्षको सोह्र श्राद्धको शुरुवातसंँगै हरेक परीवारमा सुख र शान्ति छाइरहोस, पितृहरुको आशिष सदासर्वदा कायम होस्, अाफ्ना सन्तितले श्रद्धापूर्वक गरेकाे श्राद्धले पितृहरूका लागि स्वर्गको ढोका खुलाेस, पितृहरुको बैकुण्ठ वास होस! तस्विर साैजन्यः गुगल

Sunday, September 19, 2021

वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधनासहित आज काठमाडौँमा परम्परागत पर्व इन्द्रजात्रा मनाइंदै

 वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज काठमाडौँमा परम्परागत पर्व—  इन्द्रजात्रा मनाइंदैछ। नेपालमा लिच्छ्बीकालदेखि चलेको भन्ने विश्वास गरिएको यो पर्व काठमाडौँका अतिरिक्त भक्तपुर, पाटन, धुलिखेल, दोलखा आदि स्थानमा पनि मनाउने गरिन्छ। 

भक्तपुरदेखि दुइ कोस पूर्व काभ्रेको नालामा पर्ने वनबाट तान्त्रिक विधिद्वारा पूजा गरी शुभ साइतमा पर्सेर छोडिएको बोकाद्वारा छोइएको रूख काटी, ताछी तयार पारिएको लिङ्गोलाई एकादशीका दिन ल्याएर पूजा-आजा गरी हनुमानढोका अगाडि राखिने र भोलिपल्ट द्वादशीका दिन विधिपूर्वक बाजागाजाको धूनका बीच लिङ्गो गाड्ने चलन भएकाले यस पर्वलाई इन्द्रधोजोत्थान पनि भनिन्छ।

भाद्र शुक्ल चतुर्दशी तिथि, अर्थात् आजका दिन मुख्यरूपमा मनाइने  इन्द्रजात्रा पर्वमा हनुमानढोका गद्दी बैठकमा श्री ५ महाराजाधिराज सवारी भई जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र भैरबको रथ-यात्रा नजर गर्ने चलन रहेकोमा प्रजातन्त्रको पुनर्स्थपनपछि राष्ट्रपतिद्वारा यस परम्परामलाई निरन्तरता दिइएको छ। अाजै देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा किसी द्योको नाच पनि निकाल्ने चलन छ। 

इन्द्रजात्रा अवधिभरि द्शावतार नृत्य, देवीनृत्य, भद्रकाली नृत्य इत्यादि गर्ने गरिन्छ। भैरबको स्वरूप तथा भैरबका गणहरु सहितको भक्कु नाच निकाल्ने परम्परा पनि  इन्द्रजात्राको अर्को विशेषता हो।  

 इन्द्रजात्राका उपलक्ष्यमा नेपाल सरकारले आज उपत्यकाभरि सार्वजनिक विदा दिनेगरेको छ। 

तस्विर सौजन्य: गुगल 


Monday, August 23, 2021

गाईजात्राको ऐतहासिक पृष्ठभूमि: प्रताप मल्लको पत्नी प्रेम

 मल्ल राजा प्रताप मल्लले पुत्र-शोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिनका लागि यस्तो दुखद अवस्थाको सामना सबैले गर्नुपर्छ भन्ने देखाउन (यस वर्ष) मानिस मरेका घर-घरबाट  गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राज-दरबारको प्राङ्गणमा जम्मा गराएर रानीलाई देखाए। 

त्यतिले पनि रानीको मन शान्त हुन नसक्दा शोक-हरणका लागि भनेर हँसाउने कार्यक्रमको आयोजनाका लागि राजाज्ञ जारी गरे। र त्यस बेलादेखि  गाईजात्रा मनाउने चलन चलेको विश्वास गरिन्छ। 

यही परम्पराबाट शुरु भएको  गाईजात्रा पर्वमा हिजो-आज सामाजिक कुरीति एवम प्रशासनिक कमजोरीलाई लक्षित गरी व्यंग्यात्मक शैलीमा संस्थाव्यक्ति र सरकारको आलोचना गर्ने हास्यव्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने परम्पराको विकास भएको छ।  

फाेटाे सौजन्य: गुगल

हिन्दुहरुको परम्परागत साँस्कृतिक पर्व गाईजात्रा हर्षोल्लासका साथ मनाइंदै

 आज हिन्दुहरुको परम्परागत साँस्कृतिक पर्व गाईजात्रा। यो पर्व आज काठमाडौँ उपत्यकालगायत अधिराज्यका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइँदैछ। आजदेखि शुरु भई अष्टमीका दिनसम्म ८ दिन मनाइने यस उत्सवमा एक वर्षभित्र दिवंगत हुनपुगेका आफ्ना परिवारका सदस्यहरुको सम्झनामा प्रतीकात्मक अभिव्यक्तिस्वरूप मानिसलाई गाईका रूपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराइञ्छ। 

यसरी नगर परिक्रमा गर्दा यसै वर्ष मृत्यु भएका व्यक्तिको परिवारका सदस्य तथा श्रद्धालुहरु गाईको पुच्छर समाई वैतरणी नदी पार गरिन्छ भन्ने धार्मिक मान्यताका आधारमा गाईका नाममा फलफूल, दही, च्युरा, आदि दान गर्नेगर्दछन। गाईजात्रामा गाई र जोगीको भेषमा सिंगारिएका मानिसहरुले लाखे नाच प्रदर्शन गर्दछन। 

आजै मृतकका परिवारले मृतकको गुणगान र कीर्तिले भरिपूर्ण जीवन-चरित्रमा आधारित गीति-रचना रामायण गाएर नगर परिक्रमा गर्ने चलन छ। 

यस जात्रालाई काठमाडौँ उपत्यकाका साथै बनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धनकुटा, धरान, बिराटनगर, बिरगंज, हेटौंडा, पोखरा, पाल्पा, डोटी, सुर्खेत आदि स्थानहरुमा पनि साँस्कृतिक पर्वका रूपमा मनाइने चलन छ।     

फाेटाे सौजन्य: गुगल

 


 

Friday, August 13, 2021

नाग पञ्चमी पर्व, हिन्दु परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाअाजासिहत अधिराज्यभरि मनाइँदै

अास्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।।

एह्येहि मनसे देवि ! नागमातर्नमोस्तु ते।। 

 

 

ाज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी पर्व, हिन्दु परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाअाजासिहत अधिराज्यभरि मनाइँदै छ।

 

वराहपुराणमा उल्लेख भएअनुसार, नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात अाजका दिन नाग पूजाका लागि प्रशिद्ध रहेको छ। राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ भनेर विद्वान वन्धु बद्री लम्सालले चुाउनुभएकाे छ। राेपाइँ गर्नका लागि अावश्यक पानी पारेर नागहरूले सहयाेग गरेकाले उनिहरूप्रति कृतज्ञता प्रकट गर्नेहेतु श्रावण शुक्ल पञ्चमीका दिन नागकाे पूजा गर्ने चलन चलिअाएकाे विश्वास पनि जनमानसमा रहिअाएकाे छ।

 

यस दिन नागका अष्टकुल अर्थात अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी दूध र लावाको नैवेद्य चढार्इ घरका्े मूल ढोकामाथि टाँस्नाले त्यस्तो घरमा चट्याङ पर्दैन र अगो र सर्पको डर हुँदैन भन्ने धार्मिक विश्वास रहिअाएको छ।

 

ब्रह्मवैवर्त पुराणको कथनअनुसार, भगवान श्रीकृष्णको पदचिन्हलार्इ कालीय नागले अफ्नो शिरमा धारण गर्ने साैभाग्य पाएकाले उसका सन्तान दरसन्तानलार्इ मार्नु हुँदैन भन्ने विश्वास पनि रहेको पाइन्छ।

 

 

Monday, February 15, 2021

सरस्वती माता विद्याकी देवीको भाेलि पुजाअाजा गरिदै

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम् ।।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।

विद्याकी देवी मानिने सरस्वती माता कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हारको जस्तो श्वेत वर्णको देखिने श्वेत वस्त्र धारण गरेकी छन र हातमा वीणा, दण्ड लिएकी छन , जाे श्वेत कमलमा आशीन छन। तीनै देवी सरस्वती माता हुन्।

वसन्त शुरु भएको पाँचौ दिन अर्थात पञ्चमीको दिनलाई वसन्त पञ्चमी भनिन्छ। र माघ शुक्ल पञ्चमीदेखि संगीत, साहित्य, कलाकाे अावाहन गर्न शुरु हुन्छ। 

वसन्त पञ्चमी शुभ र मंगल हुन्छ किनकि वसन्त विद्या, साहित्य, कलाकाे सर्वोत्तम प्राण केन्द्र हो।

वसन्तले दुःखलाई धकेलेर एउटा गहन प्राकृतिक सुख प्रदान गर्दछ।  जीवन र कलालाई जोड्ने प्रतीक सरस्वतीको श्वेत वर्ण मोक्ष र सात्विकताको प्रतीक हाे।

माता सरस्वतीकाे एउटा हातमा वीणा र अर्को हातमा पुस्तक हुन्छ। हातकाे वीणा ज्ञान, कला, विद्द्याको प्रतिक हाे। पुस्तक त ज्ञानकाे भण्डार भइहाल्याे नै। 

यस दिनमा हरेक शैक्षिक र कला क्षेत्रमा हुनेहरु र विद्द्यार्थीहरुले सरस्वतीको प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन गर्दै हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको बन्दना गाउदै पुञ्ज अर्चना गर्ने गर्छन।

सेतो हाँसलाई आफ्नो वाहन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको विस्वास गरिन्छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने विश्वास गरिएको छ।

उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको मानिन्छ र हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको जनविस्वास छ।

विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्ने र सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो, शुभ्र गीत कविता प्रस्तुत गर्ने परम्परा छ।

सरस्वती माता बन्दना

सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहनसं युक्ता विद्यादानं कराेतुमे ॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।

तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥
पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी ॥
नवमं बुद्धिदात्री च, दशमं वरदायिनी ।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी ॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती ॥

Wednesday, April 1, 2020

चैते दशैं - असत्यमाथि सत्यकाे विजयकाे प्रतिक



यस वर्षको चैतेदशैंसम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको रौनक चढेको छ।

दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व। यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो। पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । 

वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ ।

चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन्, पर्यटकिय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचिन समय देखिनै काठमाण्डौ उपत्यकाका यी देवालयहरुमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ ।

आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् ।

मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।

छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।

असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भईरहोस् । जय होस् !!!
हाम्राे पात्राेबाट

Wednesday, January 15, 2020

अाज माघे संक्रान्ति पर्व अधिराज्यभरि दान, स्नान अादि विभिन्न धार्मिक कार्यहरू गरी मनाइदैछ। अाजदेखि सूर्य धनू राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यस पर्वलार्इ मकर संक्रान्ति पनि भनिन्छ।

साैर्यमानकाे गणनाअनुसार अाजदेखि ६ महिनासम्म सूर्य उत्तरायण रहने र घार्मिक मान्यता अनुसार सूर्य उत्तरायण रहेका बेला यज्ञ दान अादि धार्मिक कार्यका लागि शूभ मानिने भएकाले यसै बेला शूभ कर्महरू सम्पन्न गर्ने गरिन्छ।

अाज विहानै काग बास्नुभन्दा अगावै उठेर स्नान गरी तीलकाे डाँठकाे अागाे ताप्नाले त्यसबाट निस्कने धुवाँका साथसाथै अात्मा पवित्र हुन्छ भन्ने मान्यता रहिअाएकाे छ। अाजका दिन घरमा पाकेकाे पिंडालु, तरूल, कद्दु, ध्यू, मीठाइ अादि कागकाे भाग लगाएर मात्र अाफूले सेवन गर्नुपर्छ भन्ने मान्यता छ। अाज खाइने यी कन्दमूलहरूले शरीरलार्इ उर्जा दिने र त्यस उर्जाकाे पाेष छ महिनासम्म रहने जनविश्वास छ।

यस उपलक्ष्यमा अाज भक्तजनहरू विहानैदेखि पवित्र नदी, त्रिवेणी, जलाशय, कुण्ड अादि भएकाे स्थानमा पुगी मकर स्नान गरिरहेका छन।

ज्यो.पण्डित नारायण प्रसाद दुलाल हाम्राे पात्राेमा लेख्नुहुन्छ, यसपाली मकर संक्रान्तिमा शोभन योगमा सूर्यले राशि परिवर्तन गर्दैछ। यस्तो समयमा जप, तप, दान, पुण्य, श्राद्ध, तर्पण, संस्कृती र खुशी साटासाटको पर्व माघे संक्रान्ति झनै विशेष हुनजान्छ। पूर्व फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिको संयोग परेकाले यसको महत्त्व झनै बढी भएको हो। यस्तो शुभ संयोगमा गरिएको दान पुण्य र अनुष्ठानले चाँडै फलदिने हुन्छ। माघ कृष्ण पंचमी, बुधवार तदनुसार १५ जनवरीको दिन माघे संक्रान्तिमा यस्तो विशेष संयोग बनेको छ।

सनातन धर्ममा मकर संक्रान्तिलाई मोक्षको मार्ग भनिएको छ। यसै तिथिमा भीष्म पितामहले मोक्ष प्राप्त गर्नु भएको थियो। यसको साथै खरमास अर्थात् धनुर्मास समाप्त भए संगै सूर्य दक्षिणायणबाट उत्तरायण हुन्छ र सबै प्रकारको शुभकार्यहरू सुरु हुनेहुन्छ। यसै दिनबाट तीर्थराज प्रयाग, काशी आदि पवित्र तिर्थस्थलमा आजकै दिनबाट एक महिना सम्मको मकर स्नान प्रारम्भ हुन्छ । यो पवित्र दिनलाई सुख र समृद्धिको दिन सहजै मान्न सकिन्छ। यस दिन गंगाआदि पवित्र तिर्थस्थलको स्नान गर्नाले पापको क्षय भई अक्षय पुण्य मिल्ने र अन्त्यमा मोक्ष प्राप्ति हुने भएकाले सनातनिहरू यस्तो पर्व र माहा संयोगको समयमा गंगा आदि पवित्र तिर्थस्थलमा स्नानको साथै दान गर्ने गर्दछन्।

मकर संक्रान्तिको दिन बुधवार पूर्वा फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिका मनाउँदै छौं। यस समयमा सूर्य उत्तरायण हुनुका साथै सूर्यको प्रभावले मनुष्यहरूको चेतनता, कार्य शक्ति, उर्जा र कार्यक्षमतामा वृद्धि हुन थाल्दछ। भगवान् सूर्यनारायण शनिदेवको पिता हुनुहुन्छ। सूर्य र शनि दुवै ग्रहहरूमा पराक्रमी ग्रह हुन्। जब यस्तो अवस्थामा सूर्यदेव मकर राशि मा आएको बेला शनिको प्रिय वस्तुहरूको दानगर्नाले सूर्य र शनिले आफ्नो भक्तलाई सदैव आफ्नो कृपा द्वारा शुभ फल प्रदान गर्नु हुन्छ।

शास्त्र अनुसार दक्षिणायणलाई देवताहरूको रात्रि अर्थात् नकारात्मकताको प्रतीक र उत्तरायणलाई देवताहरूको दिन अर्थात् सकारात्मकताको प्रतीक मानिएको हुनाले यसदिन जप, तप, दान, स्नान, श्राद्ध, तर्पण आदि धार्मिक क्रियाकलापको लागि विशेष महत्त्व रहन्छ। यस्तो शुभ संयोगमा गरेको पुण्य सयौं गुणा बढी पुनस् प्राप्त हुन्छ।

माघे मासे महादेवस् यो दास्यति घृतकम्बलम् ।
स भुक्त्वा सकलं भोगं अन्ते मोक्षं च प्राप्यति ॥
यसै कारणले धार्मिक दृष्टिले मकर संक्रान्तिको दिन तिलद्वारा निर्मित परिकार हरूको साथै घ्यू, कम्बल, ऊन, विद्युतीय उपकरणआदि श्रद्धापूर्वक दान गर्नाले सूर्यदेव र शनिदेवको विशेष कृपा द्वारा हामीलाई प्राप्तहुने र हाम्रो जन्म कुण्डलीमा सूर्यको स्थिति बलियो हुने ज्योतिषीय मान्यतापनि रहेको छ। यस्तो शुभ संयोगमा सूर्यदेव र शनिदेवलाई प्रसन्न गर्न सबैभन्दा उपयुक्त मकर संक्रान्ति नै भएकाले यो दिन झनै विशेष रहन्छ ।।

Tuesday, October 29, 2019

आज तिहारको अन्तिम दिन भाइटीका: दिदी–बहिनीहरूद्वारा दाजु–भाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै

तिहारको अन्तिम दिन आज अधिराज्यभरि परम्पराअनुसार दिदीबहिनीहरूद्वारा  दाजुभाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै छ। यसपालि विहान साढे छ बजेसम्म प्रतिपदा र त्यसपछि व्दीतीया तिथि शुरू हुन्छ। अाज भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटजाँदा जुरेको कुरा नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ। 

तिहारको अन्तिम दिन आज दिदीबिहनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाएर अष्टचिरञ्जीवीकासाथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर नओइलाउने मखमली, सयपत्री र दूबाको माला लगाइदिएर चिरायुको कामना गर्नेगर्दछन। 
पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजाका साथै टीका लगाई दिर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबिहनीले भाइटीका लगाउने परम्परा चल्दैआएको हो। 
टीकामा साइतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाइलाई 'गुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने चलन छ। दिदीबहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइहरूले पनि आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनिहरूको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको काना गर्दछन। 
दिदीबहिनी नहुने दाजुभाइहरूले आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेवको मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। आज टीका लगाएर खानपान गरिसकेपछि घरघरमा गई श्रीसम्पत्तिको कामना गर्दै देउसी खेल्ने चलन छ। 

  तस्विर सौजन्य: गुगल 

Sunday, October 27, 2019

आज दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिंदै


आज अपरान्ह १२ बजेर ४० मिनेट ४४ सेकेण्डपछि कार्तिक शुल्क औसी शुरू हुन्छ। विहान कुकुरकाे पूजा गरिसकेपछि अपरान्हदेखि गाई तिहार अर्थात अर्थात लक्ष्मी पूजा शुरू हुन्छ। आज फूल-अक्षताले गाईको पूजा गरी टीका लगाएर मीठा-मीठा खानेकुरा खुवाएपछि दिनभरि व्रत बसी बेलुकि दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिन्छ। 

आज घर घरमा झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगार्इ आँगन, पिंढी, कोठाचोटा र छिंडी गोबरले लिपेर सफा र चिल्लो पारिन्छ। चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिन्ह बनाएर आँगनदेखि भण्डार वा ढुकुटीसम्म पुर्याइन्छ, र बेलुकि यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन भन्ने धार्मिक विश्वासका साथ देवी महालक्ष्र्मीको मूर्ति वा चित्र स्थापना गरी सुन, चाँदी, गरगहना, रूपियाँ पैसा आदिलार्इ उनकै प्रतीक मानेर पूजा गरिन्छ।   

आजै विराट बहुमुखी प्रतिभाका धनि साहित्यकार महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११०औ जन्मजयन्ती हाे। महाकवी लक्ष्मीप्रसाद देवकोटा (वि.स. १९६६ २०१६ साल) को जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइन्छ। नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका मुनामदन, शाकुन्तल, आदि साथै काव्य-कृति प्रकाशित छन जसले नेपाली जनमानसमा अमिट स्थान बनाएका छन।
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन" 
भन्नेजस्ता महाकविका उत्कृष्ट साेचले नेपाली समाजलार्इ समानताकाे दिशातिर उन्मुख हुन प्रेरित गरेका छन।  
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु।’ भन्नुभएकाे थियाे। साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीनजना कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एकजना देवकोटा हुन् भन्नुभएकाे थियाे। तीनै महान साहित्यकार देवकाेटाकाे अाज  जन्मदिन परेकाे छ जसकाे हामीले सम्मान मात्र गरेर पुग्दैन।  तस्विर सौजन्य: गुगल 

Saturday, October 26, 2019

तिहार पर्वअन्तर्गत यमपञ्चकको दोश्रो दिन अाज अधिराज्यभरि कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै

आज तिहार पर्वअन्तर्गत यमपञ्चकको दोश्रो दिनकार्तिक कृष्ण चतुर्दशी, अधिराज्यभरि कुकुरको पूजा गरी कुकुरतिहार मनाइँदै छ।
इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रूपमा समेत परिचित कुकुरलाई पूजा गरी फूलको माला र टीका लगाइदिनुका साथै मीठा-मीठा खानेकुरा खान दिइन्छ। कार्तिकमासमहात्म्यमा कालो र रंगीविरंगी दुइथरि कुकुरमृत्युदेवका छोरा र यमराजका सेवकलाई दीपदान गरेमा यमराज खुशी हुने कुरा उल्लेख गरिएको छ।
यमपञ्चकभरि भगवान विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभरि यमराजका साथै यमदूत तथा यमराजका सहायक अनुचरहरुले समेत पूजा र सम्मान पाउने धार्मिक एवं पौराणिक मान्यताअनुसार आज यमराजको द्वारपाल मानिएको कुकुरलाइ पूजा गर्ने र मीठा खानेकुरा खुवाउने गरिन्छ। 
कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। पौराणिक मान्यताअनुसार, मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज विहान तारा नअस्ताउँदै जलमा दीप प्रवाह गर्ने कार्य सम्पन्न गरियो। 
यमपञ्चकमा पहिलो दिन काग, दोश्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा गर्ने र पाँचौं दिन भाइटीका लगाउने चलन छ।
ऋगवेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिअाएको छ ।

महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

अाज अपरान्ह १२ बजेर ४० मिनेट र ४४ सेकेण्डसम्म कुकुर तिहार र त्यसपछि गार्इ तिहार शुरू हुने कुरा पञ्चाङ्गमा उल्लेख छ। 


अाजदेखि यमपन्चक शुरु: कागलाई मिठा मिठा खानेकुरा दिएर पूजा गरिैदै

हिन्दुहरूको दोश्रो ठूलो चाड तिहार अाजदेखि शुरू भयो। पाँच दिनसम्म मनाइने भएकाले यम पञ्चक पनि भनिने यस पर्वअन्तगर्गतको पहिलो दिन अाज काग तिहार हो। धार्मिक मान्यताअनुसार, यमराजको सन्देशवाहकका रूपमा मानिएको कागलाई यमदूतकै रूपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ। 

तिहार पर्वलाई वैदिक कालमा भगवान विष्णुले खुशी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य भोग गर्नपाउने वरदान दिएको र यी पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ। यसो गरेमा धनकी अधिठात्री देवी महालक्ष्मी खुशी भई सबैका घर-घरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुशी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ।  
पौराणिक कथाअनुसार, बलि राजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने  हुँदा आफ्नी बहिनी यमुनकहाँ गई  स्वागत सत्कार पाई  पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषणहरू दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु–भाई  र दिदी–बहिनीले आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजु–भाइको आयु, कीर्ती, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरूप हिन्दुहरूले यमपञ्चकलाई  विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसङ्ग  मनाउने गर्दछन।
शास्त्रअनुसार, अाजै आयुर्वेदका आचार्य धन्वन्तरिको प्रादुर्भाव भएको भनी वैद्यकविराजहरूद्वारा धन्वन्तरिको जन्म–जयन्ती पनि  मनाइन्छ। 
यस उपलक्ष्यमा नयाँ भाँडा किन्ने र त्यसैमा नैवेद्य बनाई  लक्ष्मीलाई  अर्पण गर्ने चलन छ।