Wednesday, January 16, 2013

Sunai Ko Darbar - Dizraj Poudel

लण्डनको एउटा निर्माणाधीन भवनको क्रेनमा हेलिकप्टर ठोक्किंदा दुइजनाको मृत्यु, बाह्रजना घाइते


बेलायतको राजधानी लण्डनको एउटा निर्माणाधीन भवनको क्रेनमा एउटा हेलिकप्टर ठोक्किंदा दुइजना मारिनुका साथै अन्य बाह्रजना घाइते भएका छन। 
त्यो हेलिकप्टर वान सेन्ट जर्ज व्हर्फ़को माथिल्लो तलामा जडान गरिएको क्रेनमा ठोक्किएको जानकारी त्यहाँको प्रहरीले दिएको छ। 
सो दुर्घटनामा मारिनेमा हेलिकप्टरका चालक पिट बर्न्स र जमीनमा रहेका एकजना रहेको बिबिसीले जनाएको छ। तस्विर सौजन्य: बिबिसी 

सूचना तथा सञ्चार मन्त्रालयद्वारा रोकिएका टेलिभिजन च्यानलहरुको प्रसारण तत्काल सुचारु गर्न केबुल प्रदायकहरुलाई निर्देशन


सूचना तथा सञ्चार मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी हाल रोकिएका टेलिभिजन च्यानलहरुको प्रसारण तत्काल सुचारु गर्न केबुल प्रदायकहरुलाई निर्देशन दिएको छ। केबुल प्रदायकहरुले राष्ट्रिय प्रसारण नियमावलीको प्रतिकुल हुने गरी केही टेलिभिजनको प्रसारण रोकेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल प्रसारण सुचारु नगरे कडा कारवाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ। केबुल सञ्चालकहरुको एउटा समूहले गत आइतबार बेलुकिदेखि इमेज च्यानल र मंगलबारदेखि नेपाल टेलिभिजन र एनटिभी प्लसको प्रसारण रोकेको छ।
यसअघि सञ्चार सम्वद्ध विभिन्न संघ-संस्थाहरु- टेलिभिजन ब्रोडकास्टर्स नेपाल- टिबीएन, नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान र सामुदायिक रेडियो प्रसारक संघले केही केबल प्रदायकहरुले इमेज, नेपाल टीभी र एनटिभी प्लसको प्रसारण रोकेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए। 
यस सन्दर्भमा सूचना तथा संचार मन्त्रालयका प्रवक्ता नारायण प्रसाद संजेलद्वारा जारी विज्ञप्तीमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यले राष्ट्रिय प्रसारणको छैटौं नियमावली संशोधन लागू गर्ने प्रतिवद्धता समेत जनाइएको छ। संशोधित नियमावलीबाट प्रत्येक केबुलका ग्राहक संख्या, त्यसबाट प्राप्त हुने सेवाको पारदर्शीता र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्नेमा मन्त्रालय विश्वस्त रहेको भन्दै त्यस विपरित काम नगर्न सचेत गराइएको छ।
नेपाल केबुल टेलिभिजन महासंघले राष्ट्रिय प्रसारण निमावली छैटौं संशोधन जारी गरेको विरोधमा च्यानलहरुको प्रसारण रोकेको जनाएको छ।
मेरो विचार: व्यक्तिगत हितमा आघात पर्ने देखिनासाथ प्रतिरोध गरिहाल्ने प्रजातान्त्रिक अधिकारको उपभोग गर्नु राम्रो कुरा हो, तर आफ्नो कर्तव्य पनि हुन्छ जसलाई कदापि बिर्सनुहुँदैन। यसका साथै, आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकारको हनन भयो कि भन्ने बारेमा पनि सोच्नु जरुरी हुन्छ भन्ने कुरा सधै मनन गर्नुपर्छ। 

राष्ट्रियता र जनताको मुक्तिका लागि आफू मृत्युवरण गर्नसमेत तयार: नेकपा-माओवादीका नव-निर्वाचित अध्यक्ष मोहन वैद्य

नेकपा-माओवादीका नव-निर्वाचित अध्यक्ष मोहन वैद्यले राष्ट्रियता र जनताको मुक्तिका लागि आफू मृत्युवरण गर्नसमेत तयार रहेको बताउनुभएको छ। मंगलबार सम्पन्न पार्टीको सातौं महाधिवेशन समापन कार्यक्रममा बोल्दै उहाँले 'म मर्छु, तर राष्ट्र र जनतालाई धोका दिन्नँ' भन्नुभयो। पार्टीको क्रान्तिकारी झन्डाले अहिले निहुरिनुपरिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आफूले त्यसलाई कुनै पनि हालतमा झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो। आफ्ना अधक्ष वैद्यले यस्तो प्रतिबद्धता व्यक्त गरिरहँदा बन्द सत्रको कक्षमा रहेका कार्यकर्ताहरुले ताली पिटेर उहाँप्रति सहमति जनाएका थिए। 

आन्तरिक र बाह्य परिस्थिति आफू र आफ्नो दल विरुद्ध रहेको छ भन्दै वैद्यले आइपर्ने चुनौतीको  सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो। नव-संशोधनवादीहरूले गहिरोसँग जरा गाड्दैआएको विचार व्यक्त गर्दै अध्यक्ष वैद्यले आफ्नो काँधमा तीनको जरो उखेल्ने गहन जिम्मेवारी आएको कुरा बताउनुभयो। 

महाधिवेशनले अध्यक्ष वैद्यको नेतृत्वमा ५ पदाधिकारी र १३ पोलिटब्युरो सदस्य चयन गरेको छ । नव-निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रविक्रम चन्द हुनुहुन्छ। पोलिटब्युरो सदस्यहरुमा हरिभक्त कँडेल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, इन्द्रमोहन सिग्देल, नारायण शर्मा, धर्मेन्द्र बास्तोला र खड्कबहादुर विश्वकर्मा रहनुभएको छ । महाधिवेशनले छानेको एकाउन्न सदसीय नयाँ केन्द्रीय कमिटीमा त्रिचालिसजना पुराना अनुहारलाई यथावत राखी नयाँ आठजनालाई थप्ने निर्णय गरिएको छ। 
दलको प्रवक्तामा पम्फा भुसाललाई नै तोकिएको छ। अनि पाँचजना पदाधिकारीबाट नै हाललाई स्थायी कमिटी बनाउने निर्णय पनि पार्टीले गरेको छ। पदाधिकारी चयनमा विवाद नदेखिए पनि केन्द्रीय सदस्य छनोटमा विवाद भएपछि महाधिवेशन दुई दिन लम्बिएको थियो। 
'जनयुद्धको जगमा जनविद्रोह' को कार्यदिशा पारित गर्दै नेकपा-माओवादीको महाधिवेशन मंगलबार सकिएको हो। 

सिरियाको उत्तरी शहर अलेपोमा दुइवटा विष्फोटन: असीजना भन्दा बढी मानिसको मृत्यु

सिरियाको उत्तरी शहर अलेपोमा गराइएका दुइवटा विष्फोटनमा परी असीजना भन्दा बढी मानिस मारिएका छन। 
ती विष्फोटन परीक्षाको पहिलो दिन अलेपो विश्वविद्यालयको आवास कक्ष र ललितकला विभागको बीचको क्षेत्रमा गराइएको बताइएको छ। 

अलेपो विश्वविध्यालयका गभर्नरले मारिनेहरुको संख्या बयासी रहेको जनाएका छन् भने मानब अधिकारका लागि सिरियाली बेधशालाले त्यो संख्या त्रियासी भएको दाबी गरेको छ। 

सिरियाको सरकारी टेलिभिजनले सो दुर्घटना आतंकबादीहरुले प्रहार गरेको रकेटका कारण भएको जनाएको छ, तर मानव अधिकारवादीहरुले भने ती रकेट लडाकु विमानहरुले प्रहार गरेको दाबी गरेका छन। 
 तस्विर सौजन्य: बिबिसी