नेकपा-माओवादीका नव-निर्वाचित अध्यक्ष मोहन वैद्यले राष्ट्रियता र जनताको मुक्तिका लागि आफू मृत्युवरण गर्नसमेत तयार रहेको बताउनुभएको छ। मंगलबार सम्पन्न पार्टीको सातौं महाधिवेशन समापन कार्यक्रममा बोल्दै उहाँले 'म मर्छु, तर राष्ट्र र जनतालाई धोका दिन्नँ' भन्नुभयो। पार्टीको क्रान्तिकारी झन्डाले अहिले निहुरिनुपरिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आफूले त्यसलाई कुनै पनि हालतमा झुक्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो। आफ्ना अधक्ष वैद्यले यस्तो प्रतिबद्धता व्यक्त गरिरहँदा बन्द सत्रको कक्षमा रहेका कार्यकर्ताहरुले ताली पिटेर उहाँप्रति सहमति जनाएका थिए।
आन्तरिक र बाह्य परिस्थिति आफू र आफ्नो दल विरुद्ध रहेको छ भन्दै वैद्यले आइपर्ने चुनौतीको सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो। नव-संशोधनवादीहरूले गहिरोसँग जरा गाड्दैआएको विचार व्यक्त गर्दै अध्यक्ष वैद्यले आफ्नो काँधमा तीनको जरो उखेल्ने गहन जिम्मेवारी आएको कुरा बताउनुभयो।
महाधिवेशनले अध्यक्ष वैद्यको नेतृत्वमा ५ पदाधिकारी र १३ पोलिटब्युरो सदस्य चयन गरेको छ । नव-निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रविक्रम चन्द हुनुहुन्छ। पोलिटब्युरो सदस्यहरुमा हरिभक्त कँडेल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, इन्द्रमोहन सिग्देल, नारायण शर्मा, धर्मेन्द्र बास्तोला र खड्कबहादुर विश्वकर्मा रहनुभएको छ । महाधिवेशनले छानेको एकाउन्न सदसीय नयाँ केन्द्रीय कमिटीमा त्रिचालिसजना पुराना अनुहारलाई यथावत राखी नयाँ आठजनालाई थप्ने निर्णय गरिएको छ।
दलको प्रवक्तामा पम्फा भुसाललाई नै तोकिएको छ। अनि पाँचजना पदाधिकारीबाट नै हाललाई स्थायी कमिटी बनाउने निर्णय पनि पार्टीले गरेको छ। पदाधिकारी चयनमा विवाद नदेखिए पनि केन्द्रीय सदस्य छनोटमा विवाद भएपछि महाधिवेशन दुई दिन लम्बिएको थियो।
'जनयुद्धको जगमा जनविद्रोह' को कार्यदिशा पारित गर्दै नेकपा-माओवादीको महाधिवेशन मंगलबार सकिएको हो।
No comments:
Post a Comment