Tuesday, November 6, 2012

उड्डयन सुरक्षामा युरोपको चासो


काठमाडौ, कार्तिक २१ - नेपालमा लगातार हवाई दुर्घटना भइरहेपछि युरोपेली उड्डयन सुरक्षा निकाय (एसा) ले नेपाली उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै गम्भीर चासो देखाएको छ । केही समयअघि त्यस संस्थाले दिएको सुझाव कार्यान्वयन नभएको, र संभवत यसै कारण दुर्घटना कम नभएको भन्दै गत शुक्रबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको सम्बद्ध स्रोतले जानकारी दियो । पत्र नेपाल सरकारका मुख्य सचिवलाई समेत पठाइएको बताइएको छ । 
हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सीता एयरको डोर्नियर जहाज दुर्घटना हुँदा धेरै युरोपेली नागरिकको ज्यान गुमेको थियो । त्यसमाथि डोर्नियर जहाज पनि युरोपकै जर्मनीमा निर्मित हो । नेपालमा दुई वर्षयता भएका हवाइ दुर्घटनामा ९६ जनाले ज्यान गुमाइसकेका छन् जसका लागि जिम्मेवारमध्ये तीनवटा डोर्नियर विमान पनि छन । 
आफ्ना नागरिक असुरक्षित भएको र युरोपेली जहाज वदनाम भएकोमा पनि उनीहरू बढी गम्भीर बनेको हुनसक्ने सम्बद्ध अधिकारी बताउँछन् । उड्डयन सुरक्षा प्रणालीमा भएको कमजोरी पहिचान गरेर सहयोग गर्न ९ महिनाअघि एसाको एउटा प्राविधिक जाँच टोली नेपाल आएर सुझावसमेत दिएको थियो । सुधारका उपाय अवलम्बन नगरेकोमा विश्वस्त भए युरोपेली युनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ईकाओ) ले विमान कम्पनीहरूलाई कालो सूचीमा राख्नसक्छन् । त्यसबाहेक नेपाली आकाशको सुरक्षामा पनि प्रश्न गर्न उठाउन सक्छन् । त्यसले नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम भई पर्यटन उद्योगलाई ठूलो घाटा पर्नसक्ने विज्ञहरू बताउँछन् । विगतमा बंगलादेश, म्यानमार, इन्डोनेसियालगायतका मुलुक यस्तो सूचीमा परिसकेका छन् । सुधार गरेर विश्वास आर्जन गर्न सके समस्या नपर्ने बुझाइ पनि उनीहरूको छ ।
'उनीहरूको पत्र गम्भीर प्रकारकै छ,' नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, 'तर हामी पत्रभन्दा आफ्नै हिसाबले हवाई सुरक्षा प्रवर्द्धनमा जुटेका छौं ।' यसैको फलस्वरूप प्राधिकरणले सरोकारवालाहरूसँग लगातार बैठक गरिरहेको छ । सोमबार विमान कम्पनी र वायु सेवा सञ्चालकहरूसँग बैठक भएको थियो । बैठकमा हवाई सुरक्षा सुधारका लागि दुवैतर्फबाट गर्नसक्ने योगदानबारे छलफल भएको एक सहभागीले बताए । 'प्राधिकरणका महानिर्देशकलगायत पदाधिकारी निकै गम्भीर थिए, उनले भने । कमजोरी पाइए, कम्पनीहरूको उडान सञ्चालन प्रमाणपत्र अस्थायी रूपमा निलम्बन गर्नेसमेतका कारबाही हुने चेतावनी अधिकारीहरूले दिएका थिए । विमान सञ्चालक र राजनीतिक दबाबमा प्राधिकरणलाई काम गर्न अप्ठ्यारो हुने गरेको छ । 'तर हामी सुरक्षामा सम्झौता गर्दैनौं,' महानिर्देशक त्रिरत्न मानन्धरलाई उद्धृत गर्दै अर्का सहभागीले भने । 


आयल निगमको भ्रष्टाचारबारे छानविन हुँदै


नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको भ्रष्टाचार र अनियमिताका वारेमा वुझ्नएको टोलीले आइतबारदेखि छानवीन कार्य शुरु गरेको छ ।  निगमको आन्तरिक नियन्त्रण विभागका निर्देशक सागर सत्यालको संयोजकत्वमा गठीत चार सदसीय छानविन टोलीमा निगमका उपनिर्देशक सरद पौडेल, प्रवन्धक चण्डी कार्की र आपुर्ती मन्त्रालयका शाखा अधिकृत श्रीराम भट्ट रहेका छन् । समितिले सरोकारवाला र अन्य विभिन्न पक्षसङ्ग  छलफलका माद्यमबाट सूचना सङ्कलन गरी प्रतिवेदन तयार पार्ने छ । 'धेरै कुरा हेर्नुपर्ने भएकाले अझै केही दिन लाग्नसक्छ,' टोलीका सदस्य श्रीराम भट्टले भने, 'हामीलाई सात दिनको समय भएकाले विस्तृत विवरणसहितको सत्य-तथ्य वाहिर ल्याउँछौ ।'
निगमका क्षेत्रीय प्रवन्धक दिपक वरालसहितको मिलेमतोमा भाडाका ट्याङकरहरुसंग कमिसन लिनेगरेको, पुर्व क्षेत्रका पेट्रोल पम्पहरुले प्रतिलीटर ५० पैसा बढी मुल्यमा बिक्री गर्दा समेत कारवाही गर्न नसकेको, पेट्रोलियम पर्दाथ लिएर आउने  ट्याङकरहरुबाट वाटैमा सिल तोडी तेल निकाल्ने गरेको लगाएतका अनियमीतताका आरोप छन् । निगमका कर्मचारीहरुकै मिलेमत्तोमा भारतवाट आउने ट्याङकरबाट बाटोमै २ सयदेखि ३ सय लिटरसम्म पेट्रोलीयम पर्दाथ निकाल्ने गरेको स्रोतको दावी छ । तेल नाप्ने यन्त्र बिगारेर अथवा निस्क्रिय बनाएर प्रयोगमा नल्याई अनियमितता गरेको विषयमा टोलीले छानबिन गर्ने बताइएको छ । टोलीले ट्याङ्कीबाट पेट्रोलियम पदार्थको नमूना लिएर छानबिन शुरु गरेको समितिले जनाएको छ ।  
सधै घाटामा जाने निगममा भ्रष्टाचार तथा अनियमितताका समाचार यस अघि पनि सार्वजनिक हुदैआएका छन् । यसरी हुने भ्रष्टाचार तथा अनियमिततामा राम्रोसंग छानविन हुन नसक्दा दोषीहरुले सधै उन्मुक्ति पाउनाले यस भित्रको भ्रष्टाचार मौलाउँदो छ ।  
    (0 Votes)

    फोरम गणतान्त्रिकको महाधिवेशन शुरु


    वीरगन्ज, कार्तिक २१ गते - मधेशी जनअधिकार फोरम गणतान्त्रिक को पहिलो महाधिवेशन वीरगञ्जको घण्टाघरस्थित वीपी उद्यानमा आज शुरु भयो ।
    महाधिवेशनको उद्घाटन पार्टीका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले गर्नुभयो । उदघाट्न सत्रमा अन्य पार्टीका नेताहरु पनि अतिथीका रुपमा आमन्त्रित छन् । मुलुक बाहिरबाट पनि कतिपय राजनीतिक पार्टीका प्रतिनिधिहरु सहभागी हुने नेता राजलाल यादवले जानकारी दिनुभयो ।
    महाधिवेशनमा तराई-मधेशका २० वटा जिल्ला र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट गरी १२ सयजना प्रतिनिधि सहभागी हुने जानकारी महाधिवेशन आयोजक समितिका संयोजक तथा केन्द्रीय सदस्य शशीकपुर मियाले दिनुभएको छ ।
    तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ अध्यक्ष चयनका साथै केही कार्य-समितिको निर्वाचन समेत गर्ने कार्यक्रम छ ।
    पार्टी अध्यक्ष जयप्रकाश गुप्ता जेल परेपछि पार्टीमा नन्दनकुमार दत्त र सञ्चारमन्त्री यादव समूहबीच आधिकारिकताको विवाद चल्दैआएको छ । दत्त समूहले केन्द्रीय समितिमा निर्णय नगराई महाधिवेशनको नाटक गरिएको आरोप लगाएका छ । पार्टीको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधिन रहेको बेला यस दलले महाधिवेशन गर्न लागेको छ ।

    अमेरिकामा राष्ट्रपतिका लागि आज राति मतदान



    नोभेम्बरको पहिलो मंगलबार हुने प्रचलनअनुसार, अमेरिकामा राष्ट्रपतिका लागि आज राती  निर्वाचनहुँदैछ । राष्ट्रपति बाराक ओबामा र म्यासेच्युट्स राज्यका पूर्वगभर्नर मिट रोमनीबीच ह्वाइट हाउसको चुनावी दौड निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
    मत सर्भेक्षणले तीन महत्त्वपूर्ण 'ब्याटलग्राउन्ड' राज्यमध्ये दुई फ्लोरिडा र भर्जिनियामा रोमनीको अग्रता देखाइरहेको स्थितिमा ओबामाले रिपब्लिकन उप-राष्ट्रपति उम्मेदवार पाउल रायनको गृहराज्य विस्कन्सिनका अतिरिक्त न्युहयाम्सायर, कोलोराडो र आइवामा अग्रता लिइरहेका छन् । दुवै पक्षका सबैभन्दा बढ्ता जोड १८ इलेक्टोरल भोट भएको ओहायो राज्यमा छ । ओहायोबिना दुवैलाई चुनाव जित्न गाह्रो पर्ने बताइएको छ । अधिकांश सर्भेक्षणले ओहायो राज्यमा ओबामाको अग्रतालाई संकेत गरिरहेका छन् । अघिल्लो महिना अमेरिकामा एक लाख ७१ हजार रोजगार सिर्जना भएपछि ओबामालाई यसले फाइदा पुर्‍याउने देखिएको छ ।
    उता समुद्री आँधी स्यान्डीले न्युयोर्कको जनजीवनलाई प्रभावित पारेपछि मंगलबारको चुनाव प्रभावित हुने सम्भावना भएको छ । मंगलबार २० प्रतिशतभन्दा कम मत खसे अर्को दिन फेरि मतदान गराइने भएको छ ।

    प्रजातान्त्रिक सरकार पनि किन यस्तो? कि कुरै पुगेन ठाउँमा?


    साढे दुई दशकसम्म दुर्गम ग्रामीण क्षेत्रमा रहेर उनले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाए। तर यति बेला उनी आफैं मृत्युशय्यामा छटपटाइरहेका छन् । एपेन्डिक्सको क्यान्सरबाट थलिएका डा. चित्रप्रसाद शर्मा वाग्ले सरकारसँग जीवन रक्षाका लागि अपिल गरिरहेका छन् ।  
    भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा चार महिनादेखि उपचार गराइरहेका डा. वाग्लेको स्थिति अहिले खर्च धान्नै नसक्ने छ । सरकारले खटाएबमोजिम जिल्लामा खटिएर सेवा गरेका वाग्लेले आफ्नो सम्पत्तिको नाममा रहेको एक मात्र एक्स-रे मेसिन पनि उपचार खर्च जुटाउन बेचिसकेका छन् ।
    उनी आर्थिक सहयोगका लागि मन्त्रालयमा धाए । तीन महिनाअघि प्रधानमन्त्री कार्यालयको राहत कोषमा निवेदन दिए । त्यो निवेदन त्यत्तिकै थन्कियो । सोमबार शान्तिमन्त्री टोपबहादुर रायमाझीलाई भेटेर उनीमार्फत प्रधानमन्त्रीलाई जीवन बचाइदिन भन्दै कागजपत्रसहित वाग्लेले आग्रह गरेका छन् ।
    रूपन्देही मुर्गियाका वाग्ले सरकारले २५ वर्ष दुर्गम जिल्लामा खटाए पनि आफू बिरामी दा भने वास्ता नगरेको गुनासो गर्छन् । झन्डै १२ वर्ष अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख रहेर सेवा गरेका वाग्ले विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच अध्ययनका लागि बिदा लिएर थाइल्यान्ड पुगेका बेला त्यहीं उनको क्यान्सर पत्ता लागेको थियो । तर खर्च अभावमा उपचार गर्न नसकेपछि उनी नेपाल फर्किए ।
    नेपाल मेडिकल बोर्डले उपचारका लागि विदेशमा पठाउने निर्णय गरेपछि उनी भारत गएका हुन् । उनी सरकारले खटाएको ठाउँमा गएर बिरामीको सेवा गर्नेमध्येका चिकित्सक हुन् तर अहिले आफैं बिरामी हुँदा सरकारले चासो नदिँदा दुःखी छन् । 'क्यान्सरले थलिँदासमेत सरकारबाट कुनै सहयोग भएन,' उनले भने, 'बिरामी खर्चसमेत सरकारले दिएन ।'
    'स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले आश्वासन मात्रै दिए,' उनले भने, 'स्वास्थ्य विभागका निर्देशकले कस्तो छ भनेर समेत सोधेनन् ।'
    'सरकारले सहयोग गरे मैले नयाँ जीवन पाउन सक्छु,' उनले भने, 'त्यसपछि बरु अझै पनि सरकारले खटाएका जिल्लाहरूमा गएर बिरामीको सेवा गरी बाँकी जीवन बिताउनेछु ।' १२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गर्दा उनी जिल्लावासीमा निकै प्रिय छन् ।

    ज्ञानेन्द्रलाई उचाले प्रतिगमन आंसुध्रियो भन्दै सत्ताकोलागी मरिहत्ते गर्ने नर पिसाचहरुको नयाँ चाल असफल भएकै हो त ?


    १९ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्रीलाई बर्खास्त गरेर सेनाका बलमा आफैले शासन चलाउने राष्ट्रपतिको प्रयत्न बिफल भएको छ ।

    करिव दुई साताअघि जतिबेला राष्ट्रपति सार्वजनिकरुपमा चर्का राजनीतिक भाषण गरिरहेका थिए, त्यतिबेलै ‘कु’को आन्तरिक तयारी तिब्र पारिएको उच्च राजनीतिक स्रोतको दावी छ । तर राष्ट्रपतिले कु का लागि जसजसको सहयोग लिने प्रयत्न गरेका थिए उनीहरुले रातो बत्ति बालिदिएपछि राष्ट्रपति यादवको योजना तत्कालका लागि तुहिएको छ । राष्ट्रपति यादवले आफ्नो प्रयत्न सफल नभएको र हुनुपर्ने नियकाबाट ‘साथ नमिलेको’ सन्देश कांग्रेस-एमालेका नेताहरुलाई दिइसकेका छन् ।

    बिश्वस्त सुत्रका अनुसार राष्ट्रपति यादवले सवैभन्दा पहिले नेपाली सेनाको साथ लिन खोजेका थिए । माओवादीप्रति गरम ठानिएका सेनापति गौरवशमसेरले आफ्नो कदममा मौन समर्थन जनाउने बिश्वासका साथ सेनापतिलाई शितलनिवास बोलाएरै राष्ट्रपतिले ‘मैले लिनुपर्ने भयो, अब सहयोग गर्नु पर्यो’ भन्ने प्रस्ताव राखेका थिए । तर सेनापति राणाले अहिलेको अबस्थामा सवै दलको सहमतिबिना कुनै पनि कदम घातक हुनसक्ने भन्दै सेना राजनीतिमा तानिने कुनै योजनामा नरहेको जवाफ दिएका थिए । अहिलेको स्थीति राजनीतिक कदमका लागि परिपक्क नभएको दवाफ दिंदै राणाले सेना सहयोग नहुने प्रष्ट पारेका थिए ।

    त्यसपछि राष्ट्रपति यादवले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर ‘लिनैपर्ने अबस्था आएको नत्र माओवादीले सत्ता कब्जा गर्ने’ बेलिविस्तार लगाएका थिए । प्रधानमन्त्रीलाई हटाउनैपर्ने अबस्थामा आफु पुगेको भन्दै यादवले भारतले साथ दिए मुलुकभित्रको स्थीति आफ्नो नियन्त्रणमा हुने बताएका थिए ।

    भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग ब्यक्तिगत सम्बन्ध भएपनि सरकारी तहमा सम्बन्ध नभएका कारण राष्ट्रपतिले राजदूतलाई भूमिका खेलिदिन आग्रह गरेका थिए । आफु पनि मधेसी भएका कारण मधेसमा समस्या नहुने, पहाडी क्षेत्रको सेन्टिमेन्ट आफ्नो पक्षमा रहेको, माओवादीबाहेक सवै दलको राजनीतिक समर्थन पनि आफुलाई हुने भन्दै राष्ट्रपतिले सहयोगका लागि आग्रह गरेका थिए । तर भारतीय राजदूतले पनि राष्ट्रपति सक्रिय हुने कुरालाई सर्मथन गर्न नसकिने कूटनीतिक जवाफ दिएका थिए ।

    सेना र भारतकै साथ नपाएपछि राष्ट्रपति यादव तत्कालका लागि हच्चिएको स्रोतको दावी छ । राष्ट्रपति सक्रिय हुन खोजेको र बिभिन्न क्षेत्रमा हारगुहार गरेको खवर माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि पुगिसकेको बताइएको छ । पछिल्लो स्थायी समिति वैठकमा राष्ट्रपतिले कु गर्ने प्रयत्नका साथ को-कोसँग के-के कुरा गरे भन्ने फेहरिस्त पेश गरिएको थियो ।

    एक माओवादी नेताले अनलाइनखबरसँग भने-’राष्ट्रपतिको कु गर्ने प्रयत्न बिफल भएको, सेना र बिदेशीलाई हात लिएर सासन चलाउने उनको भित्री मनसाय छरप्रष्ट भइसक्यो ।’ कु को योजना असफल भएपछि मात्र राष्ट्रपतिले दलहरुको छलफलमा नरम कुरा गरेको उनले दावी गरे ।

    #OnlineKhabar

    थबाङमा 'प्रचण्डलाई बास छैन'



    रोल्पाको थबाङको हरेक घर कुनै समयमा माओवादीका लागि सुरक्षित, अर्थात् लुक्ने ठाउं बन्थ्यो। पुष्पकमल दाहाल 'प्रचण्ड' भनेपछि खाना खुवाउन तँछाड-मछाड गर्नेहरूको लाम लाग्थ्यो त्यति बेला त्यहाँ। तर अहिले थबाङका कुनै पनि घर उनलाई बास दिन तयार छैन। बरु उनी आए कालो झन्डा देखाउने भन्दैछन् ।
    माओवादीले युद्धकालमा राजधानी मान्दै आएको थबाङमा अहिले एमाओवादीका गतिविधिमा अघोषित प्रतिबन्धजस्तै छ । थबाङका सर्वसाधारणसमेत दाहालप्रति तीव्र आक्रोश व्यक्त गर्छन् । युद्धकालमा लामो समय दाहाललाई खाना खुवाएका, बास दिएका र आफ्नो जीवन धरापमा पारेर पनि नेतालाई बचाएका जनता अहिले निराश छन् ।
    'नेताहरूलाई बचाउन हरेक थबाङवासीले घरबास छाडेर ६ महिना जंगलमा जीवन बिताएका छौं,' स्थानीय श्रम रोकाले भनिन्, 'तिनै नेताले धोका दिए । अब प्रचण्डलाई यहाँ बास छैन ।' २०५८ चैतमा गाउँमा सेना पुगेपछि सबै मानिस पूरै गाउँ खाली गरेर लडाकु र नेताहरूको पछि-पछि जंगलतिर लागेको उनले सम्झना गरिन् । सात महिनापछि असोजमा फकर्ंदा घर, बारीको मकै, घरभित्रका अनाज, गाईबाख्रा केही बाँकी थिएनन् । घरबाससँगै सबै जलेको उनले बताइन् ।
    प्रचण्डविरुद्धको आक्रोश यहाँ एक वर्षअघिबाटै सुरु भएको हो । पार्टी विभाजनअघि स्थानीय अजम्बरी जनकम्युनले वृक्षरोपण कार्यक्रम उद्घाटनमा बोलाएका दाहालविरुद्ध सबैले कालोझन्डा देखाउन खोजेपछि लडाकुहरूले जबर्जस्ती थामथुम गरेर रोकेका थिए । दाहाल सत्तामा गएर सुख सुविधाभोगी भएको, क्रान्तिको लक्ष्य अलपत्र पारेको, गरिब जनतालाई केही नहेरेको र आर्थिक लाभको पछि लागेको थबाङका बासिन्दाको आरोप छ । त्यही कारण अहिले थबाङवासी दाहाल र उनको पक्षका नेतालाई प्रवेश नै नदिने तयारीमा छन् ।

    पूर्वसभासदद्वारा बालिकाको यौन शोषण


    एकीकृत नेकपा माओवादीका पूर्वसभासद सफिक मियाँले एक वर्षदेखि घरमै राखेर एक बालिकाको यौन शोषण गर्दै आएको खुलासा भएको छ। उनले कास्कीकै एक गाउँबाट गरिब परिवारकी १३ वर्षीया बालिकालाई कामदारका रुपमा घरमै राखेर यौन शोषण गरेको पीडितका परिवारले प्रहरीमा उजुरी दिएको छ।
    पीडित बालिकाले आफूलाई मियाँले डरधाक र प्रलोभनमा पारेर प्राकृतिक र अप्राकृतिक रुपमा नियमित यौन शोषण गर्नेगरेको  बयान प्रहरीसमक्ष दिएकी छन्। प्रहरीले शुक्रबार साँझ पोखरा-९ नयाँ बजारस्थित मियाँको डेराबाट ती बालिकालाई उद्धार गरेको हो। पूर्वसभासद मियाँ फरार छन्। मियाँ विघटित संविधानसभामा समानुपातिकतर्फका सभासद थिए। 

    मियाँले बालिकालाई घरायसी काममा लगाउने भन्दै बाबु-आमाकै सहमतिमा घरमा राखेका थिए। घरमा काम गर्ने बालिकासँग आफ्ना श्रीमान्ले यौन दुर्व्यवहार गर्नेगरेको खुलासा उनकी पत्नी सुवेदा खान मियाँले नै गरेकी छन्। उनले आफूले समेत कैयौं पटक रंगेहात फेला पारेको बताइन्। 

    अर्थमन्त्री द्वारा कोइरालासँग भेट: बजेटबारे छलफल


    काठमाडौ, कार्तिक २१ - अर्थमन्त्री वर्षमान पुनले राजनीतिक सहमति जुटाएर बजेट ल्याउनेबारेमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग छलफल गरेका छन् ।
    कोइराला निवासमा आज बिहान भएको सो भेटवार्तामा अर्थमन्त्री पुनले राजनीतिक सहमति जुटाएर बजेट ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । मुलुक चुनावमा जाने निश्चित भएकाले सभापति कोइरालासँग अन्य राजनीतिक विषयमा पनि छलफल भएको अर्थमन्त्री पुनले बताए ।
    देश राजनीतिक सङ्क्रमणबाट गुज्रेको बेला आर्थिक सङ्कट पनि बढेर तलबभत्ता दिन नसक्ने अवस्था आउने भएकाले यो अप्ठा्यारो बुझिदिन आग्रह गरेको उनले बताए ।
    भेटवार्तामा सहभागी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सहमतिको राजनीतिलाई बिगार्ने गरी बजेट नल्याउन सभापति कोइरालाले अर्थमन्त्रीलाई भनेको जानकारी दिए ।
    “वैशाखमा निर्वाचन हुने सहमति भएकाले बजेट पनि सहमति गरिसकेपछि आउँदा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विश्वास र सहयोग बढ्छ,” डा रिजालले भने ।
    केन्द्रीय सदस्य डा रिजालले सहमतिका साथ निर्वाचनमा जाने कुरा भइरहेको बेला  बजेटकै कारण दलहरुका बीचमा बन्ला कि भन्ने विश्वासको वातावरणलाई अविश्वास, द्वन्द्व र सङ्कट बढाउने गरी काम नगर्न पनि सभापति कोइरालाले अर्थमन्त्रीलाई भनेको जानकारी दिए ।
    अर्थमन्त्री पुनले  शीर्ष तहमा राजनीतिक सहमतिकै लागि पहल गरी त्यहीबीचमा बजेट पनि आउने अपेक्षा गरे ।
    राष्ट्रपति र सरकारबीच द्वन्द्व बढिरहेको हो कि भन्ने प्रश्नमा अर्थमन्त्री पुनले विगतमा राजनीतिक सङ्क्रमणलाई व्यस्थापन गर्न संविधानसभा नै मूख्य थलो थियो त्यो नहुँदा त्यसले निर्वाचित गरेका दुईवटा संस्था मात्र रहेकाले यो अवस्थामा दुईटै संस्था मिलेर जानुपर्छ, कमजोरी भए पनि त्यसलाई बढाएर लान हुँदैन कम गर्दै जानुपर्छ भने । रासस

    नेपालमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प

    सिन्धुपाल्चोक उत्तरको तिब्बती भागमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ रेक्डरस्केल मापन गरिएको भुकम्प काठमाडौंसहित देशका विभिन्न भागमा सोमवबार बेलुकी सवा सात बजे धक्का महसुस भएको छ । भूकम्प को क्षतिबारे मापनकेन्द्रले खोजी गरिरहेको छ । यसै गरी रसुवामा पनि भूकम्प को धक्का महसुस गरिएको छ । संयुक्त राष्ट्र संघको व्युरो अफ क्राइसेस प्रिभेन्सन २००४ को प्रतिबेदन अनुसार विश्वका १९८ मुलुक मध्ये नेपाल भूकम्पीय जोखिमका दृष्टिले ११ औं स्थानमा पर्दछ । नेपाल, क्षेत्रफलका हिसावले सानो मुलुक भए पनि विपद् जोखिमका दृष्टिले विश्वकै अग्रपङ्तिमा छ । विभिन्न अध्ययन अनुसार विश्वका १९८ मुलुक मध्ये नेपाल पानीजन्य प्रकोपका दृष्टिले ३० औं र जलवायु परिर्वतनको जोखिमका दृष्टिले चौथो स्थानमा पर्दछ । भूकम्प ज्यादै डरलाग्दो र विनाशकारी प्रकोप जन्य घटना हो । नेपाल भूकम्प बाट हुनसक्ने जनधनको क्षतिका दृष्टिकोणले अति नै जोखिमपूर्ण राष्ट्र मानिन्छ । १९९० साल माघ २ गते गएको भूकम्प नेपालका लागि अहिले सम्मकै विनाशकारी भूकम्प मानिन्छ । सो भूकम्प मा परी नेपालमा मात्रै करिब नौं हजार मानिसको ज्यान गएको थियो भने हजारौं घर तथा अन्य भौतिक संरचना ध्वस्त भएका थिए । भीमसेन थापाले बनाएको धरहरा र चन्द्रशम्सेरले बनाएको घण्टाघर पनि सोही भूकम्प मा भत्किएका थिए । अहिले १९९० सालकै क्षमताको भूकम्प नेपालमा फेरि दोहोरिएर आए जनधनको धेरै क्षति हुने अनुमान गरिएको छ ।