Tuesday, November 6, 2012

उड्डयन सुरक्षामा युरोपको चासो


काठमाडौ, कार्तिक २१ - नेपालमा लगातार हवाई दुर्घटना भइरहेपछि युरोपेली उड्डयन सुरक्षा निकाय (एसा) ले नेपाली उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै गम्भीर चासो देखाएको छ । केही समयअघि त्यस संस्थाले दिएको सुझाव कार्यान्वयन नभएको, र संभवत यसै कारण दुर्घटना कम नभएको भन्दै गत शुक्रबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको सम्बद्ध स्रोतले जानकारी दियो । पत्र नेपाल सरकारका मुख्य सचिवलाई समेत पठाइएको बताइएको छ । 
हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सीता एयरको डोर्नियर जहाज दुर्घटना हुँदा धेरै युरोपेली नागरिकको ज्यान गुमेको थियो । त्यसमाथि डोर्नियर जहाज पनि युरोपकै जर्मनीमा निर्मित हो । नेपालमा दुई वर्षयता भएका हवाइ दुर्घटनामा ९६ जनाले ज्यान गुमाइसकेका छन् जसका लागि जिम्मेवारमध्ये तीनवटा डोर्नियर विमान पनि छन । 
आफ्ना नागरिक असुरक्षित भएको र युरोपेली जहाज वदनाम भएकोमा पनि उनीहरू बढी गम्भीर बनेको हुनसक्ने सम्बद्ध अधिकारी बताउँछन् । उड्डयन सुरक्षा प्रणालीमा भएको कमजोरी पहिचान गरेर सहयोग गर्न ९ महिनाअघि एसाको एउटा प्राविधिक जाँच टोली नेपाल आएर सुझावसमेत दिएको थियो । सुधारका उपाय अवलम्बन नगरेकोमा विश्वस्त भए युरोपेली युनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ईकाओ) ले विमान कम्पनीहरूलाई कालो सूचीमा राख्नसक्छन् । त्यसबाहेक नेपाली आकाशको सुरक्षामा पनि प्रश्न गर्न उठाउन सक्छन् । त्यसले नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम भई पर्यटन उद्योगलाई ठूलो घाटा पर्नसक्ने विज्ञहरू बताउँछन् । विगतमा बंगलादेश, म्यानमार, इन्डोनेसियालगायतका मुलुक यस्तो सूचीमा परिसकेका छन् । सुधार गरेर विश्वास आर्जन गर्न सके समस्या नपर्ने बुझाइ पनि उनीहरूको छ ।
'उनीहरूको पत्र गम्भीर प्रकारकै छ,' नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, 'तर हामी पत्रभन्दा आफ्नै हिसाबले हवाई सुरक्षा प्रवर्द्धनमा जुटेका छौं ।' यसैको फलस्वरूप प्राधिकरणले सरोकारवालाहरूसँग लगातार बैठक गरिरहेको छ । सोमबार विमान कम्पनी र वायु सेवा सञ्चालकहरूसँग बैठक भएको थियो । बैठकमा हवाई सुरक्षा सुधारका लागि दुवैतर्फबाट गर्नसक्ने योगदानबारे छलफल भएको एक सहभागीले बताए । 'प्राधिकरणका महानिर्देशकलगायत पदाधिकारी निकै गम्भीर थिए, उनले भने । कमजोरी पाइए, कम्पनीहरूको उडान सञ्चालन प्रमाणपत्र अस्थायी रूपमा निलम्बन गर्नेसमेतका कारबाही हुने चेतावनी अधिकारीहरूले दिएका थिए । विमान सञ्चालक र राजनीतिक दबाबमा प्राधिकरणलाई काम गर्न अप्ठ्यारो हुने गरेको छ । 'तर हामी सुरक्षामा सम्झौता गर्दैनौं,' महानिर्देशक त्रिरत्न मानन्धरलाई उद्धृत गर्दै अर्का सहभागीले भने । 


No comments:

Post a Comment