माओवादीले युद्धकालमा राजधानी मान्दै आएको थबाङमा अहिले एमाओवादीका गतिविधिमा अघोषित प्रतिबन्धजस्तै छ । थबाङका सर्वसाधारणसमेत दाहालप्रति तीव्र आक्रोश व्यक्त गर्छन् । युद्धकालमा लामो समय दाहाललाई खाना खुवाएका, बास दिएका र आफ्नो जीवन धरापमा पारेर पनि नेतालाई बचाएका जनता अहिले निराश छन् ।
'नेताहरूलाई बचाउन हरेक थबाङवासीले घरबास छाडेर ६ महिना जंगलमा जीवन बिताएका छौं,' स्थानीय श्रम रोकाले भनिन्, 'तिनै नेताले धोका दिए । अब प्रचण्डलाई यहाँ बास छैन ।' २०५८ चैतमा गाउँमा सेना पुगेपछि सबै मानिस पूरै गाउँ खाली गरेर लडाकु र नेताहरूको पछि-पछि जंगलतिर लागेको उनले सम्झना गरिन् । सात महिनापछि असोजमा फकर्ंदा घर, बारीको मकै, घरभित्रका अनाज, गाईबाख्रा केही बाँकी थिएनन् । घरबाससँगै सबै जलेको उनले बताइन् ।
प्रचण्डविरुद्धको आक्रोश यहाँ एक वर्षअघिबाटै सुरु भएको हो । पार्टी विभाजनअघि स्थानीय अजम्बरी जनकम्युनले वृक्षरोपण कार्यक्रम उद्घाटनमा बोलाएका दाहालविरुद्ध सबैले कालोझन्डा देखाउन खोजेपछि लडाकुहरूले जबर्जस्ती थामथुम गरेर रोकेका थिए । दाहाल सत्तामा गएर सुख सुविधाभोगी भएको, क्रान्तिको लक्ष्य अलपत्र पारेको, गरिब जनतालाई केही नहेरेको र आर्थिक लाभको पछि लागेको थबाङका बासिन्दाको आरोप छ । त्यही कारण अहिले थबाङवासी दाहाल र उनको पक्षका नेतालाई प्रवेश नै नदिने तयारीमा छन् ।
दाहाललगायत उच्च माओवादी नेताहरूप्रति यति धेरै आक्रोश हुनुका धेरै कारण छन् । थबाङवासीले दाहाल र उनले थालेको युद्धका लागि पूरै गाउँ जल्न दिएका छन्, ३३ जनाले ज्यान गुमाएका छन् अनि सात महिनासम्म पूरै गाउँ खाली गरेर जंगलमा कठिन जीवन बिताएका छन् । माओवादीको बैठकका लागि घर दिने फुन्टीबाङका सत्यप्रकाश बुढा हुन् वा दाहाललाई पटक-पटक खाना खुवाएकी ठूलो गाउँकी श्रम रोका, अहिले सबैका मनमा निराशा र आक्रोशबाहेक केही बाँकी छैन ।
यो सबै बलिदानी आफूहरूजस्तै निम्न वर्गको जीवनमा परिवर्तन ल्याउन गरेको नेकपा-माओवादी थबाङ गाविसका इञ्चार्ज जयप्रकाश रोकाले बताए ।
No comments:
Post a Comment