साढे दुई दशकसम्म दुर्गम ग्रामीण क्षेत्रमा रहेर उनले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाए। तर यति बेला उनी आफैं मृत्युशय्यामा छटपटाइरहेका छन् । एपेन्डिक्सको क्यान्सरबाट थलिएका डा. चित्रप्रसाद शर्मा वाग्ले सरकारसँग जीवन रक्षाका लागि अपिल गरिरहेका छन् ।
भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा चार महिनादेखि उपचार गराइरहेका डा. वाग्लेको स्थिति अहिले खर्च धान्नै नसक्ने छ । सरकारले खटाएबमोजिम जिल्लामा खटिएर सेवा गरेका वाग्लेले आफ्नो सम्पत्तिको नाममा रहेको एक मात्र एक्स-रे मेसिन पनि उपचार खर्च जुटाउन बेचिसकेका छन् ।
उनी आर्थिक सहयोगका लागि मन्त्रालयमा धाए । तीन महिनाअघि प्रधानमन्त्री कार्यालयको राहत कोषमा निवेदन दिए । त्यो निवेदन त्यत्तिकै थन्कियो । सोमबार शान्तिमन्त्री टोपबहादुर रायमाझीलाई भेटेर उनीमार्फत प्रधानमन्त्रीलाई जीवन बचाइदिन भन्दै कागजपत्रसहित वाग्लेले आग्रह गरेका छन् ।
रूपन्देही मुर्गियाका वाग्ले सरकारले २५ वर्ष दुर्गम जिल्लामा खटाए पनि आफू बिरामी दा भने वास्ता नगरेको गुनासो गर्छन् । झन्डै १२ वर्ष अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख रहेर सेवा गरेका वाग्ले विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपीएच अध्ययनका लागि बिदा लिएर थाइल्यान्ड पुगेका बेला त्यहीं उनको क्यान्सर पत्ता लागेको थियो । तर खर्च अभावमा उपचार गर्न नसकेपछि उनी नेपाल फर्किए ।
नेपाल मेडिकल बोर्डले उपचारका लागि विदेशमा पठाउने निर्णय गरेपछि उनी भारत गएका हुन् । उनी सरकारले खटाएको ठाउँमा गएर बिरामीको सेवा गर्नेमध्येका चिकित्सक हुन् तर अहिले आफैं बिरामी हुँदा सरकारले चासो नदिँदा दुःखी छन् । 'क्यान्सरले थलिँदासमेत सरकारबाट कुनै सहयोग भएन,' उनले भने, 'बिरामी खर्चसमेत सरकारले दिएन ।'
'स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले आश्वासन मात्रै दिए,' उनले भने, 'स्वास्थ्य विभागका निर्देशकले कस्तो छ भनेर समेत सोधेनन् ।'
'सरकारले सहयोग गरे मैले नयाँ जीवन पाउन सक्छु,' उनले भने, 'त्यसपछि बरु अझै पनि सरकारले खटाएका जिल्लाहरूमा गएर बिरामीको सेवा गरी बाँकी जीवन बिताउनेछु ।' १२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गर्दा उनी जिल्लावासीमा निकै प्रिय छन् ।
kotha bhada kar ??
ReplyDelete