Monday, November 19, 2012

असहमतिको श्रींखला: तीन दलबीचको आजको बैठक पनि निष्कर्षहीन


बजेटका सम्बन्धमा सहमति जुटाउने अन्तिम प्रयासस्वरूप आज बसेको तीन ठूला राजनीतिक दलहरु बीचको बैठक पनि विनासहमति टुङ्गिएको छ। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज साँझ बसेको प्रमुख तीन दलको बैठकमा सबै पक्ष आ-आफ्नै अडानमा कायम रहेपछि बजेट, सहमतिको नयाँ सरकार, निर्बाचन कुनै पनि विषयमा कुरा मिल्न सकेन। 

राष्ट्रपति रामबरण यादवले सात गतेभित्र सहमति जुटाउन प्रमुख राजनीतिक दलका नेताहरुलाई पटक-पटक आग्रह गर्दा पनि दलहरु आफ्नो अडानबाट कत्ति पनि पछि हट्ने अवस्थामा देखिदैनन। नेपाली कांग्रेस र नेकपा एमालेले बाबुराम सरकारको बहिर्गमन नभएसम्म कुनै विषयमा पनि सहमति हुन नसक्ने अडान लिइरहेका छन् भने बजेटजस्तो राष्ट्रिय महत्वको विषयलाई राजनीतिक हतियार नबनाउन सरकार पक्षले प्रतिपक्षी दलहरुलाई आग्रह गरिरहेको छ।  

बैठकबाट बाहिरिएका नेताहरुले कुनै सहमति हुन नसकेको जानकारी संचारकर्मीहरुलाई दिए पनि उनीहरु हरेस भने खाएका देखिदैनन। सहमतिकै लागि वार्ता जारी राख्ने पक्षमा उनीहरुको अभिव्यक्ति आएकोछ। 

म्यानमाले धेरै लामो बाटो तय गर्न बाँकी


अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुधारको उल्लेखनीय यात्रामा रहेको म्यानमाले धेरै लामो बाटो तय गर्नुपर्ने बताउनुभएको छ। 

अमेरिकी राष्ट्रपतिको हैसियतमा म्यान्माको ऐतिहासिक भ्रमणमा त्यहाँ पुग्नुभएका ओबामाले आफू मित्रताको हात बढाउन आएको बताउनुभयो। 

तर रंगुन विश्व विद्यालयमा बोल्दै ओबामाले राखिने राज्यमा हालै भएको हिंसालाई संबोधित गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। 
ओहदामा रहेका अमेरिकी राष्ट्रपतिको पहिलो म्यान्मा भ्रमणमा त्यहाँ पुग्नुभएका ओबामालाई बाटाका छेउमा लाम लागेर उभिएका हजारौ मानिसहरुले स्वागत गरेको बिबिसीले जनाएको छ।

त्यसको सत्ता बहिर्गमन विना कुनै बार्ता हुनसक्दैन रे


प्रजातन्त्रका नाममा प्रजातन्त्र विरोधीहरुले खेलिरहेजस्तो लाग्छ हाम्रो देशमा। 'तीस वर्षे कालरात्रि' भनेर नेपाली नागरिकलाई झुक्क्याउनेहरुले नेपालमा हालीमुहाली गर्नलागेको तीस वर्ष पुग्न अब केही वर्ष मात्र बाँकी छ। तर नेपाल र नेपालीहरुको हालत त्यो 'कालरात्री'को अवधिको भन्दा कता हो कता खराब छ। प्रजातन्त्रमा विरोध गर्न पाइन्छ, बोल्न पाइन्छ भनेर नेपालीहरुलाई उकासे, अहिले हामी नेपालीहरु त्यति बेलाको तुलनामा निकै धेरै बोल्न पाउछौ, राजनीतिज्ञहरुलाई गाली समेत गर्न पाउछौ।  तर, दुर्भाग्य, तपाईको बोलीको कतै सुनुवाइ हुँदैन। तपाईलाई प्रजातन्त्रले बोल्ने अधिकार त दियो, तर तपाईको रोटि खोसिदियो। रोटी मात्र होइन, देशको राष्ट्रिय ढुकुटी नै नेताहरुको पेवा भैसक्यो। 

अब त उनीहरु पेट्रोलको भाउ वर्षमा तीनचोटी बढाउछ्न, त्यसको भार आम नागरिककै थाप्लोमा थोपर्छन, ब्यापारीबाट चन्दा असुल्छन, मूल्य वृद्धिका नाममा त्यसको भार आम नागरिककै खल्तीमा ठेस्छ्न। बेहाल छ विचरा नेपाली जनताको! आफैले रगत बगाएर ल्याएको प्रजातन्त्र, यिनै राजनीतिक दलहरुको लहै लहैमा लागेर! नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाको अनुहार! बरु यिनीहरुले तिस वर्षे कालरात्रि भन्न रुचाउने पंचायती व्यवस्थामा यति विधि महंगी पनि बढ्दै न थ्यो, सर्वसाधारणको जीवन यति कष्टकर पनि थिएन, वातावरण शान्तिपूर्ण थियो, छात्ती फुकाएर हिडिन्थ्यो। अहिले त विहान बाहिर निस्के, बेलुकी घर फर्किन्छ कि फर्किन्न भन्ने चिन्ता हुन्छ। 

यी नेपाली राजनीतिक दलहरुले त प्रजातन्त्रको यसरी व्याख्या गर्नथाले कि आफूले भनेको प्रजातन्त्र, अरुले भनेको नप्रजातन्त्र अरे। हाम्रो प्रजातन्त्रको मूल्य-मान्यता त खालि सत्तामै टिकेको रहेछ-- त सत्तामा रहुन्जेल सहमति हुनसक्दैन, म गएपछि फरक पर्दैन। तैले बजेट ल्याउनु हुदैन, मलाई सत्ता छोड दे अनि म ल्याउछु बजेट। कस्ता नकच्चरा पाँगदुरे कुरा! अनि काम चलाउ भैसकेको प्रधानमन्त्रीको राजिनामा मागेर समय बिताउछन। त्यसको सत्ता बहिर्गमन विना कुनै बार्ता हुनसक्दैन रे। आफू सत्तामा गएपछि पनि यस्तै खिचलो उठ्छ भन्ने कुरा यिनीहरुलाई थाहै छ। तर, कुरा सत्ताको मात्र हो, त्यसैले यिनीहरु यसैमा अडिग छन-- यसले सत्ता छोड्यो भने खिचालोकै बीचमा भए पनि दुइ-चार महिना पनि खान त पाइन्छ। नालायकहरु!