सूचना तथा सञ्चार मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी हाल रोकिएका टेलिभिजन च्यानलहरुको प्रसारण तत्काल सुचारु गर्न केबुल प्रदायकहरुलाई निर्देशन दिएको छ। केबुल प्रदायकहरुले राष्ट्रिय प्रसारण नियमावलीको प्रतिकुल हुने गरी केही टेलिभिजनको प्रसारण रोकेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल प्रसारण सुचारु नगरे कडा कारवाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ। केबुल सञ्चालकहरुको एउटा समूहले गत आइतबार बेलुकिदेखि इमेज च्यानल र मंगलबारदेखि नेपाल टेलिभिजन र एनटिभी प्लसको प्रसारण रोकेको छ।
यसअघि सञ्चार सम्वद्ध विभिन्न संघ-संस्थाहरु- टेलिभिजन ब्रोडकास्टर्स नेपाल- टिबीएन, नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान र सामुदायिक रेडियो प्रसारक संघले केही केबल प्रदायकहरुले इमेज, नेपाल टीभी र एनटिभी प्लसको प्रसारण रोकेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए।
यस सन्दर्भमा सूचना तथा संचार मन्त्रालयका प्रवक्ता नारायण प्रसाद संजेलद्वारा जारी विज्ञप्तीमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यले राष्ट्रिय प्रसारणको छैटौं नियमावली संशोधन लागू गर्ने प्रतिवद्धता समेत जनाइएको छ। संशोधित नियमावलीबाट प्रत्येक केबुलका ग्राहक संख्या, त्यसबाट प्राप्त हुने सेवाको पारदर्शीता र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्नेमा मन्त्रालय विश्वस्त रहेको भन्दै त्यस विपरित काम नगर्न सचेत गराइएको छ।
नेपाल केबुल टेलिभिजन महासंघले राष्ट्रिय प्रसारण निमावली छैटौं संशोधन जारी गरेको विरोधमा च्यानलहरुको प्रसारण रोकेको जनाएको छ।
मेरो विचार: व्यक्तिगत हितमा आघात पर्ने देखिनासाथ प्रतिरोध गरिहाल्ने प्रजातान्त्रिक अधिकारको उपभोग गर्नु राम्रो कुरा हो, तर आफ्नो कर्तव्य पनि हुन्छ जसलाई कदापि बिर्सनुहुँदैन। यसका साथै, आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकारको हनन भयो कि भन्ने बारेमा पनि सोच्नु जरुरी हुन्छ भन्ने कुरा सधै मनन गर्नुपर्छ।
No comments:
Post a Comment