Thursday, January 3, 2013

राष्ट्रव्यापी वेबसाइट निर्माण प्रतिस्पर्धा शुरु: सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार- मन्त्री शाक्य

देशका विभिन्न कलेज तथा विश्वविद्यालयहरुमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले 'राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा' शुरु भएको छ। 

कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलो पटक यस प्रकारको राष्ट्रव्यापीरु वेबसाइट निर्माण प्रतिस्पर्धा शुरु भएको कुरा  विज्ञान, प्रविधि तथा वातावरणमन्त्री डा केशवमान शाक्यले बताउनुभयो। सो प्रतिस्पर्धाको बुधबार उद्घाटन गर्दै मन्त्री शाक्यले सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको कुरा बताउनुभयो ।
 
सचिव केशव भट्टराईले सूचना प्रविधिका क्षेत्रमा सिर्जनात्मक कार्य गर्ने युवालाई देशमै रोजागारीका अवसर सिर्जना गर्न राज्य र निजी क्षेत्र मिलेर अघि बढ्नसकिने विचार व्यक्त गर्नुभयो ।

क्यानका अध्यक्ष विनोद ढकाल र सस्त्र क्रियसन्सका प्रमुख कार्यकारी अधिकृत आशिषजङ्ग रायमाझीले पहिलो पटक हुनलागेको सो प्रतिस्पर्धाले देशको सूचना प्रविधितर्फ युवाको आकर्षण बढाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो ।

सो प्रतिस्पर्धाका संयोजक विमलकुमार शर्माले सूचना प्रविधिको विकासबाटै देशको विकासका ढोका खोल्नसकिने भएकाले राज्यले थप महत्वका साथ कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

सो प्रतिस्पर्धामा भाग लिनचाहने विद्यार्थीले ५०० रुपियाँ शुल्क तिरेर आगामी माघ २० गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। उनीहरुले निर्माण गरेका वेबसाइटमध्ये उत्कृष्टताका आधारमा पहिलो हुनेलाई ५० हजार रुपियाँ, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने र त्यस अवधिमा उत्कृष्ट सिर्जना प्रस्तुत गर्नेलाई १५ हजार रुपियाँ छुट्टै प्रदान गरिने जानकारी आयोजकले दिएका छन ।  -रासस


No comments:

Post a Comment