शिक्षामन्त्री दिनानाथ शर्माले विपक्षी दलहरुले राष्ट्रपतिलाई 'कदम चाल्न उकासेर' मुलुकलाई प्रतिगमनतिर धकेल्नचाहेको आरोप लगाएका छन् ।
राष्ट्रपतिलाई संविधानले दिएको अधिकार नाघेर कदम चाल्न उकास्नु संविधानको मर्यादा विपरीत भएको उनले बताए । 'राजा ज्ञानेन्द्रलाई तुल्सी गिरीलेझै राष्ट्रपतिलाई उकासेर मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजिँदै छ,' क्रान्तिकारी पत्रकार संघले आइतबार बिहान नेपालगन्जमा गरेको भेटघाटमा मन्त्री शर्माले भने, ‘सहमतिमा जे सुकै निर्णय हुनसक्छ, बल प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई पनि छैन ।’ राष्ट्रपतिलाई कदम चाल्न सल्लाह दिनेहरुले फाँसीवादी र अधिनायकवादी सोच राखेको उनले आरोप लगाए ।
सरकारले सकेसम्म सहमति नै पूर्ण बजेट ल्याउने मन्त्री शर्माको भनाइ छ । 'सकेसम्म सहमतिकै प्रयत्न हुन्छ,' उनले भने, ‘हुनै सकेन भने मुलुक अनिर्णयको बन्दी हुन सक्दैन । सरकारले बजेट ल्याउँछ ।’ एक अर्को प्रशंगमा मन्त्री शर्माले वर्तमान सरकारका दुई दायित्वमध्ये शान्ति प्रक्रिया करिब टुंगिसकेकाले संविधान घोषणा गरेर मात्र संसदीय निर्वाचनबाट आउने शक्तिलाई सत्ता सुम्पने दाबी गरे ।
No comments:
Post a Comment