शिक्षामन्त्री दीनानाथ शर्मा ले संविधानसभा पुनःस्थापना हुननसक्ने राष्ट्रपति रामवरण यादवको अभिव्यक्ति असंवैधानिक भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले बुधबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री शर्माले राष्ट्रपति संविधानको संरक्षक भएकाले त्यसको भावना र मर्मविरुद्ध गएर अभिव्यक्ति दिन नमिल्ने बताएका हुन् ।
पत्रकारहरुको जिज्ञासामा मन्त्री शर्माले संविधान बन्ने सुनिश्चितता भए मात्र वर्तमान सरकार विघटन हुने बताए ।
‘विपक्षी दलहरुले संविधान घोषणा गर्ने एजेन्डा लिएर आए मात्र सहमति हुनसक्छ’ उनले भने, ‘नत्र सरकार परिवर्तनको उही पुरानो एजेन्डामा हामी सहमत छैनौं र त्यसले समाधान पनि निकाल्दैन ।’
शिक्षा विभागको कार्यक्रममा सहभागी हुन बागलुङ पुगेका मन्त्री शर्माले आगामी तीन वर्षभित्र नेपालबाट निरक्षरता उन्मूलन गरिने अठोठ व्यक्त गरे ।
सबैलाई साक्षर बनाउन सरकारले यो वर्षदेखि साक्षर नेपाल अभियान सुरु गरेको जानकारी दिदै मन्त्री शर्माले यो अभियानलाई सार्थक बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।
क्रान्तिकारी पत्रकार सङ्घ बागलुङका अध्यक्ष कोपिला कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षामन्त्री शर्माले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि वर्तमान शिक्षा ऐनमा परिवर्तन गर्नु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
No comments:
Post a Comment