Sunday, January 13, 2013

'जन-युद्धको बलमा जन-विद्रोह': अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन


नेकपा, माओवादीको काठमाडौँमा जारी सातौं महाधिवेशनमा छलफल र सुझावका लागि गठित एक्काइस समूहका अधिकांश प्रतिनिधिले जन-युद्धकालीन संरचना  तत्काल ब्यूँताउन नेतृत्वलाई सुझाव दिएका छन। 
शुक्रबार एक्काइसवटा समूहमा छलफल भएको माओवादी अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा 'जन-युद्धको बलमा जन-विद्रोह' भन्ने स्पष्ट नीति किटान गरिएको र आवश्यक परे जन-सेना, जन-अदालतलगायतका दस वर्षे जन-युद्धकालका अवशेषहरू ब्युँताउने प्रस्ताव गरिएको छ। 
राष्ट्रियता, जन-जीविकालगायतका विषयमा राज्यले सुनुवाइ नगरेमा दीर्घकालीन जन-युद्धकै कार्य-दिशा अपनाउनुपर्ने भनाइ सहभागी प्रतिनिधिहरूको रहेको जानकारी मिथिला राज्य समितिका प्रमुख कृष्णदेव दनुवारले दिनुभयो। 
थारुवान राज्य समितिका सदस्य भैरव भट्टले सांगठनिक र वैचारिक कार्यक्रम लिएर जनतासमक्ष जाँदा राज्यले दमनको नीति अवलम्बन गरेको खण्डमा प्रतिवादका लागि 'सशस्त्र जन-युद्ध' नै अन्तिम विकल्प हुनुपर्ने बताउनुभयॊ। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई 'नवधनाढ्य' वर्गमा रूपान्तरित भएर क्रान्तिलाई धोका दिएको भन्दै उहाँले त्यसबाट पार्टीले पाठ सिक्नपर्ने सुझाव दिनुभयो। 
नेता सन्तोष बुढामगरले जन-युद्ध नै पार्टीको राजनीतिक लाइन हुने बताउँदै प्रतिनिधिहरूबाट जोरदार तरिकाले आएको यससम्बन्धी मागको कदर पार्टीले गर्नुपर्छ भन्नुभयो। पार्टी अध्यक्ष मोहन वैद्यको दस्तावेज स्पष्ट भएको र अब त्यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको कुरा पनि नेता बुढामगरले बताउनुभयो। 

No comments:

Post a Comment