Monday, November 5, 2012

भेरी अंचल अस्पतालको मानसिक रोग विभाग ठप्प


 स्वास्थ्य मन्त्रालयले बालरोग विशेषज्ञ डा. विनोद खेतानलाई भेरी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाएपछि मानसिक रोग विशेषज्ञ डा. नरेन्द्रकुमार राय ४ महिनादेखि अस्पतालभित्रै भूमिगत ढंगले बसेका छन् ।
उक्त रोग विशेषज्ञ डा. राय अस्पतालको ओपीडीमा आउन छाडेका छन् । मानसिक रोगको उपचारका लागि आउने बिरामीको पर्चा काट्न बन्द भएको छ । आएका मानसिक रोगीलाई विशेषज्ञ नभएको र उपचारकक्ष बन्द भएको भन्दै कर्मचारीले फिर्ता पठाउने गरेका छन् । मानसिक रोग विभागको ढोकामा ताला लागेको छ ।
'रोगविशेषज्ञ क्वार्टरबाट निस्कँदैनन्', अस्पताल प्रशासन शाखाका एकजना कर्मचारीले भने, 'उहाँ भूमिगतजस्तो हुनुभएको छ । आएका बिरामीलाई आपतकालीन कक्षबाटै अन्य अस्पताल जान सुझाव दिने गरिएको छ ।'  
तर डा. रायले आफू भूमिगत नभएको र खुलेआम बिरामीको उपचार गर्दै आएको दाबी गरे । 'म किन भूमिगत हुने ?, ओपनली काम गरिरहेको छु', एकएक कर्मचारीलाई अनुहार देखाउन जाने कुरा पनि त भएन नि,' उनले भने ।
उनले मानसिक रोगीको उपचारका लागि टिकट नकाटे पनि मोबाइल फोनद्वारा सम्पर्कमा ल्याएर उपचार गर्दै आएको बताए । निमित्त प्रमुख डा. श्यामसुन्दर यादवले भने मानसिक रोग विशेषज्ञ आउन छाडेको पुष्टि गरे । 'उहाँ नआए पनि अन्य डाक्टरले हेर्ने गरेका छन्', यादवले भने ।     
स्वास्थ्य मन्त्रालयले बालरोग विशेषज्ञ डा. विनोद खेतानलाई मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत सरुवा गरेको ६ महिनापछि प्रमुख बनाएर पुनः भेरी अञ्चल अस्पताल पठाएलगतै उत्पन्न विवादका कारण डा. रायले मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा ताला लगाई अर्धभूमिगत ढंगले बस्न थालेका हुन् ।  
मन्त्रालयका सचिव प्रवीण मिश्रले फागुन २८ गतेको सचिवस्तरीय निर्णय भन्दै बालरोग विशेषज्ञ खेतानलाई मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत सरुवा गरेका थिए ।
करिब २४ वर्ष सुगममा बसेका खेतानलाई सरुवा भएको ठाउँमा हाजिर भएको साता नपुग्दै साउन ३ गतेको सचिवस्तरीय निर्णयद्वारा सचिव मिश्रले पदीय जिम्मेवारी बढाएर निमित्त मेडिकल सुपरिटेन्डेन्ट पदमा पठाएका थिए  ।
डा. रायले हाजिर हुन आएका खेतानलाई अस्पताल प्रमुखको कार्यकक्षमा बस्न नदिन त्यतिबेलादेखि नै ढोकामा ताला लगाइदिएका थिए । ताला लगाएकाले ४ महिनादेखि कार्यकक्ष पनि खोलेको छैन । तर स्वास्थ्य मन्त्रालयले अस्पतालभित्रको यस्तो अवस्था थाहा हुँदा समेत समस्या समाधान खोजेको छैन ।
'मन्त्रालयले २४ वर्षपछि सरुवा हुनेलाई हाजिर नहुँदै पुनःस्थापना गर्‍यो', अस्पतालका एक चिकित्सकले भने, '६ महिनामै थरीथरी निर्णय गर्न थालेपछि उत्पन्न विवादले अस्पतालमा बिरामी समस्यामा परेका छन् ।'

No comments:

Post a Comment