आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै छ दिनअघि दैलेखबाट सुर्खेत पुगेका बाइसजना पत्रकारहरु आज सुर्खेतबाट दैलेख फर्किएका छन। उनीहरुले सुर्खेतमा मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिनुका साथै वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गरी आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका थिए।
एमाओवादी कार्यकर्ताबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका एकजना पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको थियो। पौडेलले भन्नुभएको थियो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन। हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुस गरेर कार्यथलो छाडेका हौं।’
पत्रकार महासंघका सभापति पुस्कर थापाले गत शुक्रबार एभिन्यूज टेलिभिजनसङ्ग कुराकानी गर्दै प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको प्रतिक्रिया दिनुभएको थियो। आफूहरु आठ वर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी पनि गर्नुभएकोथियो।
अहिले कस्तोखालको सुरक्षा प्रत्याभूति पाएर गृह-जिल्ला दैलेख फर्किनुभयो भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन।
No comments:
Post a Comment