प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको दबाबमा काठमाडौं उपत्यका खानेपानी विकास समिति (केयूकेएल) का दुईजना सदस्यलाई फिर्ता बोलाइएको छ । दिदी तिमिलालाई अध्यक्ष बनाउन असहमति जनाएको भन्दै सदस्य महेश काफ्ले र बाबुराजा महर्जनलाई हटाउन हिसिलाले दबाब दिएकी थिइन् । काफ्ले काठमाडौं महानगरपालिका र महर्जन ललितपुर उप महानगरपालिकाका तर्फबाट सञ्चालक सदस्य छन् ।
प्रधानमन्त्री पत्नीको दबाबपछि महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र ललितपुर उप-महानगरपालिकाका कार्यकारी अधिकृत नरहरि भण्डारीले दुवैलाई फिर्ता बोलाएर महानगरका सञ्जयराज उपाध्याय र ललितपुर उप-महानगरबाट रुद्र गौतमलाई सञ्चालक सदस्यका लागि सिफारिस गरिएको छ । हाल केयूकेएलका अध्यक्ष प्रयागलाल जोशी छन् । जोशीको कार्यकाल आगामी पुस २७ गते सकिँदै छ । केयूकेएलको विधानअनुसार अध्यक्षको पदावधि एक वर्षको हुन्छ ।
संस्थाको हितभन्दा राजनीतिक स्वार्थको आधारमा आफूलाई पनि हटाउने षड्यन्त्र भइरहेको कुरा अध्यक्ष जोशीले बताउनुभएको छ । जोशीलाई अध्यक्षबाट हटाएर दिदीलाई अध्यक्ष बनाउन गत वर्ष पनि हिसिलाले तत्कालीन स्थानीय विकासमन्त्री रहेका टोपबहादुर रायमाझीमार्फत दबाब दिएकी थिइन् । विभिन्न क्षेत्रबाट चर्को विरोध भएपछि उनी पछि हट्न बाध्य भएकी थिइन् ।
तिमिला पनि केयूकेएलको सञ्चालक सदस्य हुन् ।
No comments:
Post a Comment