Wednesday, November 7, 2012

३६ किलोमिटरको भाडा ८ सय

 राजपुर-चवराचौतारा ग्रामीण सडकमा गुड्ने सवारी साधन सञ्चालकले मनपरी भाडा असुल्ने गरेका छन् । उनीहरूले ३६ किलोमिटर यात्रा गरेबापत ग्रामीण क्षेत्रका सर्वसाधारणबाट ८ सय रुपैयाँ न्यूनतम असुल्ने गरेका छन् जब कि दिपायलबाट २ सय किलोमिटर टाढा पर्ने धनगढीमा यात्रा गरेको ४ सय ६० रुपैयाँ मात्र भाडा लिने गरिएको छ । 'प्रतिव्यक्ति ८ सय न्यूनतम दर हो,' चवराचौतारा घर भएका सोर्स नेपालका अध्यक्ष मीन बमले भने, 'भारतबाट काम गरी फर्किएकाबाट १ हजारभन्दा माथि भाडा उठाउँछन्, काँधमा बोक्ने झोलाको पनि छुट्टै पैसा माग्छन् ।' सो सडक खण्डमा शैलेश्वरी यातायात व्यवसायी समितिअन्तर्गतका जिप चल्ने गरेका छन् । समितिले उक्त सडक खण्डमा चलानी दिएर जिप चलाउने गरेको भए पनि भाडादर तोकेको छैन । 'भाडा नतोकेर उपभोक्तालाई एकोहोरो रूपमा लुट्ने काममा यातायात व्यवसायीको पनि संलग्नता रहेको छ,' डोटी तिखात्तरका नरबहादुर शाहीले आरोप लगाए । 'मालिकलाई मुनाफा गर्नेतर्फ मात्र समितिको ध्यान गएको छ तर उपभोक्तालाई हुने सास्ती र दुःखबारे न समितिले सुन्छ, न सरकारले नियमन गर्न सक्छ,' उनले भने ।
डोटीमा राजपुर-वराचौतारा सडकमा मात्र नभएर दिपायल-डौड सडकमा पनि यात्रुलाई चर्को भाडा लिएर लुट्ने गरिएको छ । उक्त सडक खण्डमा भारुको दररेट लगाइएको छ । सहर आउँदा एक सय रुपैयाँ नेपाली भाडा लिने सवारीसाधनले गाउँ र्फकंदा भने एक सय भारु लिने गर्छन् । शैलेश्वरी यातायात व्यवसायी समिति काउन्टर प्रमुख भूपेन्द्र शाहले ग्रामीण क्षेत्रमा समितिले निश्चित भाडादर नतोकेको बताए । शाहले भने, 'सवारीसाधनले जोखिममा गाउँका सडकमा सवारीसाधन सञ्चालन गरेकाले भाडा महँगो भएको हुन सक्ने बताए ।' समिति अध्यक्ष हिक्मतसिं चोपडासँग भने सम्पर्क हुन सकेन । डोटीमा सहजपुर-बीपीनगर, पचनाली-मुडभरा, कालागाड-मुडेगाउँ, सानागाउँ-पोखरीलगायत ग्रामीण सडकमा पनि सवारीसाधन चल्ने गरेका छन् । यी सडकमा कानुनी रूपले भाडा उठाउन नपाउने भए पनि जिल्ला तहमा सर्वसाधारणको सेवासुविधाका लागि यातायात सेवा चल्दै आएका छन् ।


No comments:

Post a Comment