Thursday, December 13, 2012

मुलुकको विद्यमान राजनीतिक अन्योलको स्थितिबाट निकासका लागि एमालेका नेताहरुको प्रस्ताव


'घिमिफिरी रुम्जाटार' भनेजस्तै गरेछ एमाले बैठकले। जुन दिशातिर फर्केर बोले पनि आँखा भने प्रधानमन्त्रीकै कुर्चितिर! सत्ता विना कुनै सहमति हुँदैन भन्ने यिनीहरुको मनस्थिति घोषितरुपमै अघि आयो। केही गरी सहमति हुनसकेन भने सह-प्रधानमन्त्री खाएर भए पनि सहमति गर्ने अरे। भन्नुको अर्थ सत्तामा जरुर जाने, कुर्ची त चाहियो, चाहियो। 

संविधानका अन्तरवस्तु लगायतका अन्य विषयमा समग्रमा सहमति गरौँ, माओवादी सरकार छोड्न तयार छ, तर खालि प्रधानमन्त्रीको कुर्चीका लागि सहमति गर्नु 'काले जानु, गोरे आउनु' मात्रै हो, यस्तो सहमतिको कुनै तुक छैन भन्ने अडान माओवादीले लिएपछि अब कुर्ची नपाइने भो भनेर अत्तालिएकाहरु प्रतिपक्षीहरु अब बाबुराम भट्टराई बसेको सिंगो कुर्ची नपाय भागबन्डा गर्न पनि तयार भएछन। कही नभएको जात्रा हाँडीगाउँमा। अब दुइवटा प्रधानमन्त्री बनाउने रे! यिनीहरुका लागि पहिलो महत्वको कुरो मुलुकलाई निकास दिनेभन्दा पनि कुर्चिकै रहेछ भन्ने घामजस्तै छर्लंग भयो।

दल्हारु हो! देशलाई लुट्नसम्म लुटिसकेउ, भिम रावलले प्रस्ताव गरेझै दुइ दुइवटा प्रधानमन्त्री खाएर भए पनि अब देशलाई निकास देउ। हामी नेपाली जनताको शरीरमा अब पसिना बनाउनका लागि रगत पनि सकिइसक्यो। 

राम बहादुर थापालाई पहिलेई प्रस्ताब गरेको भए देशले उहिलेई निकास पाइसक्थ्यो कि! यो पनि 'आँखा फेरि कुर्चीमै' भनेझै भए पनि निकासका लागि उचित विकल्प नै हुनसक्छ। तर यसो हेर्दा एमालेका नेता-मित्रहरु बाबुरामको कामदेखि सन्तुष्ट हुनुहुन्न जस्तो लाग्छ। यो विषयमा यसो गरौँ, त्यो विषयमा त्यसो गरौँ, यसरी संविधानका कुरा टुंग्याउने प्रयास गरौँ, यसरि निर्बाचनका कुरा मिलाउन भनी प्रस्तावित गर्नुको साटो बाबुरामकै विकल्पमा सबै कुरो केन्द्रित हुनपुग्छ। 

जे होस्, यो देश तिम्रा बाबुको विर्ता भएको छ, लुट, खाउ, मोज गर, तर भोलिका लागि पनि मोज गर्ने बाटो नमेट। किनकि तिमीहरुलाई खाने बानी परिसकेको छ, नखाई मन मान्दैन।  

यति पनि गर्न मन मान्दैन भने, नेकपा एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईद्वारा प्रस्तुत प्रस्तावको अन्तिम विकल्पको अन्तिम वाक्य 'यदी पार्टीका नेताहरुले यी काम गर्न नसक्ने हो भने मूख्य पार्टीको शिर्ष नेतृत्व टीमले सामूहिक रुपमा नेतृत्ववाट अवकास लिने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने।' भन्ने विकल्प उपयुक्त होला। किनभने जुँगाका लडाईं धेरै भैसके। कोइ पनि न हार्ने, जुँगाको लडाईंमा खालि सर्वसाधारण जनता मात्र पेलिने। प्रजातन्त्रको यो नियम मलाई मान्य भएन। 

No comments:

Post a Comment