Tuesday, November 20, 2012

अमेरिकामा पशुपतिनाथको मन्दिर बनाइने


अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने प्रयासस्वरुप क्यालिफोर्नियामा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपको निर्माण गर्नेभएका छन। यस प्रयोजनका लागि लस एन्जलसस्थित पशुपतिनाथ फाउण्डेशनले क्यालिफोर्नियाको नोर्वाक शहरको केनी मार्गअवस्थित बिक्रीमा रहेको गिर्जाघर खरिद गरेको छ। त्यस गिर्जाघर खरिद गर्नका लागि लाग्ने दश लाख पचास हजार अमेरिकी डलर- करिव नौ करोड रुपियाँ- मध्ये पाँच लाख पचास हजार अमेरिकी डलर खरिद प्रक्रियाका क्रममा फाउण्डेशनले नगद बुझाएको छ भने बाँकी रकम बैंकले लगानी गरेको बताइएको छ । 
क्यालिफोर्नियामा बसोबास गर्ने नेपाली समुदायले त्यहाँ पशुपतिनाथको मन्दिर र बौद्ध स्तुप निर्माण गर्नका लागि फाउण्डेशनका नामबाट केही र्षअघिदेखि  अभियान नै सन्चालन गरेका थिए। यस क्रममा उनीहरुले श्रीमद भागवत् पुराणदेखि चन्दा संलकनसम्मका कार्य गरेको बताइएको छ। 
'अथक प्रयासपछि फाउण्डेसनको नाममा स्थायी सम्पत्ति जोडिएको छ, अब पशुपतिनाथको मन्दिर र बौद्व स्तुप बन्ने पक्का भएको छ', फाउन्डेशनका प्रथम उपाध्यक्ष गोकुल पौडेलले भन्नुभयो। अब सकेसम्म छिटो नेपाली सांस्कृतिक एवं धार्मिक परम्पराको धरोहर मानिने आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर र बौद्व स्तुप निर्माण गर्नु आफूहरुको प्रमुख दायित्व भएको कुरा पनि उहाँले बताउनुभयो।  
गिर्जाघर खरिदका क्रममा पूरा गर्नुपर्ने आवश्यक कागजी प्रक्रिया सोमबार नै पूरा गरिएको र त्यसमा फाउन्डेशनका अध्यक्ष भक्त थापा, प्रथम उपाध्यक्ष गोकुल ढकाल, कोषाध्यक्ष पुन्नाखर ऋषि ढकाल, सदस्यद्वय एकराज 'नारायण' पाण्डे र राम लामाले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ।  । 
संस्थाका महासचिब प्रेम गुरागाईंद्वारा जारी विज्ञप्तीअनुसार, खरिद गरिएको सो भवनमा एउटा ठुलो भवन साथमा ६ वटाभन्दा बढी कोठा, पूजास्थल, २५० भन्दा बढी सहभागी अटाउने सभा कक्ष, भान्छा कोठा, बच्चाहरु खेल्ने पर्याप्त ठाउँ र तीनवटा शयन कक्ष, दुइवटा स्नानागार  रहेका छन। त्यस गिर्जाघरले ओगटेको जमीन कति छ भन्ने कुरा भने स्पष्ट छैन।
सात समुद्रपारि नेपाली संस्कृति, रिती रिवाज र परम्परालाई निरन्तरता दिने र त्यसको जर्गेना गर्ने प्रवासी नेपालीहरुको सपना अब पुरा हुने कुरा पनि महासचिव गुरागाँईले विज्ञप्तिमा उल्लेख गर्नुभाएको छ । 
तस्विर सौजन्य: इकान्तिपुर

No comments:

Post a Comment