Wednesday, December 12, 2012

अमेरिकाद्वारा सिरियाली प्रतिपक्षी गठबन्धनलाई मान्यता: ओबामा


अमेरिकाले सिरियाको प्रतिपक्षी विद्रोही गठबन्धनलाई सिरियाली जनताको वैधानिक प्रतिनिधिका रुपमा स्वीकार गर्दै त्यसलाई औपचारिक रुपमा मान्यता दिएको छ। अमेरिकी टेलिविजन एबिसी समाचारमा बोल्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले यस गठबन्धनको समाबेशीकरण, प्रतिबिम्बिकरण र प्रतिनिधित्व अमेरिकालाई यस्तो ठूलो निर्णय लिनका लागि पर्याप्त भएको बताउनुभयो। यस गठबन्धनले सिरियाली जनताको प्रतिनिधित्व गर्ने अधिकार हासिल गरेको कुरा बताउदै ओबामाले सतर्क पनि गराउनुभयो। 

श्री ओबामाले सिरियाको स्थितिका बारेमा छलफल गर्न बुधबार मोरक्कोमा बस्ने विश्वका सत्तरी देशका विदेशमन्त्रीहरुको सम्मेलनलाई आग्रह गर्नुभयो।

बेलायत, फ्रान्स, टर्की र खाडी राष्ट्रहरुले सिरियाली प्रतिपक्षी विद्रोही गठबन्धनलाई सिरियाली जनताको वैधानिक प्रतिनिधिका रुपमा मान्यता दिइसकेको कुरा बिबिसीले जनाएको छ। 

सिरियामा राष्ट्रपति बसर अल-असदको सरकार विरुद्ध करिब अठार महिनाअघि शुरु भएको गृहयुद्धमा करिब चालिस हजार मानिस मारिएको दाबी मानव अधिकारकर्मी संस्थाहरुले गरेका छन्।

मेरो विचार: अमेरिका र यूरोपका यी बलिया राष्ट्रहरुले मिलेर विश्वमा दादागिरी मच्चाइरहेको वास्तविकता यिनीहरु आफै पनि अवश्य स्वीकार गर्दछन। यिनीहरुको राजनीतिक निर्देशन र दिशाबोधलाई स्वीकार नगर्ने विश्वका कुनै पनि राष्ट्रका सन्दर्भमा यस्ता निर्णय गर्दा यिनीहरुले गरे प्रजातन्त्र र मानव अधिकार, अरुले गरे अर्काको आन्तरिक मामिलामा हस्तक्षेप हुनेगर्दछ। सद्दाम हुसेनले आफ्नो मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि छयासी जना सत्ता विरोधी आफ्ना नागरिकलाई मार्दा आम-हत्या भयो, मानव अधिकारको निहुँमा सात समुद्र पारिबाट आएकाहरुले अर्काको देशका लाखौं निर्दोष नागरिकको हत्या गर्दा त्यो प्रजातन्त्र भयो। यस्तै भयो लिबियामा, मोरक्कोमा, इजिप्टमा; यस्तै भैरहेको छ सिरियामा, प्यालेस्टाइनमा, अफगानिस्तानमा...  विश्वको हालको अवस्था यस्तै रहिरहने हो भने केही दशकपछि, सतकपछि विश्वमा एउटा मात्रै धार रहनेछ- अमेरिकी-यूरोपेली धार। र यही धार विश्वमा सर्बश्रेष्ठ प्रजातान्त्रिक धार कहलाउने छ, जसमा एक मात्र तानाशाहले, अथवा तानाशाहहरुको समूहले आदेश दिनेछ, अरु सबैले अनुसरण गर्नेछन, र यसैलाई प्रजातन्त्र र मानव अधिकारको नमूना विश्व व्यवस्था भनिने छ।   
तस्विर सौजन्य: बिबिसी /गुगल 

No comments:

Post a Comment