Thursday, November 8, 2012

राष्ट्रपतिद्वारा अध्यादेश अस्वीकार गर्ने संकेत

राष्ट्रपति रामवरण यादवले अन्य  दलहरुको सहमति विना सरकारले आर्थिक अध्यादेश ल्याए त्यसलाई अस्वीकार गर्ने संकेत दिनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका १९  विपक्षी दलको ज्ञापन-पत्र बुझ्दै राष्ट्रपति यादवले सहमति विनाको आर्थिक अध्यादेश अस्वीकार गर्ने संकेत दिनुभएको हो। 

'लोकतन्त्र र लोकतान्त्रिक मान्यतामा म अडिग छु,' राष्ट्रपति यादवले को भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भन्नुभयो, 'संविधान बमोजिम मेरो भूमिका निर्वाह गर्नेछु ।' दलहरुबीचको सहमतिमाथि जोड दिंदै राष्ट्रपतिले आफू पनि संविधानले दिएको हक अधिकारको प्रयोग गरी सहमतिकै प्रयासमा लागेको बताउनुभयो।

विपक्षी दलहरु सहमतिमा नआए बजेट ल्याउने सरकारी तयारीपछि विपक्षी दलहरु अध्यादेश अस्विकार गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । उनीहरुले सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै बलजफ्ती ल्याउन लागिएको बजेट अध्यादेशलाई स्वीकार नगर्न आग्रह गरेका हुन् ।
बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै एमाले अध्यक्ष झलनाथ खनालले सहमति विना बजेट ल्याउन नमिल्ने विचार व्यक्त गर्नुभयो । 'बजेट चाहिन्छ, यो जनताको अधिकार पनि हो,' उहाँले भन्नुभयो, 'तर संविधानबमोजिम सहमति गर्नु जरुरी छ ।'
दलहरुबीच भइरहेका छलफल र बजेटबारे कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस नेता मिनेन्द्र रिजाल, एमाले नेता सुरेन्द्र पाण्डे, राप्रपाका नेता पशुपति शमसेर राणा र भूमिराज निरौलाले राष्ट्रपतिलाई जानकारी दिनुभएको थियो ।

No comments:

Post a Comment