Thursday, January 10, 2013

दूतावासद्वारा महासेनानी कुमार लामाको रिहाइका सम्बन्धमा बेलायतका सरोकारवाला व्यक्तिहरुसङ्ग वार्ता शुरु


बेलायतका लागि नेपाली दूतावासले नेपाली सेनाका महासेनानी कुमार लामाको गिरफ्तारी र उहाँ विरुद्ध बेलायत सरकारको कदमका सम्बन्धमा सरोकारवाला व्यक्तिहरुसङ्ग कुटनीतिक वार्ता शुरु गरेको छ। बेलायतका लागि नेपाली राजदूत सुरेशराज चालिसेले एसियाली मामिला हेर्ने बेलायती मन्त्री ह्युगो स्वारसँग बेलायतको विदेश मन्त्रालयमा मंगलबार भेटवार्ता गर्नुभयो। भेटमा राजदूत चालिसेले कर्नेल लामालाई विनाशर्त रिहा गरेर सुडान मिसनमा फिर्ता पठाइदिन नेपाल सरकारको आग्रह/सन्देश सुनाउनुभयो।
आश्चर्यको कुरो, चालिस मिनेटसम्म चलेको भेट-वार्तामा बेलायती मन्त्री ह्युगोले नेपाली राजदूतको भनाइ एकोहोरो सुनिरहेको र तत्काल कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। 
कर्नेल लामाको रिहाइका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरू एकमत भएको जानकारी दिदै राजदूत चालिसेले लामाको गिरफ्तारीले नेपालको शान्ति प्रक्रियामा समेत असर पर्नसक्ने भएकाले बेलायत र नेपालबीचको दुई सय वर्ष पुरानो सम्बन्धलाई दृष्टिगत गरेर भए पनि जतिसक्दो चाँडो यस समस्याको समाधान गर्न बेलायती मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो। नेपाल संक्रमणकालीन न्याय र मानवअधिकारका लागि सदैव कटिबद्ध रहेको कुरा पनि राजदूत चालिसेले बताउनुभएको छ। भेटघाटमा राजदूत चालिसे, उपनियोग प्रमुख तेजबहादुर क्षत्री र सैन्य सहचरी विश्वनाथ घिमिरे उपस्थित हुनुहुन्थ्यो भने बेलायत सरकारका तर्फबाट मन्त्री ह्युगोसहित विदेश मन्त्रालयका चार अधिकारी।
नेपालका बारेमा जानकारी राख्ने ब्रिटेन-नेपाल अल पार्टी पार्लियामेन्ट्री ग्रुपका प्रमुख सर जोन स्टयान्लीसँग पनि राजदूतले भेटवार्ता गर्नुभयेको छ। मंगलबार अपराह्न भएको भेटमा राजदूत चालिसेले महासेनानी लामाको पक्राउ विषयमा नेपाल सरकारले लिएको धारणा र विनासर्त रिहाइको अडान दोहर्याउनुभयो। स्टयान्लीले नेपालको यस धारणा ब्रिटेन-नेपाल अल पार्टी पार्लियामेन्ट्री ग्रुपसमक्ष राख्ने जवाफ दिएको जानकारी दूतावासले दिएको छ। हाल लण्डनमा नरहेका बेलायती रक्षामन्त्री र डीएफआईडी मन्त्री आलन डंकनसँग पनि छिट्टै भेट्ने तयारी दूतावासले गरिरहेको बताइएको छ।

No comments:

Post a Comment