काठमाडौँ, कात्तिक २३ - नेपाली कांग्रेस र नेकपा एमालेलगायतका १९ वटा विपक्षी दलहरूले वर्तमान कामचलाउ सरकारले प्रस्तुत गर्ने आर्थिक विधेयक (बजेट)मा सहमति नजनाउन राष्ट्रपतिलाई आग्रह गरेलगत्तै मुलुकको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा गत राति राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
भेटमा राष्ट्रपति डा यादवले १९ दलले बजेटका सम्बन्धमा बुझाएको ज्ञापनपत्रबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। सो क्रममा प्रधानमन्त्री भट्टराईले सहमतिमा कात्तिक मसान्तभित्र बजेट ल्याउने प्रतिबद्धता जनाउनुभएको बताइएको छ।
प्रधानमन्त्री भट्टराईले भेटमा बजेटमा सहमतिका लागि दलहरूबीच भइरहेको कुराकान बारे जानकारी गराउनुभएको थियो भने राष्ट्रपतिले विपक्षी दलहरूको सहमतिबिना बजेट ल्याउने व्यवस्था अन्तरिम संविधानमा नभएकाले सहमति जुटाएरै बजेट ल्याउन आग्रह गर्नुभएको थियो।
भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री भट्टराईले बजेट प्रक्रियामा सहमति जुटाउने विषयमा कुराकानी भएको र राष्ट्रपतिले पनि दलहरूको सहमति जुटाएर मात्र बजेट ल्याउन आग्रह गर्नुभएको जानकारी दिनुभयो।
सरकारले केही दिनभित्रै पूर्ण बजेट ल्याउने कसरत सुरु गरेलगत्तै प्रतिपक्षी दलहरू त्यसको विरोधमा उत्रिएका छन्। सहमतिका लागि सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताहरूबीच बारम्बार छलफल भए पनि त्यो सहमतिभन्दा असहमतितर्फ बढी उन्मुख भएको देखिन्छ। रासस
No comments:
Post a Comment