Friday, November 9, 2012

नेपाली अघि बढ, क्रान्तिको झण्डा लिई अघि बढ

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले गीत गाउनुहोला भन्ने कुरा मैले सोचेको पनि थिइन। तर उहाँमा गीत गाउने कला पनि पूर्ण रहेछ। गणेशमान सिंहको ९७ औं जन्मजयन्तीका अवसरमा आज कार्तिक २४ गते शुक्रबार काठमाडौंको वसन्तपुरमा भएको सभामा सभापति कोइरालाले तारिणीप्रसाद कोइरालाको गीत  'नेपाली अघि बढ, नेपाली, क्रान्तिको झण्डा लिई अघि बढ...' गाउनुभयो। 

जिब्रोको क्यान्सरका कारण बोली प्रस्ट नभएका सभापति कोइरालाले लय हालेर गीत गाउँदा कार्यकर्ताले थपडी मारेर सहयोग गरेकोमा मैले पनि थपडी बजाएँ। यो मेरा लागि आनन्दको कुरा थियो। 

सोहि समारोहलाई सम्वोधन गर्दै सभापति कोइरालाले भट्टराई सरकारविरुद्धको आन्दोलन र वार्ता सँगसँगै अघि बढाइने कुरा बताउनुभयो ।  पार्टीका कतिपय साथीहरुले आन्दोलन मात्रै गरौं, वार्ता छाडौं भन्ने सुझाव दिनुभएको जानकारी दिंदै उहाँले आन्दोलनसँगै वार्ताको ढोका पनि खुला राख्ने कुरा बताउनुभयो। हामी 'वार्ता पनि छाड्दैनौं, छाडे माओवादीले नै छाडोस', सभापति कोइरालाले भन्नुभयो।
अब हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै कोइरालाले सरकारलाई हटाउनका लागि आन्दोलन मात्र एउटै विकल्प रहेको बताउनुभयो। अहिले हुने आन्दोलन रिहर्सल मात्रै हुने चेतावनी पनि सभापति कोइरालाले दिनुभयो।
निर्वाचनका सन्दर्भमा बोल्दै कांग्रेस सभापति कोइरालाले वर्तमान राजनीतिक गतिरोधको निकास चुनाव मात्रै भएको विचार व्यक्त गर्नुभयो । 'चुनाव बाहेक अर्को विकल्प पतनको मार्ग हो', उहाँले भन्नुभयो। 

No comments:

Post a Comment