आज आश्विन कृष्ण प्रतिपदा। आजदेखि पितृपक्ष अर्थात साेह्रश्राद्ध शुरू भयाे। आश्विद कृष्ण पक्षमा सूर्य कन्या राशीमा बसेका बेला पितृका लागि पर्व जस्तै हुन्छ भनी धार्मिक ग्रन्थमा वर्णन गरिएकाे छ।
पितृपक्षकाे तिथिमा आफ्ना दिवङ्गत पितृहरूलाई श्रद्धाका साथ अन्नजल अर्पण गरिने हुँदा साेह्र श्राद्धकाे विशेष महत्व रहेकाे छ।
ठूला चाडपर्व, यज्ञ आदि सम्पादन गर्नुभन्दा अघि पितृकाे पूजा गर्ने हाम्राे परम्पराअनुसार वडा दशैं र तिहार जस्ता ठूला चाडपर्वभन्दा अघि पर्ने साेह्र् श्राद्धले हामीलाई पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि पनि गराउँछ भन्ने मान्यता रहिआएकाे छ।
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भूमिका छ। पितृलाई भगवान अनि पितृकर्मलाई सनातन संस्कारको केन्द्रविन्दुका रुपमा लिइएको छ। श्राद्ध गर्दा सात पुस्तासम्मलाई पितृ तर्पण दिने चलन त झन पितृकर्मको महत्व तथा आफ्ना बाबु, बाजेलगायतकाे एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो। साेह श्राद्धले वैदिक सनातन संस्कारको उचाइ र महत्वलाई थप स्पष्ट पार्छ।१६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर विदाइ गरेपछि बल्ल दशैंको रौनक औपचारिकरूपमा शुरु हुनेगर्दछ। सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यस १६ दिनकाे पवित्र पक्षलाई पुकारिन्छ। पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म जारी रहन्छ। पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन भन्ने विश्वास गरिन्छ।
श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ। आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ। विहानैदेखि माैलिक विशेषता बोकेका पारम्परिक नैवेध्य तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ। अनि श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरिने स्थानमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ।
वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन। सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ। पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ।
सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ। भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन। पुत्र अनि पुत्री पितृका लागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वतःस्फूर्त सहभागिता र कर्ताकै रुपमा भूमिका निर्वाह गर्न थालिएको छ जुन अत्यन्त सराहनीय कुरा हाे। धर्म अनि संस्कारले छोराछोरी दुबैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुई पटक गरिन्छ। वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध सोह्र श्राद्धको अवधिमा गरिन्छ। पूर्णिमादेखि सोह्रश्राद्ध शुरु भएसंँगै पहिलो तिथी अर्थात प्रतिपदाको तिथीमा मृत्यू भएका पितृहरुको सम्झनामा प्रतिपदा श्राद्ध गरिन्छ। त्यसैगरी अन्य तिथिहरूमा पनि।