Tuesday, October 4, 2022

माता सिद्धिदात्रिको पूजा–आराधना गरी महानवमी पर्व आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदै

 सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर मरैरपि |

सेव्यमाना सदा भूयात्‌ सिद्धिदा सिद्धि दायिनी || 

आज नवरात्रिको नवौं दिन, अर्थात महानवमी। वडा दशैंको नवौं दिने पर्व आज देवी सिद्धिदात्रिको पूजा–आराधना गरी अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदैछ।  

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाआज गरिन्छ।   

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा तथा सप्तासती पाठ गरी विजया दशमीका दिन विसर्जन गर्ने चलन छर सो कलशको जलले अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ।

आज विहान सबेरैदेखि अधिराज्यभरिका देवी भगवतीका मन्दिर एवम् शक्ति पीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। अहिले काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु पूजा–आराधना गरिरहेका छन। तलेजु मन्दिर वर्षमा एक पटक आजकै दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। 

आज विहानदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि चढाउनुका साथै जंगी निसानको पूजा तथा कोत–पूजा गर्ने काम भैरहेको छ। जै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।     

 


Monday, October 3, 2022

आज शक्तिस्वरुपा माता दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदै

 नेपालीहरुको महान चाड वडा दशैंअन्तर्गत नवरात्रिको आज आठौं दिन, अर्थात् अष्टमी तिथि। महाष्टमीका रूपमा परिचित यस चाडका दिन आज शक्तिस्वरुपा माता दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ।


आजको यस पूजामा उपयोगी खाद्य सामग्री: अष्टमी तिथिका दिन भगवतीलार्इ नरिवलको भोग लगाउनु पर्छ। अनि नैवेद्यका रूपमा त्यो नरिवल ब्राह्मणलार्इ दिनुपर्छ। यसको परिणामस्वरूप त्यस व्यक्तिका निकट कुनै पनि प्रकारको संताप आउनसक्दैन भन्ने मान्यता रहिआएको छ।


आश्विन शुक्ल प्रतिपदाका दिन पूजा-कोठा, दशैँ-घर अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजाआजा गरिन्छ। आज घर-घरमा राखिएको ज्यावल, कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेवी दुर्गाको हतियारका रूपमा स्थापना गरी पूजा गर्नेगरिन्छ।

आज मध्येरातमा बलिसहित कालरात्रिको पूजा गर्ने चलन छ। मध्यरातको यस पूजाबाट प्रसन्न भएर देवीले शुभ फल दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ।

महागौरीको उपासना गर्ने मंत्र यस प्रकार छः


श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दघान्महादेवप्रमोददा॥

महाअष्टमीका उपलक्ष्यमा आज विहानैदेखि अधिराज्यभरिका शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लागेको छ।

धार्मिक ग्रन्थअनुसार भगवान शिवलार्इ पाउनका लागि गरिएको कठोर तपस्याका कारण माता पार्वतीको रंग कालो र शरीर क्षीण हुनपुगेको थियो । तपस्याबाट प्रसन्न भएर जब भगवान शिवले माता पार्वतीको शरीर गंगाजलले धुनु भयो तब उहाँको शरीर विद्युत प्रभा समान गौर अर्थात सेतो भयो। यसै कारण मातालार्इ "महागौरी" का नामबाट पूजिन्छ। महागौरीका चार भुजा अर्थात हातहरू छन जसमध्ये दुइवटा अभय मुद्रा र वर मुद्रामा छन अनि अरू दुइवटाले त्रिशूल र डमरू धारण गरेका छन। नव दुर्गाका सबै रूपहरूमध्ये महागौरी दुर्गा माताका सबैभन्दा शान्त रूप हो। अष्टमीका दिन कन्या पूजनको चलन पनि छ।

तस्विर सौजन्य: गुगल

Sunday, October 2, 2022

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइदैछ।

 उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।

 परम्परानुसार, गोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।  सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ।  

हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो  फूलपाती हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजा, गुरुज्यूको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाच-गान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन। 

नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ  समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा भित्र्याइञ्छ।

 फूलपाती के हो

फूल भनेको बोट-बिरुवामा फल लाग्नुअघि निस्कने मनोहर एबम् सुकोमल अङ्ग-पुष्प हो भने पाती (पत्र) भनेको पात र विरुवा हो।  

नवरात्रिको सातौं दिन अर्थात् सप्तमीको पूजाका साथसाथ दशैं-घरमा नौ प्रकारका फूल-पत्र भित्र्याउने चलन नेपालमा छ। यसैले दशैंको सातौं दिनलाई सप्तमी मात्र नभनिकन फूलपाती पनि भन्ने चलन छ, नेपालमा।  

नौवटा मसला सम्मिलित फूलपातीलाई नवपत्रिका भनिन्छ। नवपत्रिकामा केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, मनवृक्ष  र हलेदो अनि कचुकी पर्दछन।  

केराको बोटले शान्तिदात्री ब्राह्मणीको प्रतिनिधित्व गर्दछ भने दारिमले रक्त-दन्तिका देवीको, जसले आफ्ना भक्तजनलाई सहयोग गर्नुहुन्छ।  त्यसैगरी, धानको बालामा सम्रिद्धिकी देवी लक्ष्मी बास गर्नुहुन्छ भने हलेदोमा देवी दुर्गा रहनुहुन्छ जसले बाधा-अबरोध हटाउनुहुन्छ। दुष्टात्माको अन्त्य गर्ने देवी चामुन्डा मनवृक्षमा विराजमान हुनुहुन्छ, अनि मानव जातिलाई बरदान दिने देवी कालि अदुवामा बास गर्नुहुन्छ। भगवान शिव बेलमा बस्नुन्छ भने देवी शोकरहिता अशोकको वृक्षमा, अनि जयन्तीले भगवती कार्तिकिको प्रतिनिधित्व गर्दछ।  

या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

तस्विर सौजन्य: गुगल 

 

नवरात्रिको साताैं दिन आज देवी कालरात्रीको पूजा-आराधना गरिंदै

 या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

 

नवरात्रिको साताैं दिन आज अधिराज्यभरि देवी कालरात्रिको पूजा-आराधना गरिदैछ। चारवटा हात भएकी देवी कालरात्री गधामा विराजमान हुनुहुन्छ। उहाँका दाहिने हात अभय र बरदा मुद्रामा छन् भेन देब्रे हातमा खुँडा र फलामको अंकुशे छ। कालरात्रि देवी पार्वतीको सबैभन्दा भयानक रूप भए पनि उहाँ आफ्ना भक्तजनहरुलाई अभय र बरदा मुद्रा प्रदान गर्नुहुन्छ। उहाँको भयानक स्वरूपमा  निहित शुभ र पवित्र मंगलकारी शक्तिका कारण कालरात्रि देवीलाई शुभंकारी देविका रूपमा पनि चिनिन्छ।     

 

माता कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोलागाेला छन। हरेक श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्रअंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात गदामा सवार हुनुहुन्छ।

 

नवरात्रिकाे साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

 

माता कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।


माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ। 

Saturday, October 1, 2022

नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिंदै

चंद्र हासोज्ज वलकरा शार्दू लवर वाहना।

कात्यायनी शुभं दद्या देवी दानव घातिनि।।

 

नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी  देवीको पूजा-आराधना गरिंदै छ। मानव जीवनमा शक्ति-स्वरूपा देवी कात्यायनीको उपस्थिति निम्न बरदानका लागि भएको विश्वास गरिन्छ: 

 

-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान  
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान  
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्याख्यान 
-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप 
-स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान 
सिद्ध महर्षि कात्यानले कठोर तपस्या गरेर माताबाट अफ्नी पुत्रीका रूपमा जन्म लिने वरदान माग्नुभयो। ऋषिको तपस्याबाट प्रसन्न भएकी माता पराम्बाले ऋषिको यो इच्छा पूरा गरिदिनुभयो र ऋषि कात्यानकी पुत्रीका रूपमा जन्म लिनुभयो । यसरी यी देबीको नाम "देवी कात्यायनी" रहनगयो। चार भुजाधारी माता कात्यायनी सिंहमा सवार हुनुहुन्छ। अफ्नो एउटा हातमा तरवार र अर्को हातमा अफ्ना प्रिय पुष्प कमल लिनुभएको छ। अन्य दुइवटा हात वरमुद्रा र अभयमुद्रामा छन।

 

शक्ति-स्वरूपा कात्यायनी  देवीले मानव जीवनको सुख-समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल-पत्रहरुले पूजा-आराधना गरिन्छ। यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति-स्वरूपा माताको आह्वान गर्दै पवित्र तन-मनका साथ देवीको मन्त्रोच्चारण बरिन्छ। तस्विर सौजन्य: गुगल 

Friday, September 30, 2022

नवरात्रिको पाँचौं दिन आज भगवती स्कन्धमाताको पूजा-आराधना गरी मनाइंदै

 आज नवरात्रिको पाँचौं दिनभगवती स्कन्धमाताको पूजा-आराधना गरी मनाइंदै छ। भगवती स्कन्धमाता अरु कोही नभैकन देवी पार्वती नै हुनुहुन्छ। देवादिदेव महादेवकी पत्नी भएका कारण उहाँलाई महेश्वरी र गोरो वर्णकी भएकाले गौरी पनि भनिन्छ। उहाँ भगवान स्कन्ध अर्थात कार्तिकेयकी माता भएकाले उहाँलाई स्कन्धमाता भनिएको हो। भगवती पार्वती आफ्ना पुत्रलाई निकै मायाँ गर्नुहुन्छ र आफ्ना पुत्रका नामबाट चिनिंदा आफूलाई आनन्दित भएको अनुभव गर्नुहुन्छ। 

भगवती स्कन्धमाता कमलको फूलमाथि आशिन हुनुहुन्छ। जब-जब दानबहरुको कुकृत्य (राक्षसत्व) बढ्दैजान्छ, तब स्कन्धमाता सिंहमाथि विराजमान हुनुहुन्छ र राक्षसहरुको बध गर्नुहुन्छ।

भगवती स्कन्धमाताको पूजा गर्ने भक्तजनहरुले भगवान कार्तिकेयको पूजा गरेको फल पनि प्राप्त गर्दछन। पुराणमा व्याख्या गरिएअनुसार, नवरात्रिको पाँचौ दिन भगवती स्कन्धमाताको पूजा गर्नाले भक्तजनहरुले भौतिक सम्पत्तिको मोहबाट मुक्ति पाउने र मोक्षका लागि ध्यान केन्द्रित गर्ने शक्ति हासिल गर्दछन।  भगवती स्कन्धमाताले आफ्ना भक्तजनहरुको आत्माको शुद्धीकरण पनि गर्नुहुन्छ। सौर्य प्रणालीकी प्रमुख देवी भएका कारण स्कन्धमाताले आफ्ना भक्तजनहरुलाई अपार महत्व र विशिष्ट गुण पनि प्रदान गर्नुहुन्छ।   

 बुँदागतरूपमा भन्नुपर्दा:

१ स्कन्दमाताको पूजा नवरात्रिको पाँचौ दिन गरिन्छ।

२ उहाँले आफ्ना पुत्र स्कन्द अर्थात् कार्तिकेयलाई आफ्नो काखमा राख्नुभएको छ। 

३ उहाँका तीनवटा आँखा र चारवटा हात छन। 

४ उहाँका दुइवटा हातमा कमलका फूल छन भने अरु दुइवटा हातले प्रतिरक्षा गर्ने र दिने भन्ने अर्थ जनाउने संकेत गरेका छन। 

५ सिंहमाथि विराजमान हुने स्कंदमाता ज्ञानका भण्डार हुनुहुन्छ। 

६ योग-शास्त्रमा उहाँ विशुद्ध चक्र र हामबीजा मन्त्रको प्रतिनिधित्व गर्नुहुन्छ। 

७ स्कन्दमाताले मातृत्व, उर्बरशीलता र मात्री-पुत्र सम्बन्धलाई सर्वोच्चता पनि प्रदान गर्नुहुन्छ। 

 

Thursday, September 29, 2022

नवरत्रिको चौथो दिन आज कूष्माण्डा देवीको पूजा-आराधना गरी मनाइँदै

 नवरत्रिको चौथो दिन आज कूष्माण्डा  देवीको पूजा-आराधना गरिदै छ। सिद्धिदात्रीको रूप लिइसकेपछि भगवती पार्वतीले सूर्यको केन्द्रमा रहन शुरु गर्नुभयो। यसो गर्नुको उद्देश्य सूर्यले विश्व-ब्रह्माण्डमा आफ्नो शक्ति प्रवाहित गर्नसकुन भन्ने थियो। 

त्यति बेलादेखि ती देवीको नाम कूष्माण्डा रहनगएको हो। कूष्माण्डा यस्ती देवी हुनुहुन्छ, जोसङ्ग सूर्यभित्र रहनसक्ने शक्ति र क्षमता छ। कूष्माण्डा देवीको शरिरको तेज र प्रभा सूर्यको जति नै तेजोमय छ। यसरी कूष्माण्डा देवीले सूर्यलाई शक्ति प्रदान गर्नुहुन्छ र दिशानिर्देश गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ।

 

कूष्माण्डा  देवीको प्रार्थना यस मन्त्रद्वारा गरिन्छ:  

या देवी सर्वभू‍तेषु माँ कूष्माण्डा रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। 

 

देवी कूष्माण्डाका आठवटा हात छन, जसका कारण यी देवीलाई अष्टभूजा देवी पनि भनिन्छ। कूष्माण्डा देवीको हातमा रहेको जप-मालामा शिद्धी र निधि प्रदान गर्नसक्ने सम्पूर्ण शक्ति छ भन्ने विश्वास गरिन्छ। तस्विर सौजन्य: गुगल 

 

Wednesday, September 28, 2022

नवरात्रिको तेश्रो दिन आज शक्तिरूपिणी देवि दुर्गाको तेश्रो रूप माता चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदै

 पिण्डज प्रवरारुढ़ा चण्डकोपास्त्र कैर्युता |

प्रसादं तनुते मह्यं चंद्र घंष्टेति विश्रुता || 

आज नवरात्रिको तेश्रो दिन, शक्ति रूपिणी देवि दुर्गाको तेश्रो रूप माता चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदैछ। माता चन्द्रघण्टाले शिरमा धारण गरेको आभूषणको शिरभाग अर्धचन्द्राकार भएकाले उहाँको नाम चन्द्रघण्टा रहेको विश्वास गरिन्छ। शान्ति, निर्मलता र समृद्धताका प्रतीक माता चन्द्रघण्टाका तीनवटा आँखा र दशवटा हात छन। उहाँ न्यायका प्रतीक हुनुहुन्छ र आफ्ना भक्तहरूलार्इ चुनाैतिहरूको सामना गर्ने साहस र शक्ति प्रदान गर्नुहुन्छ।

खराब तत्व र दुष्टहरूको दमन र शमनमा सधै व्यस्त रहने माता चन्द्रघण्टाको उपस्थिति नै शक्तिको श्रोत हुनसक्छ। तथापि, उहाँका भक्तहरूका लागि माता चन्द्रघण्टा शान्त, निर्मल, पवित्र र भद्र हुनुहुन्छ। माता चन्द्रघण्टाको पूजा आराधना गरेर तपार्इँ महान सम्मान, प्रतिष्ठा र यसको ढोका खुला गर्नुहुन्छ। माता चन्द्रघण्टा तपार्इँलार्इ आध्यात्मिक प्रबोधनका लागि पनि सहयोग गर्नुहुन्छ। सुन्दरता र बहादुरीकाे प्रतीक उहाँको आदर्शले तपार्इँलार्इ नकारात्मक शक्तिलार्इ टाढै राख्ने शक्ति प्रदान गर्दछ र दुःख तथा कष्टलार्इ तपार्इँको जीवनबाट टाढै राख्दछ जसका लागि तपार्इँले देविमाता चन्द्रघण्टाको पूजाकाे सामान्य विधि, परम्पराको अनुसरण गर्नुपर्छः

सर्वप्रथम तपार्इँले कलशमा सबै देवीदेवता र ग्रहहरूको पूजा गर्नुपर्छ र त्यसपछि भगवान गणेश र कार्तिकेयको प्रार्थना गर्नुपर्छ, र त्यसपछि भगवति सरस्वती, लक्ष्मी, विजया, जयामाता दुर्गाको परिवारको। र यो पूजा माता चन्द्रघण्टा अनि भगवान शिव र ब्रह्माको हार्दिक प्रार्थनाका साथ सम्पन्न हुनुपर्दछ।

माता चन्द्रघण्टाको प्रार्थना माथि शुरूमा लेखिएको मन्त्र वाचनका साथ हुनुपर्दछ। 

Tuesday, September 27, 2022

नवरात्रिको दोश्रो दिन अाज शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणिको पूजा अराधना गरिदै

 नवरात्रिको दोश्रो दिन अाज हिन्दुधर्मावलम्बीहरू शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणिको पूजा अराधना गरी मनाउँदैछन। भगवती माता ब्रह्मचारिणिको स्वरूप एकदमै तेवस्वी तथा वैभवशाली देखिन्छ। माता ब्रह्मचारिणि प्रेम, वफादारिता, विद्वता, र ज्ञानका प्रतीक हुनुहुन्छ। रूद्राक्षको माला लगाउनुभएकी माता ब्रह्मचारिणिकाे दायाँ हातमा जपमाला छ भने बायाँ हातमा कमण्डलु। ब्रह्मको अर्थ तप अर्थात प्रायश्चित्त हुन्छ। यस मानेमा ब्रह्मचारिणिको अर्थ हुन्छः त्यो जो तपस्या गर्दछ।  

 माता ब्रह्मचारिणिको जन्म हिमालयमा भएको हो। प्राचीन मान्यताअनुसार, देवऋषि नारदले माता ब्रह्मचारिणिको विचारलार्इ प्रभावित पार्नुभयो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा शिवलार्इ हासिल गर्ने प्रणका साथ माता ब्रह्मचारिणिले कडा तपस्या गर्नुभयो। यसका लागि माताले सयाैं वर्षसम्म थोरै मात्र खानेगर्नुभयो अथवा कत्ति पनि खानुभएन, तर उहाँको तपस्या एकदमै विशुद्ध थियो र त्यसमा एकदमै उच्च कोटीको शक्ति थियो जसले तीनै लोकमा ठूलो हलचल मच्चायो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा भगवान शिवलार्इ हासिल गर्ने माता ब्रह्मचारिणिको इच्छा पूरा भयो।

माता ब्रह्मचारिणि अाफ्ना भक्तहरूलार्इ ठूलो भावविशिष्ट शक्ति प्रदान गर्नुहुन्छ जसको परिणामस्वरूप त्यस्ता भक्त कस्तै कठीन करिस्थितिमा पनि अाफ्नो मानसिक सन्तुलन कायम राख्न र अात्मविश्वास बनाइराख्न सक्षम हुन्छन। माता ब्रह्मचारिणिले मानिसलार्इ सर्वमान्य सामजिक अाचरणमा अडिग रहन र कर्तव्यपरायणताका साथ अघि बढ्न प्रेरित गर्नुहुन्छ। माता ब्रह्मचारिणिको अाशिर्वादको परिणामस्वरूप तपार्इ जीवनको मार्गमा अाइपर्ने असंख्य चुनैतिहरूको सामना गर्दै अघि बढ्न सधैं संघर्षरत रहनुहुन्छ। उहाँको अाशिर्वादले मानिसलार्इ स्वार्थीपन, घमण्ड, लोभ र अल्छीपनबाट मुक्ति दिलाउँछ।

मा ब्रह्मचारिणिको दैवी अाशिर्वाद पाउनका लागि       

 या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।

दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू।

देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा।। 

मन्त्रको उच्चारण अर्थात पाठ गर्नुपर्दछ।

 


Monday, September 26, 2022

घटस्थापनकाे शुभकामना

दशैं आयो
खाउँला पिउँला !
कहाँबाट पाउँला, 
चोरी ल्याउँला ! !
धत् पापी, म त छुट्टै बसौला ! 

आज घटस्थापना अर्थात् नवरात्रीको पहिलाे दिन। आज जमरा छर्ने दिन अर्थात् घटस्थापना। २०७९ सालको वडा दशैंको पहिलो दिन, घटस्थापनाको शुभ साइत बिहान १०:२३ बजे जुरेको छ। 
जमरा अर्थात् जौ को जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ। अनि नवरात्रीभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ। जमरा भन्नासाथ केही दिनअघि अंकुरित जाैका तीन चार इन्चजति लामा पहेंला पात भन्ने बुझिन्छ तापनि वास्तवमा दशैंको जमरा उमार्नका लागि जौ लगायत धान, मकै र गहुँका दाना पनि पनि छरिन्छ।

माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ। हिन्दुहरूको महान् पर्व दशैंमा जमरा–संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो।

नवरात्रिको सुरुवातसँगै अब हरेक विहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लाग्नेगर्दछ विहान विहान घरघरमा स्थापित पूजा घरमा  जमराको पूजा–पाठ गर्नेगरिन्छ। अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषसँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ।

घटस्थापनाका दिन जमरा राखिने माटोको चतुर्भुज आकारको बीच भागमा माटो या तामाको कलश स्थापना गरेर राखिन्छ र दशमीका दिन त्यसै कलशकाे जलले अभिषेक गरेपछि राताे टीका र आवश्यकता अनुसार काटेर ल्याइएकाे पहेंला जमरा लगाइन्छ। यही जमरा, टीका अनि सद्भावले दशैंकाे रौनक बढाउँछ, प्रत्येक मुहारमा दशैंको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ।

दशैंको जमरा राख्ने चलन ठाउँ अनुसार फरक–फरक हुन्छ। कतै सामूहिकरूपमा दशैं–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ भने कतै व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ। जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस। यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन। घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्री भनेको जमराको नौदिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो। जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषित गर्दछ।

१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैं घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्र्याइन्छ। यसरी भित्र्याइँदैआएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खा दरबारमा छरिने चलन रहिआएको छ।

उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा नभएकाले त्यतिबेला गोर्खाबाट आबुखैरेनीसम्म हरेक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्काले सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो। अनि आबुखैरेनीबाट गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो। यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरअवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो। गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडौँ ल्याइपुर्याउनुपर्ने मान्यता रहेको छ।

घटस्थापनाका दिन छरिएका जौको अङ्कुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त हुन्छ भन्ने मान्यता नेपाली जनमानसमा रहिअाएकाे छ। जसरी छरिएको जमरा विस्तारै अङ्कुरण हुँदैजान्छ। त्यस प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्छन अनि जरा पलाएपछि बिस्तारै जमराका पातहरू माथि–माथि बढ्न थाल्छन। 

त्यसैगरी शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरूका बारेमा जानकारी दिएको पनि हुन सक्छ। विरुवाहरू जतिसुकै ठुला, अग्ला र मोटा भए पनि, उनीहरूको हाँगाले आकाशै छुनखोजे तापनि जरा भने माटोमै हुन्छन। अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदैन भन्ने महत्त्व दर्साउँछ।

यो दशैंमा सबैको जय होस। मङ्गल होस। भ्रातृत्व बढोस् अनि शान्ति छाओस। हाम्रो शिरमा जमरा शोभायमान भइरहोस। वडा दशैंको मङ्गलमय शुभकामना सबै सबैलाई।

Saturday, May 14, 2022

नरसिंह जयन्ती

को हुन नरसिंह 

राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर आज्ञा भयो ।

हिरण्यकशिपुको वरदान के थियो ?
हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः

न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।

न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।

हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो ।

त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो ।

हिरण्यकशिपुको छोरा भक्त प्रह्लाद
केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको आभामा आगलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।

राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे ।

एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले आजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ ।

नरसिंह पूजा

नरसिंहको पूजा, आराधना, यश, सुख, समृद्धि, पराक्रम, कीर्ति, सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले तंत्र मंत्र बाधा, भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ । आफ्ना भक्तहरुलाई विपत परेको बखत आएर रक्षा गर्ने यिनै नरसिंहलाई नरहरि, उग्र विर महा विष्णु अनि हिरण्यकश्यपू अरि नामले पनि पुकारा गरिन्छ ।

नरसिंह अवतार बारे पौराणिक मान्यताः

भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् ।

भगवान नरसिंह को बीज मंत्र - श्रौं'/ क्ष्रौं (नरसिंह बीज)

यस बीज मन्त्रमा क्ष्. नरसिंह, र् . ब्रह्म, औ . दिव्यतेजस्वी, एवं बिंदु . दुखहरण हो। यस बीज मंत्र को अर्थ हो ‘दिव्यतेजस्वी ब्रह्मस्वरूप श्री नृसिंह मेरो दुःख दूर गर्नुहोस्।'

आजका दिन विशेष व्रत अनि आराधना स्त्री, पुरूष जो कोहीले गर्न सक्छन् । वैष्णव समूदायका लागि त आज झनै विशेष उत्सव हो । भगवान नरसिंह अनि छेउमा माता लक्ष्मीको प्रतिमा स्थापीत गरी वेदमन्त्रले प्राणप्रतिष्ठा गर्ने चलन छ ।

फूल, फल, केसर, नरिवल, अक्षता, पिताम्बर लगायतका कुराहरु नरसिंहका प्रिय बस्तु मानिन्छ। सत्यकर्ममा लाग्ने उर्जा, लक्ष्यप्राप्तीको साहस अनि कर्तव्य प्रतिको निष्ठा सबैलाई प्राप्त होस् । ॐ नृम नृम नृम नर सिंहाय नमः ।

हाम्रो पात्रोका लागी सुयोग ढकाल