खाउँला पिउँला !
कहाँबाट पाउँला,
चोरी ल्याउँला ! !
धत् पापी, म त छुट्टै बसौला !
आज घटस्थापना अर्थात् नवरात्रीको पहिलाे दिन। आज जमरा छर्ने दिन अर्थात् घटस्थापना। २०७९ सालको वडा दशैंको पहिलो दिन, घटस्थापनाको शुभ साइत बिहान १०:२३ बजे जुरेको छ।
जमरा अर्थात् जौ को जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ। अनि नवरात्रीभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ। जमरा भन्नासाथ केही दिनअघि अंकुरित जाैका तीन चार इन्चजति लामा पहेंला पात भन्ने बुझिन्छ तापनि वास्तवमा दशैंको जमरा उमार्नका लागि जौ लगायत धान, मकै र गहुँका दाना पनि पनि छरिन्छ।
माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ। हिन्दुहरूको महान् पर्व दशैंमा जमरा–संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो।
नवरात्रिको सुरुवातसँगै अब हरेक विहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लाग्नेगर्दछ विहान विहान घरघरमा स्थापित पूजा घरमा जमराको पूजा–पाठ गर्नेगरिन्छ। अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषसँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ।
घटस्थापनाका दिन जमरा राखिने माटोको चतुर्भुज आकारको बीच भागमा माटो या तामाको कलश स्थापना गरेर राखिन्छ र दशमीका दिन त्यसै कलशकाे जलले अभिषेक गरेपछि राताे टीका र आवश्यकता अनुसार काटेर ल्याइएकाे पहेंला जमरा लगाइन्छ। यही जमरा, टीका अनि सद्भावले दशैंकाे रौनक बढाउँछ, प्रत्येक मुहारमा दशैंको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ।
दशैंको जमरा राख्ने चलन ठाउँ अनुसार फरक–फरक हुन्छ। कतै सामूहिकरूपमा दशैं–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ भने कतै व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ। जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस। यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन। घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्री भनेको जमराको नौदिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो। जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषित गर्दछ।
१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैं घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्र्याइन्छ। यसरी भित्र्याइँदैआएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खा दरबारमा छरिने चलन रहिआएको छ।
उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा नभएकाले त्यतिबेला गोर्खाबाट आबुखैरेनीसम्म हरेक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्काले सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो। अनि आबुखैरेनीबाट गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो। यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरअवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो। गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडौँ ल्याइपुर्याउनुपर्ने मान्यता रहेको छ।
घटस्थापनाका दिन छरिएका जौको अङ्कुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त हुन्छ भन्ने मान्यता नेपाली जनमानसमा रहिअाएकाे छ। जसरी छरिएको जमरा विस्तारै अङ्कुरण हुँदैजान्छ। त्यस प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्छन अनि जरा पलाएपछि बिस्तारै जमराका पातहरू माथि–माथि बढ्न थाल्छन।
त्यसैगरी शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरूका बारेमा जानकारी दिएको पनि हुन सक्छ। विरुवाहरू जतिसुकै ठुला, अग्ला र मोटा भए पनि, उनीहरूको हाँगाले आकाशै छुनखोजे तापनि जरा भने माटोमै हुन्छन। अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदैन भन्ने महत्त्व दर्साउँछ।
यो दशैंमा सबैको जय होस। मङ्गल होस। भ्रातृत्व बढोस् अनि शान्ति छाओस। हाम्रो शिरमा जमरा शोभायमान भइरहोस। वडा दशैंको मङ्गलमय शुभकामना सबै सबैलाई।