'प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भइनँ'
उपचारका लागि भन्दै करिब १० दिनयता भारतमा रहेका नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली राजनीतिक भेटवार्तापछि शुक्रबार स्वदेश र्फकदैछन । भारतका नवनिर्वाचित राष्ट्रपति लगायत उच्च नेताहरुसँग भएको भेटवार्ता, मुलुकको राजनीतिक गतिरोध तथा समाधानका उपायबारे कान्तिपुरका लागि नयाँ दिल्ली संवाददाता महेश आचार्यले उनीसंग कुराकानी गरेका छन् ।
भारतीय नेताहरूसँगको भेटमा के कुरा भयो ?
पहिलो कुरा त म यहाँ दुइटा उद्देश्यले आएँ भन्दा हुन्छ । पहिलो, म नियमित उपचारका लागि आएको हुँ । दोस्रो, प्रणव मुखर्जी भर्खरै राष्ट्रपति निर्वाचित हुनुभएको संयोग पनि पर्यो । त्यसैलाई उहाँलाई बधाई तथा शुभकामना दिने प्रयोजन पनि रह्यो । साथसाथै, थुप्रै भारतीय नेताहरूसँग राम्रो सम्बन्ध र चिनजान भएका हिसाबले भेटवार्ताहरू पनि भयो । मैले भेटेका यहाँका मित्रहरूमा कंग्रेस आईका महामन्त्रीहरू जनार्दन द्विवेदी र दिग्विजय सिंह, लोकसभामा विपक्षी दलकी नेतृ सुष्मा स्वाराज, बिजेपीका अन्य नेताहरू यसवन्त सिन्हा, मुरली मनोहर जोशी तथा भगत सिंह कोसियारी र अरू केही विद्वान्, पत्रकार हुनुहुन्छ । तीन/चार दिन औषधिका लागि ग्याप राख्नुपर्ने भएकाले त्यही मौकाको उपयोग गरेर दक्षिण भारतको केरलातिर पनि गएँ ।
स्वाभाविक हो, भारतका नेताहरूमा नेपालको लोकतन्त्र, स्थिरता र स्थायित्व तथा शान्तिको सवालमा चासो छ । भारतले लोकतान्त्रिक आन्दोलनलाई उहिलेदेखि नै समर्थन गर्दै आएको छ । राणाकाल, पञ्चायत वा सक्रिय राजतन्त्रविरोधी आन्दोलन होस् या माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरा, भारतको सकारात्मक दृष्टिकोण रहिआएको छ ।
नेपाल अहिले जटिलतामा फसेका बेला कसरी समस्या सल्टिएला भन्ने सम्बन्धमा भारतीय नेतामा जिज्ञासा हुनु स्वाभाविक हो । दुई मुलुकको पारस्परिक सम्बन्ध र मित्रतालाई कसरी अझ राम्ररी अगाडि बढाउन सकिन्छ भन्ने कुरा हुनु स्वाभाविक हो ।
भारतीय नेताहरूको जिज्ञासामा तपाईंले के जवाफ दिनुभो त ?
नेपालको वर्तमान अवस्था जस्तो छ, त्यस्तै कुरा राखेँ । संविधान जारी नगरी संविधानसभा भंग भयो । संवैधानिक रिक्तता छ । राजनीतिक संकटको स्थिति छ । साथै अहिले कामचलाउ सरकार छ र यो सरकार अर्काे सरकार बनाउन सहयोगी बन्न सकिरहेको पनि छैन । तर हामी राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रयासमा छौं, कामचलाउ सरकारका पक्षलाई पनि हामी साथै लिएर जान चाहन्छौं, त्यस पक्षलाई रूपान्तरण गर्न चाहन्छौं । कमसेकम हामी के भन्न सक्छौं भने, कुनै प्रकारको अतिवाद वा तानाशाही, नेपालमा कायम हुन सक्दैन, शान्तिबाहेक अब हिंसाको सम्भावना छैन, लोकतन्त्रबाहेक तानाशाहीको सम्भावना छैन, यदि असमानता र भेदभावयुक्त समाज कायम राख्छु कसैले भन्छ भने त्यो सम्भव छैन । राष्ट्रिय एकतालाई भड्काउने प्रयासहरू पनि सफल हुँदैनन् भन्ने कुरा मैले राखेँ ।
भारतीय नेताहरूले सार्वजनिक रूपमै नेपालको संकट समाधानका लागि सुझाव दिइरहेको सुनिन्छ, देखिन्छ । त्यस्तो केही सुझाव दिए उनीहरूले तपाईंलाई पनि ?
मैले विभिन्न देशका सरकारसँग कुरा गरेको छु, अहिलेसम्म कसैले पनि मलाई यसो गर्नुस्, उसो गर्नुस् भनेको छैन । न भारतले, न चीनले न पूर्वले न पश्चिमले नै । कसो गरौं, के गरौं भनेर सोध्ने कसैको शैलीका कारण सायद उनीहरूले भने होलान्, त्यो मलाई थाहा छैन । तर नेपालको प्रश्न हाम्रो प्रश्न हो, हामीले समाधान गर्ने हो । कसरी अगाडि बढ्दै हुनुहुन्छ भनेर चासो राख्दा हामीले बताउने हो । उहाँहरूले यसो-यसो गर्नुस् भन्दा होइन यसो गर्छौं भन्ने कुरा हामीले बताउने हो ।
साथै, अहिले एउटा कुरा के हो भने राष्ट्रिय एकतालाई खलबल्याउने, सत्ताप्राप्ति र सत्तामा कायम रहनका लागि राष्ट्रिय एकतालाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार र आपराधिक खालका चिन्तन र गतिविधि भएका छन्, तर ती सफल हुँदैनन् ।
के अहिलेको सत्तारूढ गठबन्धन त्यस्ता गतिविधिमा लाग्यो भन्ने यहाँको भनाइ हो ?
अब त के गठबन्धन भन्नु, सत्तारूढ गिरोहभन्दा हुन्छ । गठबन्धन जस्तो पनि रहेन अब । विघटित संविधानसभाकै कुरा गर्दा पनि उहाँहरूसँग पौने २ सय भोट छन् अथवा संविधानसभा रहँदा भएका पार्टीहरूको संख्या हेर्दा ३३ मध्ये ८ वटा मात्र छन् ।
तर चुनावमा त उहाँहरूले जित्नुभएको, तपाईंहरूले हार्नुभएको सत्य त छ नि ?
इतिहासमा त्यस्तो कहिलेकाहीं हुन्छ । मैले अक्सर भन्ने गर्छु, तीन वर्षको पीपलभन्दा तीन महिनाको तीतेपाती अग्लो हुन्छ । तीतेपाती ठूलो रूख बन्छ भन्ने कसैले ठान्छ भने त्यो एक अवधिको कुरा हो, हलक्क बढ्छ, अनि त्यसपछि समाप्त हुन्छ । पहिले उनीहरूको जुन क्रेज, आतंक थियो, त्यो खतम भयो । भ्रमवशको आकर्षण पनि खतम भइसक्यो । अब त इतिहासमा संविधानसभा थियो, हामी ठूलो पार्टी हुने गथ्र्याैं भन्ने सम्भिmने कुरा मात्र भयो ।
नेपाली राजनीतिमा भारतीय प्रभावको कुरा कसैले अस्वीकार गरेको छैन । तपाईंले चाहिँ नेपालमा भारतीय भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
भारतीय भूमिकामा म विश्वास गर्छु । भारत सदैव लोकतन्त्रको पक्षमा रहिआएको छ । यद्यपि कहिलेकाहीं मिसअन्डरस्ट्यान्डिङ हुनसक्छ, परिस्थिति मूल्यांकनको सन्दर्भमा । त्यस भूमिकालाई कतिपय कोणबाट अलिकति फरक ढंगले बुझ्ने भिन्नता पनि हुन सक्छ । तर म विश्वास गर्छु कि भारतको भूमिका नेपालको शान्ति, अग्रगतिको विरुद्धमा हुँदैन । मैले जति भारतीय नेताहरूसँग भेटघाट गरेँ, उहाँहरूको अभिव्यक्तिमा मैले ती कुरा प्रस्ट रूपमा पाएँ ।
वर्तमान सरकारबारे के रहेछ भारतीय पक्षको बुझाई ?
कसैमा भ्रम हुनु बेग्लै थियो । जस्तो नेपालभित्र भ्रम थियो, डाक्टर आएपछि इलाज हुन्छ भन्ने तर डाक्टर अर्को चीजका परे, बिमारी अर्कै थियो । देशभरभित्र परेको भ्रम कुना कन्धरामा यता पनि परेको हुन सक्तछ तर थियो भने पनि अब त्यसमा स्पष्टता छ ।
राष्ट्रिय सहमति हुनुपर्छ, संविधान बन्नुपर्छ भन्नेजस्ता कुरा प्रायः सबै नेताले गर्छन् । तर ठोस समाधानको उपाय दिन कसैले सकेको छैन । समाधानको मार्ग के हो ?
हामीले पहिलेदेखि स्पष्ट भन्दै आएका छौं । पहिलो कुरा, संविधान बन्न नदिने, संविधानसभा विघटन गर्ने, संसद् पनि रहन नदिने अहिलेको सत्ताधारी गुट हो । एकताबद्ध ढंगबाट जाने प्रयासमा बाधक पनि यही गुट हो । यो गुटले सहमति र सहकार्यको बाटोमा हिँडेको राष्ट्रिय राजनीतिलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्यो । नकारात्मक दिशातर्फ मुलुकलाई धकेल्ने अहिलेको सत्ताधारी गुटबाट नेतृत्व हुन नसक्ने स्पष्ट भइसक्यो । उनीहरूले नै भनेका थिए कि संविधान जारी नभए एक मिनेट पनि कुर्सीमा बस्दिनँ भनेर । आखिर त्यो कुरो जनतालाई धोका दिने झूट नै त रहेछ । त्यही भएर अब यिनीहरूबाहेक अरूको नेतृत्वमा राजनीतिक सहमतिको सरकार बन्नुपर्छ । माओवादीबाहेकको पार्टीले नेतृत्व गर्नु वाञ्छनीय हुन्छ ।
मौका आए एमाले नेतृत्व लिन तयार हो ?
हामीले नेतृत्व लिन कांगे्रसलाई बारम्बर भनिरहेका छौं । कांग्रेस सम्भवतः आन्तरिक समस्याका कारण नेतृत्व दिन सकिरहेको छैन । यदि नेपाली कांग्रेसले दिन सकेन भने के गर्ने ? नेपाली कांग्रेसजस्तै पुरानो इतिहास भएको, उत्तिकै योगदान भएको, दृष्टिकोणमा स्पष्ट भएको, एमाले छ । राष्ट्रिय एकताको पक्षमा रहने र सैद्धान्तिक तथा कार्यक्रमका हिसाबले पनि समृद्धितर्फ मुलुकलाई लैजान सक्ने त्यस्तो पार्टी छ भने त्यसले नेतृत्व गर्न सक्छ भन्नु अनुचित हुने छैन । तर प्रधानमन्त्रीको क्यान्डिडेटका रूपमा मैले भारतमा आफूलाई प्रस्तुत गरेँ भन्ने खबर गलत हुन् । मैले त्यसरी पोज गरेको छैन र जिम्मेवार नेताको हिसाबले त्यस्तो गर्ने मेरो स्वभाव पनि छैन ।
संविधानसभा निर्वाचन फेरि गराउने विकल्प खासगरी माओवादीबाट आइरहेछ । यसमा तपाईंको राय के ?
फेरि संविधानसभाको निर्वाचन गर्छु भन्नु मुलुकलाई गुमराहमा राख्नु हो । अब संसद्को निर्वाचन गर्नुपर्छ । त्यसले ३ वा ६ महिनाका लागि बाँकी काम वा सिफारिस गर्ने काम गर्छ । त्यसैलाई संविधानसभाको स्वरूप पनि दिने व्यवस्था गर्न सकिन्छ र संविधान जारी गर्न अधिकतम ६ महिना समय दिन सकिन्छ । पहिले संविधानसभा मुख्य थियो, संसद् पनि थियो । तर अब संसद् र त्यसैले संविधानसभाको पनि काम गर्ने गरी मिलाउनुपर्छ । यदि तोकिएको मितिभित्र संविधान जारी गर्न नसके संविधानसभाको स्वरूप समाप्त हुन्छ, संसद्मात्रै रहन्छ ।
चुनावमा जाने बाटोमा देखिएका संवैधानिक जटिलता कसरी मिलाउने ?
सहमतिका साथ दलहरूले सिफारिस गरेर राष्ट्रपतिबाट समस्या हटाउन लगाउने ।
संघीयतालाई लिएर एमालेका जनजाति तथा मधेसी नेताहरू छुट्टै विचार समूह बनाएर सक्रिय छन् । अब त्यो मामिलामा कसरी अगाडि बढ्छ एमाले ?
त्यो कुनै विचार समूह होइन । एक्काइसौ शताब्दीमा आएर पनि फाल्तु कुरा गर्न सुहाउँछ । केही कुरा नबुझी ट्याइँट्याइँ गरेर हुन्छ र । आइडोलोजिकल, पोलिटिकल कुरा गर्नुपर्छ । साम्प्रदायिक कुरा गरेर हुन्छ ? सम्प्रदायको, समुदायको उत्थान गरौं, त्यो ठीक छ । तर साम्प्रदायिक कुरा गर्नु सही होइन ।
भनेपछि, पार्टी थप कडा कारबाही गर्ने पक्षमा हो ?
हाम्रो उद्देश्य कारबाही गर्ने होइन । नबुझेकालाई बुझाउने र सच्याउने हो ।
No comments:
Post a Comment