आफूले गरेको सबै राम्रो, प्रतिपक्षीहरुले गरेको कुनै पनि काम नराम्रो भन्ने, विरोध गरिहाल्ने, अदालतसम्म धाइहाल्ने र अदालतले पनि तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भन्ने आदेश दिइहाल्ने संस्कारले गर्दा हाम्रो देश र जनताले सास्ती बेहोर्नुपरिरहेको छ। नेपाली जनताको रगत र बलिदानको बलमा ल्याइएको प्रजातन्त्र नेपाली राजनीतिक दलहरुका लागि मोलतोल र सत्ता लुछाचुंडीको खेल खेल्ने साधन बनेकोछ।
नेपालको पहिलो गणतान्त्रिक सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिको व्यवस्थापनसम्बन्धमा गर्नुभएको निर्णय नेपाली कांग्रेसका लागि स्वीकार्य हुनसकेन। दाहालले दाहाललाई मूलभट्ट तोक्यो भन्दै हल्लाखल्ला मच्चाइयो, कांग्रेसका गगन थापा र सुप्रभा घिमिरेहरू भारतीय मूलभट्टलाई हटाउन पाइदैन भन्दै पशुपतिको मूलद्वारमा सुत्न पुगे। प्रतिपक्षको मागलाई स्वीकार गर्दै दाहाल सरकारले आफ्नो निर्णय फिर्ता लियो, अनि कांग्रेसी नेताहरुले फेरि दक्षिण भारत पुगेर भारतीय मूलभट्ट ल्याएर पशुपतिमा विराजमान गराए।
हिनामिना भैरहेको पशुपतिको भेटीलाई व्यवस्थित गर्ने र त्यसबाट बचत हुने रकमबाट पशुपतिकै विकास निर्माणको काम गर्ने भन्ने मनसायले गरिएको दाहाल सरकारको निर्णय नमाने पनि भारतीय मूलभट्टलाई हटाएर नेपाली मूलभट्ट तोक्ने बाहेक माओवादीपछि सत्ता रोहण गर्ने सौभाग्य पाएको एमाले सरकारले गरेको निर्णय दाहाल सरकारले गरेको निर्णय नै हो।
यहाँनेर स्मरण गर्नलायक कुरा के छ भने, कांग्रेस समर्थनको एमाले सरकारले गरेको यो निर्णय पशुपति क्षेत्रको विकासका लागि हितकर छ भनेर त्यति बेला प्रतिपक्षमा रहेको माओवादीले कुनै विरोध गरेन। यस अर्थमा नेपाल र नेपालीको हित हुनेखालका निर्णयहरु प्रतिपक्षले गरेको भए पनि तीनलाई स्वीकार गर्नुपर्छ भन्ने विवेक नेपाल कम्युनिस्ट पार्टी माओवादीमा भएको देखिन्छ।
माओवादी सरकारले त्यति बेला पशुपतिका मूलभट्टलगायतका पुजारीहरुको तलब तोक्ने, दैनिक भेटी गणना गर्नेलगायतका विषयमा गरेको निर्णय फलदायी भएको देखिएको थियो। दैनिक भेटी गणना गर्ने क्रममा त्यति बेला एकै दिनमा एक लाख एघार हजार रुपियाँसम्म जम्मा भएको थियो।
नेपाल सरकारले गत वर्षको चैत्र महिनामा पशुपति मन्दिरमा दैनिक भक्तजनहरूबाट जम्मा हुने भेटीलाई पारदर्शी बनाउन 'पशुपति मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८' लागू गरेपछि विगत दस महिनामै झन्डै सात करोड रुपियाँ भेटी संकलन भएको देखिएको छ, जसमध्ये भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपियाँ र विशेष पूजाबाट २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपियाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आर्थिक वर्ष २०६७/६८ मा ९६ लाख रुपियाँ र आर्थिक वर्ष २०६८/६९ मा १ करोड १२ लाख रुपियाँ संकलन भएको जानकारी कोषको आर्थिक शाखाले दिएको छ।
नियमावली लागू हुनुभन्दा अघि पशुपतिका मूलभट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो नियमावली लागू भएपछि मूलभट्टको तलब निर्धारण गरिएको छ । मासिक डेढ लाख रुपैयाँ मूलभट्टको तलब तोकिएको छ । मूलभट्टको बस्न, खान, टेलिफोन लगायतका सेवा सुविधासमेत डेढ लाख रुपैयाँ निर्धारण गरिएको छ । अन्य पुजारीको पनि करिब एक लाख रुपैयाँ तलब तोकिएको छ ।
मन्दिरमा हाल दैनिक तीसवटा भन्दा बढी विशेष पूजा हुनेगरेका छन्। विशेष पूजामा भक्तजनले तीस हजारदेखि एक लाख रुपियाँ भेटी चढाउने गरेका छन। नवग्रह, हनुमान, उन्मत्तभैरव र चौसठ्ठी लगायतका मन्दिरबाट हाल भेटी संकलन गरिन्छ। मन्दिरमा चढाएकोबहुमूल्य धातु र अन्य जिन्सीको हिसाबकिताब भने कोषले हालसम्म सार्वजनिक गरेको छैन।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाका अनुसार, जिन्सीमध्येको लत्ताकपडा बिक्रीका लागि राखिन्छ र सुन, चाँदी नियमावलीअनुसार कोषमा राखिन्छ, अन्य चीज बिक्री गरेर पैसा कोषमा जम्मा गरिन्छ।
संकलित रकममध्ये ३३ प्रतिशत सामाजिक क्षेत्रमा, ३३ प्रतिशत अक्षय कोषमा र बाँकी मन्दिर सत्तल जीर्णोद्धारका लागि प्रयोग गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
No comments:
Post a Comment