आज आश्विन शुक्ल
प्रतिपदा, अर्थात् घटस्थापना। आज नेपालीहरुको महान चाड वडा
दशैंको पहिलो दिन घर-घरमा घटस्थापना गरी मनाइंदै छ। अज शक्ति स्वरूपा माता भगवतीका नै स्वरूपमध्ये
पहिलो रूवरूप शैल पुत्रीको पूजा अराधना गरिन्छ।
भगवान श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले
शक्ति-प्राप्तिका लागि शक्तिस्वरूप महामाया भगवतीको आह्वान गर्नेहेतु घडाको
स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा-आराधना गरेको विश्वासमा आज हिन्दु
धर्मावलम्बीहरु आ-आफ्नो पूजा कोठा वा दशैं-घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा
गर्ने र माटाको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा
मकै छरेर जमरा राखी पंचरत्न चढाई शक्तिरूपी दुर्गा भवानीको आराधना गर्ने परम्परा
छ। यसरी उमारिने जमरा विजया दशमीका दिन मान्यजनहरुका हातबाट टीका ग्रहण गर्दा
लगाइन्छ।
दशैँको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो
जमराको प्रयोग गरिन्छ।
परम्परानुसार घटस्थापनाका उपलक्ष्यमा आज हनुमानढोका दरबारमा
रहेको दशैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत
नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ। नवरात्रिका
उपलक्ष्यमा अधिराज्यभरि विहान घर-घरमा र भगवतीका मन्दिरहरुमा चण्डी र भगवतीस्तोत्र
पाठ गर्ने गरिन्छ।
आज घटस्थापनाका लागि शुभ साइत विहान १० बजेर ३५ मिनेटमा जुरेको कुरा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
वंदे
वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम |
वृषारूढां शूलधरां शैलपुत्री
यशस्विनीम् ||
तपाईंका सबै अकाङ्क्षाहरू पूर्ण होउन, भौतिक शरिर स्वस्थ रहोस, मनमा सुखको अनुभूति होस, मनमा सञ्तुष्टिले बास
गरोस, यस पवित्र धर्तीमा इच्छित शान्तिको दियो निरन्तर बलिरहोस् र तपाईंका
हरेक पाइलामा सफलताका पुष्पहरुको अनबरत वृष्टि भैरहोस्! नवदुर्गा भवानीले तपार्इ र
तपार्इका परिवारका सबै सदस्यहरूको रक्षा गरुन।
वडा दशैंका उपलक्ष्यमा यही नै कमल लम्सालको हार्दिक मंगलमय
शुभकामना!!!
No comments:
Post a Comment