काठमाडौं, आश्विन २१ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ तहको सुरक्षा जाँच छल्दै शुक्रबार भारतीय नागरिक विनोदकुमार सोनीले जहाज भित्रै अवैध रूपमा १ करोड २४ लाख रुपैयाँ बराबरका विभिन्न विदेशी मुद्रा पुर्याएका छन् । सुरक्षा निकाय र विमानस्थल कर्मचारीको मिलेमतोमा उनले यस्तो गरेको आशंका छ । काठमाडौंबाट दुबई जान लागेका भारत राजस्थानका ३५ वर्षीय सोनीले कसका लागि रकम लैजान लागेका हुन् भन्ने सुरक्षा निकायले खुलाएको छैन । यति धेरै विदेशी मुद्रा निर्बाध विमानभित्र पुग्नुले विमानस्थलको सुरक्षा व्यवस्थामा लापरबाही प्रस्ट्याएको छ । साउदी अरब जाने जहाज 'उड्नेबित्तिकै खस्ने' सूचना आफूलाई रमेश मिलन केसी भन्दै कसैले दिएपछि उड्न लागेका ६ जहाज जाँच गरिएका थिए । सोही क्रममा फ्लाइट दुबईको उडानबाट दुबई जान लागेका काठमाडौं, कुलेश्वर निवासी सोनीलाई अवैध मुद्रासहित राति १० बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।
विमानस्थलका महाप्रबन्धक रतिश सुमनका अनुसार विमानमा विस्फोट हुने गलत सूचना ७ बजेर ३५ मिनेटमा आएको थियो । त्यसपछि सबै यात्रुको सामान र जीउ खानतलासी लिने क्रममा विदेशी मुद्रा बरामद भएको थियो । 'विमानमा बम राखेको हल्ला आयो । सबै यात्रु र विमान खानतलासी लिन थालेपछि पछिल्लो सिटमा बसेका एक यात्रु शौचालय गए, शंका लागेर शौचालयमा हेर्दा पैसाको पोका भेटियो,' खानतलासीमा संलग्न एक प्रहरीले भने, 'सुरक्षा जाँचका क्रममा कसरी पास भयो शंकास्पद छ । मिलेमतोमा पठाएको हुन सक्छ ।' विमानस्थल प्रहरी स्रोतका अनुसार सोनीको साथबाट कतारी मुद्रा ६८ हजार १ सय ५०, साउदी रियाल १ लाख ७३ हजार १ सय १०, यूएई दिनार १६ हजार ९ सय, ओमनको मुद्रा ५ सय २९, बहराइनको मुद्रा ४ सय ५, युरो ४१ हजार ७ सय ५०, स्विस प|mांक ८ हजार ५ सय ४०, बेलायती पाउन्ड ४ हजार ९ सय १० र कुवेती रियाल १ हजार ७ सय ८७ रुपैयाँ बरामद भएको छ ।
यति धेरै विदेशी मुद्रा जहाजभित्रैबाट बरामद गरिएको घटनाले प्रहरीमा खैलाबैला मच्चिएको छ । विमानस्थल प्रमुख प्रहरी नायब महानिरीक्षक -डीआईजी) नारायण बस्ताकोटीले शनिबार राति अबेरसम्म आफ्नो मोबाइल अफ गरे । जहाज चढ्नुअघि पाँच ठाउँमा सुरक्षा जाँच हुन्छ । सुरक्षाकर्मीले पेटी, जुत्ता, घडी, पर्ससमेत खोल्न लगाएर चेकजाँच गर्ने गर्छन् । हाते ब्यागलाई समेत एक्सरे जाँच गरेर पठाउने गरिएको छ । विमानस्थलका सुरक्षामा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठले घटनाको छानबिन भइरहेको बताए । 'यति धेरै सुरक्षा जाँच छल्न माथिल्लो तहको मिलेमतोबिना सम्भव छैन, यसमा विमानस्थल र एयरलाइन्सका कर्मचारीसमेत मिलेका हुन सक्छन्,' प्रहरीका एक जना उच्च अधिकारीले भने, 'सोनी आफैंले पैसाको पोको लगेको होइन जस्तो देखिन्छ । शरीर खानतलासी नहुने व्यक्तिले उनलाई जहाजभित्र पैसा लगेर दिएको हुन सक्छ ।' विमानस्थलको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई मात्रै दिइएको छ । विमान जाँचका क्रममा शुक्रबार बेलुकी करिब दुई घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको थियो ।
No comments:
Post a Comment