संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सात दिनको समय दिएर दलहरुलाई औपचारिकरुपमा आह्वान गर्नुभएको छ। राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतीय सरकारका लागि आह्वान गर्नुभएको हो । सहमतिका लागि नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बारम्बार बोलाएर राष्ट्रिय सहमतिका लागि आग्रह गर्दैआउनुभएका राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकारका लागि संविधानअनुसार औपचारिक आह्वान गरेको यो पहिलो पटक हो ।
संविधान अनुसार राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गर्ने र त्यसपछि पनि सहमतिको सरकार बन्न नसकेको अवस्थामा बहुमतीय आधारमा सरकार गठनका लागि संसदलाई लेखिपठाउने व्यवस्था छ । तर संसद नभएको अवस्थामा भने राष्ट्रपतिको आह्वानमा पनि राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेमा त्यसपछिको कदम के हुने भन्ने बारेमा भने अन्तरिम संविधानमा कुनै व्यवस्था गरिएको छैन।
गत जेठ १४ गते संविधान सभाको विघटनपछि राष्ट्रपतिले जेठ १६ गते नै एक विज्ञप्ती जारी गरी डा बाबुराम भट्टराईको सरकार कामचलाउ भएको भन्नुभएको थियो। तर सरकार कामचलाउ भएको सात महिना पुग्नलाग्दा पनि प्रतिपक्षीको अवस्थामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेसम्म पनि प्रधानमन्त्रीको उम्मेदवार दिन नसक्दा वैधानिक सरकारको गठन हुनसकेको छैन।
राष्ट्रपति महोदयले यस अघिको बैठकहरुमा सरकारले मंसिर ७ गते संविधान सभाको नयाँ निर्वाचनको घोषणा गरेको भए पनि सहमतिको अभावमा निर्वाचन हुननसकेको भन्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफुले कदम चाल्ने संकेत दिनुभएको थियो।
पटक-पटक प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले यसै मङ्सिर सात गतेका दिन आगामी बैशाख मसान्तसम्ममा संविधान सभाका लागि नयाँ निर्वाचन गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment