राष्ट्रपति महोदयले फेरि पनि आफूलाई राष्ट्रका पति, अर्थात् सम्पूर्ण राष्ट्रका अविभाबक साबित गर्न सक्नुभएन। कसैको बहकाउ वा दबाबमा परेर उहाँले सहमतीय सरकारको गठनका लागि आव्हान गरेजस्तो छ। सम्भवतः तीनै राजनीतिक दलहरुको दबाबमा उहाँ पर्नुभयो, जसले बाबुराम भट्टराईको सरकार कामचलाउ भयो भनेर राष्ट्रपतिले पत्र पठाएको सात महिनासम्म पनि प्रधानमन्त्रीको उम्मेदवार दिन सकेका छैनन्, अनि काहीं नभएको जात्रा हाँडीगाउँमा भनेझै कामचलाउ प्रधानमन्त्रीको राजिनामा मागेर बसिरहेका छन। कामचलाउ प्रधानमन्त्रीले राजिनामा दिने आधार हुँदैन, अनि कामचलाउ प्रधानमन्त्रीले राजिनामा दिए पनि सत्ता रिक्तताको स्थिति आउँछ भन्ने हेक्का यी राजनीतिक दलहरुलाई थाहा छैन। या त यिनीहरु, कमजोरी आफ्नै भए पनि, बाबुराम भट्टराईले राजिनामा नदिएर मुलुकमा असहज स्थिति उत्पन्न भएको हो भन्ने भ्रम सिधासाधा नेपाली जनतामा फैलाउनका लागि यस्तो रणनीतिमा लागेका छन्। बाबुराम भट्टराईले राजिनामा नदिए कुनै सहमति हुनसक्दैन भन्नु यिनीहरुको यस्तो रणनीतिको एउटा पाटो हुनसक्छ।
आफ्नो उद्गम स्थल तेतै भएकाले राष्ट्रपति महोदयले पनि उनीहरुलाई प्रधानमन्त्रीको उम्मेदवार ल्याएर आउनुहोस भन्न नसकेर बरु संविधानमै नभएको अधिकार प्रयोग गरेर सहमतीय सरकारका लागि आह्वान गरिदिएर आफ्नो भ्रात्री पार्टीका नेताहरुलाई खुशी पार्नखोज्नुभएको पो हो कि। यसका अतिरिक्त, उहाँले राजनीतिक सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम सिफारिस गर्ने पत्र प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई छलेर सिधै मुख्य सचिवका नाममा पठाइएको भन्ने खुलासा हुनुले शंका उत्पन्न गर्नु स्वाभाविकै हो। यस्तो निर्णय गर्दा उहाँले प्रधानमन्त्रीको सल्लाह लिनुपर्थ्यो।
राष्ट्रपति रामवरण यादवले शुक्रबार पठाइएको पत्र प्रधानमन्त्री बाबुराम भट्टराई तथा मन्त्रिपरिषद् कार्यालयलाई नभई मुख्यसचिव लीलामणि पौड्याललाई सम्बोधन गरेर पठाइएको खुलासा एकिकृत नेकपा नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा गर्नुभयो। 'राष्ट्रपतिको पत्रमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई बाइपास गरिएको छ, हामीलाई यहीबाट शंका पलाएको छ' सापकोटाले भन्नुभयो।
राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको बताउँदै प्रवक्ता सापकोटाले अन्तरिम संविधानमा अधिकार नै नभएको धारा राष्ट्रपतिले प्रयोग गर्नुभएको बताउनुभयो। राष्ट्रपतिले शनिबार बिहान नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा 'थप कदम चाल्दिनँ' भनेकाले आफूहरु उत्तेजनामा नआएको उहाँले बताउनुभयो।
अब बन्ने सहमतीय सरकारको नेतृत्व फेरि पनि बाबुराम भट्टराईले नै गर्ने दाबी पनि प्रवक्ता सापकोटाले गर्नुभयो।
No comments:
Post a Comment