गलत र सही कुरा छुट्टयाउन नसक्ने राजनीतिज्ञहरुले कसरी देशको व्यवस्था संचालन गर्ने? यस्तो लाग्छ, हाम्रो देशका यी तथाकथित राजनीतिज्ञहरु जसरी भए पनि सत्तामा पुगेर ब्रह्मलूट मचाउने लक्ष लिएर नै राजनीतिमा प्रवेश गरेका हुन्। यो यसकारण कि यिनमा राजनीति के हो? राजनीतिज्ञले के गर्नुपर्छ? राजनीतिज्ञको वास्तविक उद्धेश्य के हुनुपर्छ? भन्ने कुरा थाहै छैन। यिनीहरुलाई थाहा भएको एउटा मात्र कुरा हो: बहुदलवादी भए पनि अर्को दलको अस्तित्वलाई स्वीकार नै नगर्ने। मेरो दल मात्र ठीक, मेरो सिद्धान्त मात्र सही छ भन्ने, अरु सबै गलत, अरु सबै सत्ता मात्र कब्जा गर्ने मनसाय राख्दछन भन्ने प्रचार गर्ने, यसैगरी आफू मात्र पानी माथिको ओभानो बन्ने। अनि जुँगाको लडाई लड्ने। देश जतासुकै जावस, यिनीहरुलाई मतलव छैन।
यिनीहरुको सिद्धान्त हो: मै खाउँ, मै लाउँ, सुख सयल वा मोज मा गरूँ। जनताले दिएको दुइ वर्षमा संविधान बनाउने कार्यभार यिनीहरुले पूरा गर्न चाहेनन, पटक पटक गरेर आफै, आफ्ना मतदातासँग नसोधिकनै, अरु दुइ वर्ष बढाएर नेपाली जनताको रगत पसिना। अझ पनि यिनीहरुलाई नेपाल र नेपाली जनताको चिन्ता छैन, चिन्ता छ त खाली सत्ताको। होइन भने सात दिनमा एउटा मात्र बैठक गर्नसक्नेले राष्ट्रपतिसङ्ग अरु थप समय माग्ने निर्णय गर्नुको साटो आफ्ना सबै नाक लिएर टुकुचामा चोप्न जानुपर्थ्यो यिनीहरुले।
सत्ताकै खेलमा लागेर यिनले संविधान सभा भङ्ग भएको सात महिनासम्म एउटा प्रधानमन्त्रीको उम्मेदबारसम्म उभ्याउन सकेनन। आफ्नो हालत यस्तो छ, बरु उल्टै भन्छन, कामचलाउ राजिनामा दे। कामचलाउले राजिनामा दियो भने देशमा सत्तारिक्तताको स्थिति आउँछ, अनि भाडभैलो मच्चाएर कि पहिलेको राजसत्तालाई ब्युँताउने, कि परायालाई सुन्पिदिने? हामीले सकेनौ भनेर। यस्ता नालायकहरुलाई यिनीहरुको राजनीतिक जीवन शुरु भएकै भूमितिर लखेट्न नसक्ने हामी नेपाली जनतालाई धिक्कार छ!
No comments:
Post a Comment