यमपंचकको पाचौं दिन आज भाइटीका . आज नेपाल र विश्वभरि छरिएर रहेका नेपालीहरु परम्पराअनुसार आ-आफ्ना दिदी-बहिनीका हातबाट दीर्घायु, सुस्वास्थ्य, सुख एवम समृद्धिको कामनाकासाथ टीका लगाइंदै छ।
भाइटीकाको शुभ साइत विहान ११ बजेर २३ मिनेटका जुरेको, र त्यसपछि सूर्यास्त होउन्जेल टीका लगाउन मिल्ने जानकारी पन्चांग निर्णायक समितिका सदस्य-सचिव सूर्यप्रसाद ढुंगेलले दिनुभएको छ।
दिदी-बहिनीहरुले आफ्ना दाजु-भाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरन्जिबिका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिलेइ नसुक्ने तेलको घेरा बनाई नओइलाउने मखमली, सयपत्री र दुबाको माला लगाइदिएर चिरायुको कामना गर्नेगर्दछन।
पौराणिक मान्यताअनुसार, यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपुर्वक पूजाआजाका साथ टीका लगाई दीर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजु-भाइको दिर्घायुको कामना गर्दै दिदी-बहिनीहरुले आफ्ना दाजु-भाइहरुलाई टीका लगाइदिने चलन चल्दैआएको हो।
टीकामा साइतका प्रतीक सात वा पाँच रङ्ग प्रयोग गरिनाका साथै दाजु-भाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने चलन छ। दिदी-बहिनीहरुले टीका लगाइदिएपछि दाजु-भाईहरुले पनि टीका लगाइदिएर आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्दछन।
दिदी-बहिनी नभएका दाजु-भाइहरुले आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेवको मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। उक्त अन्दिर प्रत्येक वर्ष आज भाइटीकाका दिन मात्र सर्व-साधारणका लागि खुला हुन्छ।
आज टीका लगाएर खानपान गरिसकेपछि घर-घरमा गएर श्रीसम्पत्तिको कामना गर्दै देउसी खेलिन्छ। अनि तिहार सम्पन्न हुन्छ।
शुभ भाइटीका सबैलाई मेरातर्फबाट!
No comments:
Post a Comment