चीनमा उच्च सैनिक अधिकारीहरुका लागि राज्यको खर्चमा भोज-भतेर गर्न प्रतिबन्ध लगाइएको जानकारी चिनियाँ संचार माध्यमहरुले दिएका छन। चीनको केन्द्रिय सरकारको गत महिना जारी निर्देशनअनुसार लागू गरिएको यस प्रतिबन्धको उद्देश्य फजुल खर्च घटाउनु र भ्रष्टाचारको प्रतिरोध गर्नु भएको बताइएको छ।
चिनियाँ संचार संस्था- सिन्ह्वाले दिएको जानकारीअनुसार अब उप्रान्त चिनियाँ उच्च पदस्थ अधिकारीहरुका लागि पेय पदार्थसहितका बिलासी भोज-भतेरहरुको आयोजना गरिनेछैन।
यही डिसेम्बर चार तारिखका दिन पारित सोसम्बन्धी नियम राजधानी बेइजिङ्गका गैह्र-सैनिक अधिकारीहरुका सन्दर्भमा पनि लागू हुने बताइएको छ। त्यस नियमअन्तर्गत अन्तर्गत, अब उप्रान्त सैनिक अधिकारीहरुको स्वागतमा ध्वजा-पताका टाँग्न, रातो गलैंचा बिछ्याउन, फूल आदिको व्यवस्था गर्न र उपहार दिन पाइने छैन।
यसका साथसाथे निरीक्षणका क्रममा अन्यत्र जाने अधिकारीहरुले बिलासी होटलमा बस्न पाउने छैनन, र उनीहरुले प्रयोग गर्ने बाहनले अत्यधिक साइरन बजाउन पनि पाउने छैन।
सिन्ह्वा समाचार संस्थाले दिएको अर्को जानकारीअनुसार, बेइजिङ्ग नगरपालिका कार्यालयले आफ्ना गैह्र-सैनिक अधिकारीहरुका लागि यो नियम लागू गराएको छ।
बेइजिङ्गका व्यावसायिक अधिकारीहरुले अब ठूलो भोजको सट्टा सामान्य बुफेको व्यवस्था मात्र गर्नेछन। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment