गृहमन्त्रालयले दैलेख जिल्लामा हिजो भएको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा चार सदसीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमा उक्त समितिलाई सो घटना हुनुको कारण सम्बन्धमा सत्यतथ्य बुझी छानबिन गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा समेत सिफारिससहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न भनिएको छ।
प्रधानमन्त्री बाबुराम भट्टराईसहितका विशिष्ट व्यक्तिहरु दैलेख जिल्लामा आयोजित एनेकपा (माओवादी)को जिल्ला अधिवेशनमा सहभागी हुने सिलसिलामा हिजो दैलेख पुग्दा स्थिति तनावग्रस्त बनेको थियो।
सो कार्यक्रममा विपक्षी दल र एनेकपा (माओवादी)का कार्यकर्ताबीच ढुङ्गा हानाहान हुनुका साथै विपक्षी दलका कार्यकर्ताले कार्यक्रममा समेत ढुङ्गामुढा गरेको र केही समय कार्यक्रम स्थगित समेत हुन गएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा झडप र साँझ एनेकपा (माओवादी)को कार्यालयमा रहेका फर्निचर र कागजातहरु आगजनी गरेकोलगायतका घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ। रासस
No comments:
Post a Comment