Thursday, January 24, 2013

नेपाली भन्ने हाम्रो पहिचान के?

भाषा र संस्कृतिका मानक र संरक्षक बन्नुपर्ने नेपाली संचार माध्यमहरु अहिलेआएर त्यसको अधोगतिका प्रमुख कारण बन्नथालेका छन। आफ्नो दायित्व र जिम्मेवारीलाई बिर्सेर भकाभक विदेशी शब्दहरु भित्र्याउने क्रममा पछिल्लो समयमा नेपाली संचार माध्यमहरुले अंगिकार गरेको शब्द 'रेलिगेसन' बनेको छ। नेपाली शब्दहरु 'झर्नु', 'खस्नु', 'घट्नु'को अर्थ दिँदोरहेछ हाम्रा संचार माध्यमहरुले मन पराएको यस शब्दले। यस सन्दर्भमा तथापि रेडियो नेपालको योगदानको भने कदर गर्ने पर्छ, जसले आफ्नो प्रशारणमा 'घटौती' शब्दको प्रयोग गरेको छ। 
नेपाली एफएमहरुको सुनाइका क्रममा पटक-पटक यो शब्द सुनेपछि मलाई अचम्म लाग्यो यो कस्तो शब्द रहेछ मैले आजसम्म नसुनेको भनेर। तर कुरा त अर्कै रहेछ- सेनाको सट्टा 'आर्मी', प्रहरीको सट्टा 'पुलिस', अस्पतालको सट्टा 'हस्पिटल' आदि आदि भन्न रुचाउने संचारकर्मी साथीहरुको मन परेको अंग्रेजी शब्द पो रहेछ यो। 
यी सबै कुरा सोचिरहेकै बेला मलाई आफूले एभिन्युज टेलिभिजनमा काम गर्दाको समय याद आयो। आफ्नो पहिचानलाई कायम राख्नका लागि नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्छ भनी सोच्ने समूहको मानिस भएका हुनाले एभिन्युज टेलिभिजनमा 'डेस्क एडिटर'को नाताले समाचार-लेखहरु सच्याउने क्रममा मा यस्ता अंग्रेजी शब्दहरुलाई नेपाली शब्दमा रुपान्तरित गर्थें, तर प्रशारणका लागि समाचारको क्रम मिलाउने र अन्तिम पाठको जिम्मेवारी पाएका 'एडिटर इन कमाण्ड' पदका सम्पादक मित्रहरु मैले सेनामा रुपान्तरित गरेको शब्दलाई फेरि 'आर्मी'मै रुपान्तरित गरिदिंदारहेछन। यसैकारण मैले रुपान्तरित गरेको शब्द सेना नभैकन 'आर्मी'क रूपमा हावामा तरंगित हुन्थ्यो। 
तिनीहरुले अंग्रेजीमा लेखेको शब्द मैले नेपालीमा रुपान्तरित गरिदिएको भन्ने गुनासो शायद 'माथि'सम्म पुग्दोरहेछ। त्यसैले एक दिनको बैठकमा त्यस टेलिभिजनका प्रमुख भाष्कर राजकर्णिकारले 'कि तपाईं उनीहरुलाई मनाउनुस, कि आफै सच्चिनुस' भन्ने आसयको कुरा गर्नुभयो। म त्यस टेलिभिजनमा कसैलाई पढाउन त गएको थियिन, ताकि मैले उनीहरुलाई सम्झाउन-बुझाउन परोस। मैले त खालि एकजना इमान्दार संचारकर्मीको भूमिका मात्र निर्बाह गरिरहेको थिएँ। 
मैले त सोचिरहेको थिएँ, अंग्रेजीको सट्टा नेपाली शब्दहरुको उपयोग गर्ने मेरो अभियानमा प्रमुख राजकर्णिकारले समर्थन जनाउनुहोल भन्ने, तर त्यसो भएन। 'त्यसो भए तपाईं कोटलाई के भन्नुहुन्छ त?' भन्ने प्रश्न उहाँले मेरो अगाडि तेर्स्याउनुभयो। यहाँनेर कुरो ल्याइते शब्द 'कोट'को थिएन, कुरो खालि हाम्रो भाषामा चलनचल्तीमा रहेका आम नेपाली श्रोता-दर्शकहरुले बुझ्ने नेपाली शब्दहरु छँदाछँदै विदेशी शब्दहरुको प्रयोग नगरौं भन्ने मात्र हो। 
यसरी हामीले आफ्ना शब्दहरुलाई छोडेर विदेशी शब्दहरुलाई स्वीकार गर्दैगयौं भने भोलि हाम्रो भन्ने के रहला? सरकारी अधिकारी र मन्त्रीहरुले लाउनेपर्ने भनी अनिवार्य गरिएको दौरा-सुरुवालको प्रजातन्त्रको पुनर्बहालीसँगै दाहसंस्कार गरिसकियो, कपर्दीमा हामी सधै हर्छौँ, डन्डीबियो हामी खेल्दैनौं, आफ्नो भन्ने एउटा नेपाली भाषा छ, त्यसमा पनि आफूखुशी जानीजानी विदेशी शब्दहरुको अतिक्रमण बढाउँदैजाने हो भने नेपाली भन्ने हाम्रो पहिचान के त?    
 

No comments:

Post a Comment