हाम्रो देश नेपाललाई कता निर्देशित गरिंदैछ? कसैले जानीजानी व्यक्तिगत र दलगत स्वार्थका लागि यस्ता गतिविधि गरिरहेकछन, त कोही नजानिकनै भेडाको बथानजस्तै गर्दैछन।
देशमा संसद छैन, संविधान छैन, वैधानिक नभई कामचलाउ सरकार सत्तामा छ। यस्तो बेलामा राजनीतिक दूरदर्शिताका साथ नयाँ चुनाब गराएर देशमा जन-प्रतिनिधिहरुको निकाय स्थापित गराउने, नयाँ वैधानिक सरकार बनाउने, बीचैमा रोकिएको संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिने, सुल्झाउन बाँकी रहेका विषयहरुको टुङ्गो लगाउने, देशमा शान्ति सुव्यवस्था कायम गर्नेतिर लाग्नुपर्नेमा हाम्रो देशका राजनीतिक दलहरु खालि कामचलाउ प्रधानमन्त्रीको राजीनामा मात्र मागेर बसिरहेका छन। अनि आम जनतालाई चेतनशील बनाउने जिम्मेवारी बहन गर्नुपर्ने कार्यकर्ताहरु उल्टै दिग्भ्रमित गर्दै सडकमा उर्लिएका छन। आम नागरिकमा चेतना नआउन्जेल प्रजातन्त्र कतै कामको चीज हुनसक्दैन भनेको शायद यही होला!
जीवनभरि राजनीति गरेर बीस-पच्चीस वर्षसम्म सत्ताकै वरिपरि रहेका यी दलहरु र यीनका नेताहरुलाई कामचलाउको अर्थ थाहा नभएको त अवश्य नै होइन। कुरा खालि के मात्र हुनसक्छ भने जनताको संविधान निर्माण गर्नका लागि संविधान सभामा पठाइएका यिनीहरुले चार-चार वर्षसम्म के गरेउ भनेर नेपाली नागरिकले सोधेका प्रश्नको जबाब दिने आँट छैन यिनीहरुमा। त्यसैले यिनीहरु चुनाबमा नगैकन यही हल्ला गरेर बसिराख्ने, अनि हल्लाकै भरमा कामचलाउलाई नै कुर्ची छोड्न बाध्य परेर सरकारमा गएपछि सत्ता र भत्ताको भरमा आफू जाने जनतामाझ। त्यति बेला चल्न सजिलो, बोल्न सजिलो, आशा बाँड्न सजिलो, कनिका छर्न सजिलो। भन्नुको अर्थ लडाईं नेपाल र नेपालीका लागि होइन, सत्ता र कुर्चीका लागि मात्र हो। अरु केही होला त? तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment