एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटोले माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रस्ताव विपक्षी दलहरुले नमान्नु आश्चर्यजनक कुरा भएको विचार व्यक्त गर्नुभएको छ। एमाओवादीको हेटौंडामा जारी अधिवेशनबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चुनाव हुनुपर्छ भन्ने तर कुनै पनि विकल्पमाथि सहमति गर्न नचाहने विपक्षीहरुको चालाले उनीहरु सहमति चाहँदैनन भन्ने प्रष्ट हुन्छ भन्नुभयो।
सहमतिको चुनावी सरकार बनाउने विपक्षीको मागअनुसार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ विकल्प दिनुभएको कुरा पनि उहाँले बताउनुभयो।
एमाओवादी अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय महाधिवेशनका सहभागी-प्रतिनिधिहरुको बन्द सत्रमा छलफलका लागि हिजो प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा सहमतिको नयाँ चुनावी सरकारको नेतृत्व प्रधान न्यायाधीश खिलराज रेग्मीलाई दिने प्रस्ताव गर्नुभएको छ, जसलाई पार्टीले सर्बसम्मतिले अनुमोदन गरेको छ।
तर, नेपाली कांग्रेस र नेकपा एमालेसहित आन्दोलनरत नौ दलको कांग्रेस केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि छलफल गरेपछि 'उक्त प्रस्ताव निर्वाचनमा जाने उद्देश्यबाट नआएको' निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव ल्याएर एमाओवादीले न्यायालयलाई प्रभावित पार्न र यसलाई विवादमा तान्न खोजेको दाबी पनि सो बैठकले गरेको छ।
No comments:
Post a Comment