Tuesday, October 29, 2019

आज तिहारको अन्तिम दिन भाइटीका: दिदी–बहिनीहरूद्वारा दाजु–भाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै

तिहारको अन्तिम दिन आज अधिराज्यभरि परम्पराअनुसार दिदीबहिनीहरूद्वारा  दाजुभाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै छ। यसपालि विहान साढे छ बजेसम्म प्रतिपदा र त्यसपछि व्दीतीया तिथि शुरू हुन्छ। अाज भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटजाँदा जुरेको कुरा नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ। 

तिहारको अन्तिम दिन आज दिदीबिहनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाएर अष्टचिरञ्जीवीकासाथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर नओइलाउने मखमली, सयपत्री र दूबाको माला लगाइदिएर चिरायुको कामना गर्नेगर्दछन। 
पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजाका साथै टीका लगाई दिर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबिहनीले भाइटीका लगाउने परम्परा चल्दैआएको हो। 
टीकामा साइतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाइलाई 'गुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने चलन छ। दिदीबहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइहरूले पनि आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनिहरूको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको काना गर्दछन। 
दिदीबहिनी नहुने दाजुभाइहरूले आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेवको मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। आज टीका लगाएर खानपान गरिसकेपछि घरघरमा गई श्रीसम्पत्तिको कामना गर्दै देउसी खेल्ने चलन छ। 

  तस्विर सौजन्य: गुगल 

Monday, October 28, 2019

आज कार्तिक शुक्ल प्रतिपदा तिथि, अधिराज्यभरि गोबर्द्धन पूजा गरी मनाइँदै


आज कार्तिक शुक्ल प्रतिपदा तिथि, अधिराज्यभरि गोबर्द्धन पूजा गरी मनाइँदै छ। 
आज विहान ९ बजेर ३६ मिनेट र ३० सेकेण्डसम्म अाैंसी नै छ भने त्यसउप्रान्त प्रतिपदा शुरू हुन्छ जतिबेलादेखि परम्पराअनुसार गाेरूकाे पूजा गर्न मिल्छ।

आज कृषि कार्यसँग विशेष रूपमा गाँसिएका गाई, बाच्छा तथा गोरूलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खुवाइन्छ। प्रचलनअनुसार, आज सारा बारी जोतेर अन्न उत्पादनमा सहयोग गर्ने गोरुको निधारमा रातो टीका लगाएर पूजा गर्ने, माला लगाइदिने अनि मीठा-मीठा घाँस तथा अन्य खानेकुरा खानादिइन्छ।

धार्मिक मान्यताअनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोबर्द्धन पर्वतको प्रतीक बनाएर गाई, गोरू, बाच्छा र पर्वतको पूजा गरिन्छ।  

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ। आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ। यसरी गोबर्धन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ ।

गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो। श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन्। आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो। हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा। आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ।

प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने, गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरका लागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ। 

आजको दिनको अर्को महत्वपूर्ण सांस्कृतिक रौनक हो, देउसी! अनि तपाईको के छ त योजना?  जाने हैन त देउसी खेल्न?

बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिक दस्ता जसलाई देउसे भनिन्छ। यीनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउसी हो। 

देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन् जसलार्इ अन्य सदस्यहरूले सामान्यतया सामूहिक रूपमा भाकामा साथ दिने गर्दछन। स्वर अनि छन्दका विषयमा भने भट्याउने ब्यक्ति जानकार हुनु जरुरी छ। केही देउसीका सर्वप्रिय भाकाहरु बाहेक धेरै अन्य पंक्तिहरु परिस्थितीपरक हुन सक्छन। देउसी खेलिसकेपछि अन्त्यमा अाशिस दिइन्छ जसकाे महत्व र मान्यताले साँच्चिकै विशेष अर्थ राख्दछ....

"
यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाए झै मौलाइ रहुन..." जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन्। 

देउसीका माध्यमबाट सामाजिक सद्भाव बढाउनमा याेगदान गर्ने र संकलित रकमले कुनै सामाजिक कार्य गर्ने या समूहमा भाग लगाएर लिने या वनभोज जाने चलन नेपाली समाजमा पुस्तौपुस्तादेखि चल्दैअाएकाे छ। वास्तवमै हामी सबैलाई देउसेले दिएको आशिष लागोस्, अापसी सद्भार बढोस। जय द्याैसी। तस्विर साैजन्यः गुगल


Sunday, October 27, 2019

आज दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिंदै


आज अपरान्ह १२ बजेर ४० मिनेट ४४ सेकेण्डपछि कार्तिक शुल्क औसी शुरू हुन्छ। विहान कुकुरकाे पूजा गरिसकेपछि अपरान्हदेखि गाई तिहार अर्थात अर्थात लक्ष्मी पूजा शुरू हुन्छ। आज फूल-अक्षताले गाईको पूजा गरी टीका लगाएर मीठा-मीठा खानेकुरा खुवाएपछि दिनभरि व्रत बसी बेलुकि दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिन्छ। 

आज घर घरमा झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगार्इ आँगन, पिंढी, कोठाचोटा र छिंडी गोबरले लिपेर सफा र चिल्लो पारिन्छ। चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिन्ह बनाएर आँगनदेखि भण्डार वा ढुकुटीसम्म पुर्याइन्छ, र बेलुकि यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन भन्ने धार्मिक विश्वासका साथ देवी महालक्ष्र्मीको मूर्ति वा चित्र स्थापना गरी सुन, चाँदी, गरगहना, रूपियाँ पैसा आदिलार्इ उनकै प्रतीक मानेर पूजा गरिन्छ।   

आजै विराट बहुमुखी प्रतिभाका धनि साहित्यकार महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११०औ जन्मजयन्ती हाे। महाकवी लक्ष्मीप्रसाद देवकोटा (वि.स. १९६६ २०१६ साल) को जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइन्छ। नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका मुनामदन, शाकुन्तल, आदि साथै काव्य-कृति प्रकाशित छन जसले नेपाली जनमानसमा अमिट स्थान बनाएका छन।
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन" 
भन्नेजस्ता महाकविका उत्कृष्ट साेचले नेपाली समाजलार्इ समानताकाे दिशातिर उन्मुख हुन प्रेरित गरेका छन।  
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु।’ भन्नुभएकाे थियाे। साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीनजना कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एकजना देवकोटा हुन् भन्नुभएकाे थियाे। तीनै महान साहित्यकार देवकाेटाकाे अाज  जन्मदिन परेकाे छ जसकाे हामीले सम्मान मात्र गरेर पुग्दैन।  तस्विर सौजन्य: गुगल 

Saturday, October 26, 2019

तिहार पर्वअन्तर्गत यमपञ्चकको दोश्रो दिन अाज अधिराज्यभरि कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै

आज तिहार पर्वअन्तर्गत यमपञ्चकको दोश्रो दिनकार्तिक कृष्ण चतुर्दशी, अधिराज्यभरि कुकुरको पूजा गरी कुकुरतिहार मनाइँदै छ।
इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रूपमा समेत परिचित कुकुरलाई पूजा गरी फूलको माला र टीका लगाइदिनुका साथै मीठा-मीठा खानेकुरा खान दिइन्छ। कार्तिकमासमहात्म्यमा कालो र रंगीविरंगी दुइथरि कुकुरमृत्युदेवका छोरा र यमराजका सेवकलाई दीपदान गरेमा यमराज खुशी हुने कुरा उल्लेख गरिएको छ।
यमपञ्चकभरि भगवान विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभरि यमराजका साथै यमदूत तथा यमराजका सहायक अनुचरहरुले समेत पूजा र सम्मान पाउने धार्मिक एवं पौराणिक मान्यताअनुसार आज यमराजको द्वारपाल मानिएको कुकुरलाइ पूजा गर्ने र मीठा खानेकुरा खुवाउने गरिन्छ। 
कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। पौराणिक मान्यताअनुसार, मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज विहान तारा नअस्ताउँदै जलमा दीप प्रवाह गर्ने कार्य सम्पन्न गरियो। 
यमपञ्चकमा पहिलो दिन काग, दोश्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा गर्ने र पाँचौं दिन भाइटीका लगाउने चलन छ।
ऋगवेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिअाएको छ ।

महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

अाज अपरान्ह १२ बजेर ४० मिनेट र ४४ सेकेण्डसम्म कुकुर तिहार र त्यसपछि गार्इ तिहार शुरू हुने कुरा पञ्चाङ्गमा उल्लेख छ। 


अाजदेखि यमपन्चक शुरु: कागलाई मिठा मिठा खानेकुरा दिएर पूजा गरिैदै

हिन्दुहरूको दोश्रो ठूलो चाड तिहार अाजदेखि शुरू भयो। पाँच दिनसम्म मनाइने भएकाले यम पञ्चक पनि भनिने यस पर्वअन्तगर्गतको पहिलो दिन अाज काग तिहार हो। धार्मिक मान्यताअनुसार, यमराजको सन्देशवाहकका रूपमा मानिएको कागलाई यमदूतकै रूपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ। 

तिहार पर्वलाई वैदिक कालमा भगवान विष्णुले खुशी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य भोग गर्नपाउने वरदान दिएको र यी पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ। यसो गरेमा धनकी अधिठात्री देवी महालक्ष्मी खुशी भई सबैका घर-घरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुशी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ।  
पौराणिक कथाअनुसार, बलि राजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने  हुँदा आफ्नी बहिनी यमुनकहाँ गई  स्वागत सत्कार पाई  पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषणहरू दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु–भाई  र दिदी–बहिनीले आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजु–भाइको आयु, कीर्ती, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरूप हिन्दुहरूले यमपञ्चकलाई  विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसङ्ग  मनाउने गर्दछन।
शास्त्रअनुसार, अाजै आयुर्वेदका आचार्य धन्वन्तरिको प्रादुर्भाव भएको भनी वैद्यकविराजहरूद्वारा धन्वन्तरिको जन्म–जयन्ती पनि  मनाइन्छ। 
यस उपलक्ष्यमा नयाँ भाँडा किन्ने र त्यसैमा नैवेद्य बनाई  लक्ष्मीलाई  अर्पण गर्ने चलन छ।   

Sunday, October 13, 2019

यी हुन् नेपाल-चीनबीच भएको २० बुँदे समझदारी

आश्विन २६, २०७६कान्तिपुर संवाददात

काठमाडौँ — नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे। प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदाको संक्षिप्त अनुवाद:
१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता
२. सुशासन क्षमता बृद्धिका लागि समझदारी
३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता
४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी
५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी।
६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान।
७. चीन–नेपाल अन्तरदेशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी।
८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति।
९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति।
१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी।
११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी।
१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी।
१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता।
१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल
१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।
१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र।
१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।
१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी।
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान।
२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट।प्रकाशित : आश्विन २६, २०७६ १५:२५

नेपालकाे दुईदिने राजकीय भ्रमण सम्पन्न गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता

आश्विन २६, २०७६कान्तिपुर संवाददात
काठमाडौँ — नेपालकाे दुईदिने राजकीय भ्रमण सम्पन्न गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनुभएकाे छ। शनिबार अपरान्ह काठमाडौं पुग्नुभएका चिनियाँ राष्ट्रपति सी आइतबार दिउँसो २ बजेर ४० मिनेटमा एयर चाइनाको विशेष विमानबाट चीन प्रस्थान गर्नुभयाे। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गर्नुभयाे।

राष्ट्रपति सीकाे स्वागतका लागि राष्ट्रपति भण्डारी नै शनिबार विमानस्थल पुग्नुभएकाे थियाे। विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुले चिनियाँ राष्ट्रपति सीकाे विदाइ गर्नुभयाे।

साे अवसरमा नेपाली सेनाकाे टुकडीले चिनियाँ राष्ट्रपति सीकाे सम्मानमा बिदाई सलामी अर्पण गरेको थियो।


राष्ट्रपति सी चिनियाँ ध्वजाबहाक विमान— एयर चाइनाको विशेष विमानमार्फत भारतको चेन्नाइबाट हिजाे शनिबार काठमाडौं आइपुग्नुभएकाे थियाे।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका सी स्वदेश फर्किनुअघि सोल्टी होटलमा केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर  गर्नुभएकाे कुरा इकान्तिपुरले जनाएकाे छ।

तस्बिरहरु : इलिट जोशीप्रकाशित : आश्विन २६, २०७६ १४:२३

नेपाल–चीन उच्चस्तरीय वार्ता सम्पन्न

आश्विन २६, २०७६, रासस
काठमाडौँः नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको कुरा कान्तिपुर दैनिकले जनाएकाे छ।
तस्बिर : रासस
वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८वटा समझदारीपत्र र दुईवटा लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुबै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदान–प्रदान पनि गरे।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए। 
प्रकाशित : आश्विन २६, २०७६ १३:००

नेपाल तथा चीनबीच द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर

देवेन्द्र भट्टराई

आश्विन २६, २०७६, काठमाडौँः चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ। समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो।

  • काठमाडौं- चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
  • बुटवल-सियान सहरबीच भगिनी सम्बन्ध
  • त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
  • टनेल निर्माण समझदारी।
  • सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी।
  • आपराधिक गतिविधि नियन्त्रणमा समझदारी।
  • आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
  • काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी सम्थादारीलगायत।
प्रकाशित : आश्विन २६, २०७६ ११:२१

कोजाग्रत पूर्णिमाका अवसरमा आज अधिराज्यभरि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै


आज आश्विन शुक्ल पूर्णिमाकोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाका अवसरमा आज अधिराज्यभरि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिंदैछ।

पैराणिक मान्यताअनुसारआजकै दिन महालक्ष्मी बैकुण्ठबाट पृथ्वीमा को जागा छ, अर्थात ब्यूँझिइरहेको छ भनी आउँदा एक किसान दम्पतीका घरमा बाहेक अन्त कतै पनि उज्यालो नदेखेकाले तिनै किसान दम्पतीका घरमा बास बसेको र तिनीहरूबाट प्रसन्न भएर उनिहरूलाई धनधान्यले पूर्ण पारिदिएको विश्वास मानी आज महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने चलन छ।

विजया दशमीका दिनदेखि प्रारम्भ भएको टीका र जमरा लगाउने कार्य परम्परागत रूपमा आजकै दिन पूरा हुन्छ। यसका साथै घटस्थापनाका दिन विधिवत रूपमा राखिएको जमरा, कलशलगायत पूजाका अन्य सम्पूर्ण अवशेषको विसर्जन आजै गरिन्छ।

कोजाग्रत पूर्णिमालाई नेपालीहरूको अर्को महान चाड तिहारको आगमन हुनलागेको संकेतका रूपमा पनि मनाइन्छ।

भोलिदेखि एक महिनासम्म पवित्र नदीको जल वा कुण्डमा कार्तिकस्नान तथा तुलसीपूजा प्रारम्भ हुन्छ। 

यसै पूर्णिमादेखि स्वच्छ र खुला आकाश तथा ग्रहनक्षत्रहरूको सम्मानसूचक आकाशदीप बाल्ने परम्परा पनि छ। आफ्नो घरका धुरी वा कॉशीमा आकाशदीप बालेर धनकी अधिष्ठात्रि देवी महालक्ष्मीलाई आफ्ना घरमा बास गर्न आह्वान गरेको वा निम्ता दिएको पनि मानिन्छ।
  


चिनियाँ रेल र बिआरआई विरोधि कुतत्वहरुसंग लड्न एक जुट हौं !

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार

-भरत दाहाल
चिनियाँ रेलको महत्वलाई विषयान्तर गर्ने दलाल प्रयास, रेलको महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
रक्सौलबाट काठमाण्डूसम्म ईण्डियन रेल ल्याउने घोषणा हुँदा ईण्डो-पश्चिमा दलालहरु गद्गद थिए, कसैको मूखबाट विरोधको स्वर निस्केन। अहिले चिनियाँ रेलले काठमाण्डू जोड्ने विषय तय हुन थालेपछि विभिन्न रुपरंगमा संगठित गरिएका एजेन्टहरु अघोर ‘देशप्रेम’ले बौलाउनै थालेका छन्। कतिपयको हौवा छ ‘ऋणको पासो’मा फस्ने खतरा। कतिपय भिजनरी ठहरिएर बक्बकाउँदैछन् कि नेपालको प्राथमिकता रेल नभएर सडक यातायात हो। यीनीहरुले नेपालीहरुलाई पढाउनु पर्दैन।
हाम्रो भनाई छ: ईण्डो-पश्चिमा अत्याचारलाई अन्त्य गर्नका लागि पहिलो प्राथमिकता चिनियाँ रेल हो। यसको महत्व ईण्डियन घेराबन्दीबाट नेपाललाई मुक्त गर्ने प्रश्नसंग जोडिएको छ। नेपाललाई समुद्रसम्मको बाटो नदिएर ४ पटक नाकाबन्दी लगाएको कुरा किन गर्दैनन् एजेन्टहरुले ? यसको महत्व पश्चिमा साम्राज्यवादीहरुको हस्तक्षेपलाई बन्द गर्नुमा छ। यो सबै काम त्यो बेला मात्र संभव हुन सक्छ, जब बिआरआई मार्फत् नेपाल विश्व समुदायसंग जोडिने आधार बन्दछ। रेलकाे महत्व भू-राजनीतिक संकटसंग जाेडएकाे छ।
बिआरआई मार्फत् नेपाल विश्व समुदायमा प्रवेश पाउन थालेको अवस्थाबाट दलालहरु विक्षिप्त छन्। चिनियाँ रेल ल्याएर मात्र देशको विकास हुँदैन र विकासका लागि आफ्नो उत्पादन गर्नु पर्छ भन्ने कुरा तिनीहरुलाईभन्दा हामीलाई बढी थाहा छ। बिआरआई अवसर हो, चिनियाँ रेलले यसको ढोका खोल्छ। दलालहरुको चिन्ता नेपालमा ईण्डो-पश्चिमा साम्राज्यवादीहरुको नव-औपनिवेशिक अत्याचार अन्त्य हुन लाग्यो भन्ने कुरासंग जोडिएको छ। यीनीहरुको छट्पटाहटले समयको गती रोकिन्न।
ईण्डो-पश्चिमा दलालहरुको छटपटीले जन्मिएको नयाँ अर्थ-राजनीतिक अवधारणा ‘ऋणकाे पासाे’
अमेरीकन, यूरोपीयन र ईण्डियनहरुको शोषण, अत्याचार र ब्यापारघाटाले नेपालको टाट उल्टिंदासम्म ‘ऋणको पासो’ भन्ने पदावलि पहिले कहिल्यै कसैका मुखबाट सुनिएको थिएन। जब नेपाल र चीनका बिचमा trans-himalayan multidimensional connectivity network मा सहमति भयो र यसलाई बिआरआईको अभिन्न अङ्ग बनाएर चिनियाँ रेलमार्गबाट नेपाललाई जोड्ने कुरा आयो, तब यूरो-अमेरीकि स्कूलिङले ‘ऋणको पासो’ भन्ने पदावलीको आविष्कार गर्यो। अमेरीकि साम्राज्यवादीहरुले पहिलो पटक उच्चारण गरेको यो पदावली सिआईए, रअ र यूरोपीयन यूनियनका मानस पुत्रहरुका लागि थेगो बन्न पुग्यो।
नेपालीहरुलाई तर्साउन खटाईएकाहरुले विश्वबैंक, एशियाली विकास बैंक, अमेरीका, यूरोपीयन र ईण्डियनहरुले नेपालमाथि बोकाएको ऋणको भार कति छ भन्ने यथार्थता कहिल्यै खोल्न चाहेनन्। एक जना नेपाली नागरिकका टाउकामा बण्डा परेको झण्डै ४० हजार रुपैयाँको भार ईण्डो-पश्चिमा मुलुक र तिनका बहुराष्ट्रिय कम्पनीहरुले थोपरेको भार हो भन्ने कुरा सँधै लुकाएर बसे। अहिले यी निम्न कोटीका साम्राज्यवादी चाकरहरुका मनमा नेपालको चिन्ता जागृत भएको छ किनकि बिआरआईले यहाँका दलालहरुका पालनपोषणकर्ता साम्राज्यवादीहरुको एकाधिकारवादी अत्याचारलाई नेपालबाट विदा गर्ने आधार बनाउँदैछ।
संकटले कसैलाई छद्म आवरणमा लुकिरहन अनुमति दिंदैन। जसरी घोषित रुपमा कांग्रेस-बाबुरामहरु र अघोषित रुपमा अन्य दलको खोलमा लुकेका अपराधिहरुले नेपाल विश्व सञ्जालमा जोडिने प्रकृयाको विरोधमा उत्रिनु पर्ने र सहमतिका लागि निर्णय भैसकेको सुपुर्दगी सन्धिलाई रेण्डी बेरीको दबाबपूर्ण निर्देशनमा रोक्नु पर्ने अवस्था आयो, त्यसैगरी चिनियाँ राष्ट्रपतीको भ्रमणपछि नेपाली र गैर-नेपाली दलाल कित्ता तथा ईण्डो-पश्चिमा धुरी र सिनो-रसियन धुरीका बिचको ध्रुविकरण तिब्र भएर जानेवाला छ। नेपाललाई नर्कको आहालमा डुबाएर ‘ऋणको पासो’को कथा वाचन गर्ने देश विरोधि कुतत्वहरुसंग लड्न अब नेपालीहरु एक जुट हुनु पर्दछ।