Saturday, October 31, 2020

जमिन्दारकाे टाउकाे काटेर अाएकाहरू सत्तामा छन, तर नेपालकाे पक्षमा सिन्काे भाँच्दैनन। कसरी हुन्छ त्रिपक्षीय सम्झाैता?

 नेपाल, चाइना र रसिया बीच त्रिदेशीय सुरक्षा समझौता गर्नु आजको आवश्यकता हो । के नेकपाको जन_सरकारले त्यो गर्ला ?

१. हिजो मात्र इन्डिया र अमेरिकाबीच सुरक्षा सम्बन्धी सम्झौता भएको छ । इंडिया र अमेरिका बीच “crucial 2+2 dialogue” मार्फत रक्षा सम्झौता (Defense Agreement) सम्पन्न भएको छ । यसरी, हिजोको दिन देखि, इन्डिया र रसियाको सम्बन्ध स्वतः निकै तल्लो स्तरमा झरेको छ । इंडिया असंग्लग्न राष्ट्रबाट स्वतः हटेको छ, कम्तीमा पनि ।
२. यसै गरी सन् दुईहजार पन्ध्रको ठूलो भूकम्प पछि, नेपाल र चिनियाँ पक्ष बीच, सुरक्षा सम्बन्धी सम्झौता हुनु पर्छ भनेर दर्जनौं पटक सार्वजनिक रूपमा लेखेको छु । यसमा साथीहरुले हुनु हुँदैन भन्नु भएको छ । तर म यो कुरामा पनि सहमत छैन अझै ।
३. "नेपालले रसियन शक्तिसँग पनि अब नयाँ उचाईमा सम्बन्ध अगाडि बढाउनु आवश्यक छ" भनेर यही वालमा लेखेको थिए कालापानी विवाद औपचारिक रूपमा बाहिर आए पछि । अर्थात् नेपालमा संविधान संशोधन गरी चुच्चे नक्शा समेटे पछि ।
४. धेरै साथीहरुले, "होइन रसियाले नेपाललाई सहयोग गर्दैन, भारतको पक्षमा उभिन्छ" भन्नु भयो । "इतिहासले त्यही बताउँछ" भन्नु भयो । तर म सहमत भएको थिएन । इतिहास नयाँ लेख्नु पर्छ भनेको थिए ।
५. उता रसिया र चीन वीच नयाँ प्रकारको सम्बन्ध स्थापित हुँदै छ । निकट भविष्यमा उनीहरू बीच नयाँ उचाइ प्राप्त हुने देखिन्छ अवश्य पनि ।
६. स्मरणीय कुरा यो छ कि, चीनले कहिले पनि नेपालको सर्वभौं सत्ता तथा अखण्डतामा औपचारिक वा अनौपचारिक रूपमा धावा बोलेको छैन । बरु बारम्बार भन्दै आएको छ कि, "नेपाल एक स्वतन्त्र राष्ट्र हो, हामी त्यसको सम्मान गर्छौ र नेपालसँग मिलेर अगाडि बढ्न तयार छौं" ।
७. तर इन्डियाले नेपालको स्वतन्त्रता कहिले पनि स्वीकार गरेको छैन । यसरी चिनियाँ र इन्डियनहरुको हेराइ दुई विपरीत ध्रुवमा रहेको छ, नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सवालमा । यी दुवै कुरालाई गहिरो गरी हेरियो भने यसको ठूलो अर्थ
हुन् जान्छ ।
८. अब नेपालले आफ्नो "स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता" लाई अक्षुण राख्न, चीन, रशिया तथा नेपाल गरी त्रिदेशीय सुरक्षा समझौता गर्नु पर्छ । अन्यथा नेपालको भौगोलिक अखण्डता समेत अझै धरापमा पर्ने छ । मेरो मन्द बुद्दी ले यही भन्छ ।
अस्तु ।
ए पोख्रेल ।

Wednesday, October 28, 2020

Kaun banega Crorepati मा नेपाली ठिटो | अमिताभ बच्चनलाइ थर्काउदै प्रस्न ...

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

 कात्तिक ११, २०७७, काठमाडौँ — आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ। 
विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ।


नेपाली हिन्दुहरू आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म१५ दिन वडादसैं पर्व भव्यरूपमा मनाउँछन।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन विहान देवी बिसर्जन गरेपछि नै सुरु हुन्छ। यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन। नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दसैं मनाइँदैछ।

कोरोनाकै कारण यस वर्ष दसैं मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए। सडकमा विगत वर्षका जति सवारी साधन गुडेनन। नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ।

यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ। आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ। कान्तिपुरबाट

Sunday, October 25, 2020

माता सिद्धिदात्रिको पूजा–आराधना गरी महानवमी पर्व आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदै

 

सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर मरैरपि |
सेव्यमाना सदा भूयात्‌ सिद्धिदा सिद्धि दायिनी || 

 आज नवरात्रिको नवौं दिन, अर्थात महानवमी। वडा दशैंको नवौं दिने पर्व आज देवी सिद्धिदात्रिको पूजा–आराधना गरी अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदैछ।  

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाआज गरिन्छ।   

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा तथा सप्तसती पाठ गरी विजया दशमीका दिन विसर्जन गर्ने चलन छर सो कलशको जलले अभिषेक गरि टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ।

आज विहान सबेरैदेखि अधिराज्यभरिका देवी भगवतीका मन्दिर एवम् शक्ति पीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। अहिले काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु पूजा–आराधना गरिरहेका छन। तलेजु मन्दिर वर्षमा एक पटक आजकै दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। 

आज विहानदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि चढाउनुका साथै जंगी निसानको पूजा तथा कोत–पूजा गर्ने काम भैरहेको छ। जै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।     

 


Saturday, October 24, 2020

वडादशैंअन्तर्गत आज शक्तिस्वरुपा दुर्गाको आठौं रूप माता महागौरीको पूजा-आराधना गरी मनाइँदै

नेपालीहरुको महान चाड वडा दशैं अन्तर्गत नवरात्रिको आज आठौं दिन, अर्थात् अष्टमी तिथि। महाष्टमीका रूपमा परिचित यस चाडका दिन आज शक्तिस्वरुपा दुर्गाको आठौं रूप महागौरीको पूजा-आराधना गरी हर्षोल्लासपूर्वक मनाइँदैछ। अाजकाे यस पूजामा उपयोगी खाद्य साम्रगी: अष्टमी तिथिका दिन भगवतीलार्इ नरिवलकाे भोग लगाउनु पर्छ। अनि नैवेद्यका रूपमा त्वयाे नरिवल ब्राह्मणलार्इ दिनुपर्छ। यसकाे परिणामस्वरूप त्यस व्यक्तिका निकत कुनै पनि प्रकारकाे संताप आउन सक्दैन। 

 

आश्विन शुक्ल प्रतिपदाका दिन पूजा-कोठा, दशैँ-घर अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजाआजा गरिन्छ। आज घर-घरमा राखिएको वा कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेवी दुर्गाको हतियारका रूपमा स्थापना गरी पूजा गर्नेगरिन्छ।   

 

आज मध्येरातमा बलिसहित कालरात्रिको पूजा गर्ने चलन छ। मध्यरातको यस पूजाबाट प्रसन्न भएर देवीले शुभ फल दिनुहुन्छ भन्ने विश्वास रहिआएको छ।  

 

महागौरीकाे उपासना गर्ने मंत्र यस प्रकार छ- 
श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दघान्महादेवप्रमोददा॥

 

महाअष्टमीका उपलक्ष्यमा आज विहानैदेखि अधिराज्यभरिका शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड लागेको छ। 

 

धार्मिक ग्रन्थअनुसार भगवान शिवलार्इ पाउनका लागि  गरिएकाे कठोर तपस्याका कारण माता पार्वतीको रंग कालो र शरीर क्षीण हुनपुगेको थियो। तपस्याबाट प्रसन्न भएर जब भगवान शिवलेे माता पार्वतीको शरीर गंगाजलले धुनु भयो तब उहाँको शरीर विद्युत प्रभा समान गौर अर्थात सेताे भयो। यसै कारण मातालार्इ "महागौरी" का नामबाट पूजिन्छ। महागौरीका चार भुजा अर्थात हातहरू छन जसमध्ये दुइवटा अभय मुद्रा र वर मुद्रामा छन अनि अरू दुइवटाले त्रिशूल र डमरू धारण गरेका छन। नव दुर्गाका सबै रूपहरूमध्ये महागौरी दुर्गा माताकाे सबैभन्दा शान्त रूप हो। अष्टमीका दिन कन्या पूजनको चलन पनि छ।

तस्विर सौजन्य: गुगल 

Friday, October 23, 2020

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइँदै

नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइँदै छ।उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।

परम्परानुसार, गोरखा दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।  सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित ६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर ल्याउने चलन छ। 

हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले जमलमा राखिएको सो  फूलपाती हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजा, गुरुज्यूको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाच-गान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन। 

नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ  समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा भित्र्याइञ्छ।

तस्विर सौजन्य: गुगल 

नवरात्रिको सातैं दिन आज देवी कालरात्रीको पूजा-आराधना गरिंदै

या देवी सर्वभू‍तेषु माँ कालरात्रि रूपेण संस्थिता। 

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।  

 

नवरात्रिको साताैं दिन आज अधिराज्यभरि देवी कालरात्रिको पूजा-आराधना गरिदैछ। चारवटा हात भएकी देवी कालरात्री गधामा विराजमान हुनुहुन्छ। उहाँका दाहिने हात अभय र बरदा मुद्रामा छन् भेन देब्रे हातमा खुँडा र फलामको अंकुशे छ। कालरात्रि देवी पार्वतीको सबैभन्दा भयानक रूप भए पनि उहाँ आफ्ना भक्तजनहरुलाई अभय र बरदा मुद्रा प्रदान गर्नुहुन्छ। उहाँको भयानक स्वरूपमा  निहित शुभ र पवित्र मंगलकारी शक्तिका कारण कालरात्रि देवीलाई शुभंकारी देविका रूपमा पनि चिनिन्छ।     

 

माता कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोलागाेला छन। हरेक श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्रअंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात गदामा सवार हुनुहुन्छ।

 

नवरात्रिकाे साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥

 

माता कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।


माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ। 

Thursday, October 22, 2020

नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरी मनाइँदै

 चंद्र हासोज्ज वलकरा शार्दू लवर वाहना।

कात्यायनी शुभं दद्या देवी दानव घातिनि।।

नवरात्रिको छैटौं दिन आज शक्ति-स्वरूपा कात्यायनी  देवीको पूजा-आराधना गरिदै छ। मानव जीवनमा शक्ति-स्वरूपा देवी कात्यायनीको उपस्थिति निम्न बरदानका लागि भएको विश्वास गरिन्छ: 

 

-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान  
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान  
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्यख्यान 
-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप 
-स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान 
सिद्ध महर्षि कात्यानले कठोर तपस्या गरेर माताबाट अफ्नी पुत्रीका रूपमा जन्म लिने वरदान माग्नुभयो। ऋषिको तपस्याबाट प्रसन्न भएकी माता पराम्बाले ऋषिको यो इच्छा पूरा गरिदिनुभयो र ऋषि कात्यानकी पुत्रीका रूपमा जन्म लिनुभयो। यसरी यी देबीको नाम "देवी कात्यायनी" रहनगयो। चार भुजाधारी माता कात्यायनी सिंहमा सवार हुनुहुन्छ। अफ्नो एउता हातमा तरवार र अर्को हातमा अफ्ना प्रिय पुष्प कमल लिनुभएको छ। अन्य दुइवटा हात वरमुद्रा र अभयमुद्रामा छन।

 

शक्ति-स्वरूपा कात्यायनी  देवीले मानव जीवनको सुख-समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल-पत्रहरुले पूजा-आराधना गरिन्छ। यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति-स्वरूपा माताको आह्वान गर्दै पवित्र तन-मनका साथ देवीको मन्त्रोच्चारण गरिन्छ। तस्विर सौजन्य: गुगल 

Wednesday, October 21, 2020

१२ सहकारीमा ९ हजार सदस्यको १२ अर्ब बचत डुब्यो।

 २०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन्, १२ लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ, त्यहाँ जनताको अर्बौँ बचत वर्षौँदेखि डुबेको छ, समस्या समाधानलाई गठित व्यवस्थापन समिति आफैँले थप करोडौँ खर्च गरेको छ, तर एउटा पनि समस्या समाधान भएको छैन

२०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन्, १२ लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ, त्यहाँ जनताको अर्बौँ बचत वर्षौँदेखि डुबेको छ, समस्या समाधानलाई गठित व्यवस्थापन समिति आफैँले थप करोडौँ खर्च गरेको छ, तर एउटा पनि समस्या समाधान भएकाे छैन।

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमा जनताको १२ अर्बभन्दा बढी बचत डुबेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ती संस्थाका ९ हजार सदस्यले आफ्नो बचत फिर्ता गरिदिन निवेदन दिएका छन् । ओरिएन्टल सहकारीबाट सबैभन्दा बढी ७ हजार ६ सय ४८ सदस्यले ११ अर्ब १० करोड ७७ लाख रुपैयाँ फिर्ता गरिदिन माग गरेको सदस्य सचिव केशव पौडेलले जानकारी दिए ।

 सरकारले पहिलोपटक २० कात्तिक ०७४ मा ओरिएन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि १८ असार ०७५ मा ओरिएन्टलसँग सम्बन्धित अन्य ९ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्‍यो । तिनमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ परेका छन् ।

यी संस्थाहरूले सर्वसाधारणको कति बचत हिनामिना गरेका छन् भन्ने विस्तृत विवरण प्राप्त गर्ने क्रममै रहेको समितिले जनाएको छ । १९ फागुन ०७५ मा सोसाइटल बचत तथा ऋण सहकारी संस्था र १२ साउन ०७६ मा लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थालाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको थियो । 

सहकारी ऐन २०७४ को दफा १०४ ले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सकिने व्यवस्था गरेको छ । सहकारीका २५ जना सदस्यले सहकारी विभागका रजिस्ट्रारलाई निवेदन दिएको अवस्थामा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्छ । अहिले यो अधिकार स्थानीय सरकारलाई दिइएको छ ।

तर, सरकारले तीन वर्षअघि गठन गरेको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले आजसम्म एउटा पनि सहकारीको समस्या समाधान गर्न सकेको छैन । समितिले तलब–भत्तालगायतमा करोडौँ रुपैयाँ खर्च गरे पनि उपलब्धि शून्य देखिएको छ । समिति सञ्चालनका लागि गत आव ०७६/७७ मा २ करोड ६१ लाख खर्च भएको समितिका सदस्य सचिव केशव पौडेलले जानकारी दिए ।

उनका अनुसार त्यसअघिका वर्ष भने मन्त्रालय आफैँले समितिको व्यवस्थापन र सञ्चालन गर्दै आएको थियो । त्यस्तै, चालू आवमा समितिको सञ्चालनका लागि सरकारले चालू आर्थिक वर्ष ०७७/७८ का लागि २ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये कर्जा असुली तालिमका लागि ४ लाख, क्षमता अभिवृद्धि कार्यक्रमका लागि ६ लाख, लिलाम बिक्रीसम्बन्धी कार्यका लागि ७ लाख, अनुगमन तथा मूल्यांकनका लागि ८ लाख र अन्य रकम तलब–भत्ता, पदाधिकारीको सुविधा र कार्यालय सञ्चालनका लागि छुट्याइएको छ । २०७४ पुसमा सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन गरी निक्षेपकर्तालाई राहत दिने जिम्मा दिएर समिति गठन गरेको हो ।

०७० मा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार १ सय ३२ सहकारी समस्यामा छन् । जसमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १२ वटालाई समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा गरिएका सहकारीमध्ये कुनैको पनि संस्था तथा सञ्चालकका नाममा कति सम्पत्ति छ भन्ने तथ्यांकसमेत समितिसँग छैन ।

समितिले आन्तरिक रूपमा काम गरिरहेकाले सुस्त देखिएको अध्यक्ष कुमारप्रसाद पोखरेलले बताए । ‘म समितिमा नियुक्त भएपछि कोरोना संक्रमण सुरु भयो । कोरोनाले पनि काम गर्न असहज भयो । अघिल्लो समिति ओरिएन्टल सहकारीमा बढी केन्द्रित भयो । त्यसैले काम नदेखिएको हो,’ उनले भने । कोरोना संक्रमणको अवधिमा पनि लुःनिभा र सोसाइटल सहकारीको अध्ययन भइरहेको उनको भनाइ छ । तिहारपछाडि देखिने गरी केही काम गरिने उनले बताए ।  

समस्याग्रस्त घोषणा भएका सहकारीमध्ये चारवटा सहकारीको बैंक खातामा ३ करोड रहेको समितिले जनाएको छ । ओरिएन्टल कोअपरेटिभको २ करोड ६९ लाख, सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको १९ लाख, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाको ९ लाख, प्रभु बचत तथा ऋण सहकारीको ४ लाख रुपैयाँ रहेको समितिको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, समितिले समस्याग्रस्त सहकारीका ६ थान मोटरसाइकल जफत गरी लिलामी गर्ने प्रक्रियामा राखेको छ । सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, कर्मचारी र ऋणीहरूहरूको नाममा रहेको घरजग्गा र संस्थाले बैंक तथा वित्तीय संस्थामा धितो राखेको घरजग्गा र अपार्टमेन्ट रोक्का गरेको जनाएको छ ।  


 सरकारको बेवास्ता
समस्याग्रस्त सहकारीको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिँदा पीडितहरूले निक्षेप फिर्ता पाएका छैनन् । ओरिएन्टल सहकारीको विषयमा सर्वोच्च अदालतको फैसलाले समितिको काममा अवरोध भएको भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन् । ‘समितिले काम गरेकै छ । तर, अदालतले नगर्नु भनेपछि काम रोकियो,’ उनले भनिन् । 

समितिले ओरिएन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतसँग सम्बन्धित आयुषा डेभलपर्स, कोहिनुर हिल हाउजिङ, ओरिएन्टल डेभलपर्स एन्ड बिल्डर्स र त्यसअन्तर्गत २२ वटा परियोजनाको मूल्यांकन गरी पीडितलाई निक्षेप फर्काउने प्रयास गरेको थियो । समितिले भेगास अपार्टमेन्टसहित ओरिएन्टलको स्वामित्वमा रहेका जग्गा लिलाम समस्या समाधान गर्ने उद्देश्यले २९ कात्तिकमा लिलामी गर्ने सूचना प्रकाशित गर्‍यो ।

तर, १७ मंसिरमा आएको सर्वोच्च अदालतको अन्तरिम आदेशले लिलामी प्रक्रिया रोकियो । ओरिएन्टल समस्यामा पर्दा सहकारी ऐन २०४८ कार्यान्वयनमा थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति भने सहकारी ऐन २०७४ अन्तर्गत गठन भएको हो । त्यसैले सर्वोच्च अदालतले ०७४ सालअघिको घटनालाई अहिलेको ऐनले समेट्न नमिल्ने बताएपछि मन्त्रालयले कारबाही रोकेको थियो । 

समितिले सुधीर बस्नेत एकल सञ्चालक भएको कोहिनुर हिल हाउजिङको नाममा रहेको इमाडोलको ८२ कित्ता जग्गा, ४० रोपनी जग्गामा अधुरो अवस्थामा रहेको भेगास सिटी अपार्टमेन्ट लिलामी बिक्रीबाट रकम संकलन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

दुईतिहाइको सरकार र समाजवादको हल्ला

 हिजोआज नेपालमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुईतिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डंका पिटिएको छ । संविधानमै समाजवादउन्मुख राष्ट्र भन्ने लेख्न कुनै कन्जुस्याइँ गरिएको छैन । लेखेर र भनेर समाजवादउन्मुख हुने वा त्यसका लागि समाजवादी कार्यक्रम बनाई लागू गर्नुपर्ने हो ? गम्भीर बहसको खाँचो छ ।

समाजवाद ल्याउनका लागि शासकको मानसिकता पनि समाजवादी हुनुपर्छ । समाजवादका लागि राज्यका संयन्त्र इमान र नैतिकतामा बाँधिनुपर्छ । तर, राज्यको संयन्त्र पूरै भ्रष्ट र लुट मच्चाउने व्यक्तिवादी अराजक खालको छ । शासक, समाजवादको त कुरै छाडौँ, पुँजीवादी मानसिकताका पनि छैनन् । शासकको चरित्र दलाल पुँजीवादको मतियारझैँ लाग्छ । 

अहिले समाजवादको व्याख्या प्रजातान्त्रिक र कम्युनिस्ट भन्नेहरूका बीच आ–आफ्नै प्रकारको छ । वास्तविक रूपमा आमजनताका लागि समाजवाद प्रजातन्त्रवादीको भन्दा कम्युनिस्टहरूकै उत्तम हुन्छ भन्नेमा कुनै शंका छैन । तर, नेपालमा डेमोक्रेट र लेफ्ट भन्ने दुवै थरीले समाजवादलाई एकै ठाउँमा गोलमटोल पारी जनताका आँखामा छारो हाल्न खोजेको जस्तो देखिन्छ ।

कम्युनिस्टहरूकै बीचमा समाजवादबारे एउटै बुझाइ छैन भने कम्युनिस्ट र प्रजातन्त्रवादीका बीचको खिचडीबाट कसरी र कस्तो समाजवाद आउँछ ? समाजवादी व्यवस्था जनताका लागि उत्तम व्यवस्था हो भन्नेमा कुनै दुईमत राख्न जरुरी छैन । समाजवादको अनिवार्यताप्रति आममानव समुदाय पूर्णतः विश्वस्त हुनुपर्छ ।

नेपालमा मात्रै होइन, दुनियाँमा एकपटक समाजवाद अनिवार्य प्रवेश गर्नेछ भन्नेमा दलाल पुँजीको मातले उन्मत्तबाहेकका ज्ञानी र सचेत मानिस सहमत नै छन् । नेपालमा आज जुन किसिमले समृद्धि र समाजवादको हल्ला गरिएको छ, त्यसरी समाजवादी व्यवस्थामा प्रवेश गर्न सकिँदैन । शासन सत्ताको चरित्र नै समाजवादी छैन । सरकारको चरित्र नै समाजवादी छैन । राज्यको संरचना नै समाजवादी छैन भने यो हल्लाबाहेक केही हुन सक्दैन ।

आजको राजनीतिक परिदृश्यलाई गहिरो गरी नियाल्दा राम्रा संकेत देखिएका छैनन् । पुँजीको सामूहिकीकरण र राष्ट्रियकरणको कुनै गुञ्जायस छैन । व्यक्तिगत पुँजी र निजीकरणले सारा मान्छेको मस्तिष्क दूषित भइसकेको छ । अस्थिर सरकारका कारण देशको समृद्धि र विकास भएन, त्यसैले स्थिर सरकार चाहिन्छ भनियो । स्थिर हुनका लागि दुईतिहाइ बहुमत चाहिन्छ, त्यो मत जनताले दिनुपर्छ भनियो ।

मत आएमा देशको कायापलट हुन्छ भनियो । समाजवादका लागि बहुमत भनियो । तर, आज समृद्धि र समाजवादको प्रचार फगत प्रचारबाजी भएको छ । समाजवाद कसरी आउँछ ? कुनै खाका कोरिएको छैन । विश्वमा वास्तविक समाजवादी मुलुक भनेर कुनैलाई भन्न सकिने अवस्था छैन । सारमा सबै पुँजीवादमा विलिन हुन पुगेका छन् । नेपालमा पनि खासमा संसद्वादी कम्युनिस्टको सरकार छ । आफूलाई कम्युनिस्ट भन्दै व्यक्तिगत सम्पत्ति थुपार्न लालायित हुनेहरूको सरकार छ । 

समग्रमा भन्दा सबै छ, तर समाजवादी सरकार छैन । जनताको सरकार छैन । बेरोजगारहरूको सरकार छैन । बिदेसिएका लाखौँलाख युवाको सरकार छैन । किसान–मजदुरको सरकार छैन । इमानदार र स्वाभिमानीको सरकार छैन । बस्, नेपालमा दुईतिहाइको सरकार छ । दुईतिहाइको सरकार आएपछि समाजवाद आउने हल्ला गरिएको थियो । जबकि दुईतिहाइ र समाजवाद त भिन्न विषय हुन् ।

बेरोजगारको सरकार छैन । बिदेसिएका लाखौँलाख युवाको सरकार छैन । किसान–मजदुरको सरकार छैन । इमानदार र स्वाभिमानीको सरकार छैन । बस्, नेपालमा दुईतिहाइको सरकार छ ।

अहिले नेपालीलाई चाहिएको दुईतिहाइको सरकारभन्दा पनि जनताको सरकार हो, जसले जनताको पक्षमा काम गरोस् । जनताका पीर, मर्का र समस्या बुझी समाधान गरिदेओस् । जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाइन्छ, त्यो देशमा समाजवाद हल्ला मात्रै हुन्छ । देश स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचारका अनेकौँ काण्ड व्याप्त छन् । यस्तोमा कसरी आउँछ समाजवाद ? र, कसले ल्याउँछ समृद्धि ?

शासकले उद्योगधन्दाको विकास एवं सामूहिक पुँजीको विकासमा ध्यान दिन सक्दैनन् भने कसरी आउँछ समाजवाद ? देशका राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेबी र चन्दाको भरमा यश, आरामको जीवन व्यतीत गर्नुलाई कसरी समाजवादी भन्न सकिन्छ ।

देशका शासकले शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सेना–प्रहरी र न्यायालयलाई राजनीतिक भागबन्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्छन्, अनि सरकारी कार्यालयमा विभिन्न दलनिकटका भातृ संगठनका झन्डा झुन्ड्याएर जनताको सेवा होइन ट्रेड  युनियनको नाममा राजनीति गर्न छुट दिन्छन् भने त्यो शासकले के गरी ल्याउँछ समाजवाद ? शासक संसदीय राजनीतिको विकासलाई संस्थागत गर्न तल्लीन हुन्छ भने कुन बाटोबाट आउने हो समाजवाद ?

राज्यको संयन्त्र जबसम्म समाजवादी हुन सक्दैन, समाजवादको अभ्यास गर्न सहज हुनेछैन । राज्य संयन्त्रको काम गर्ने पद्धतिमा आमूल परिवर्तनविना न समृद्धि आउँछ, न समाजवाद नै । समाजवाद कागज र भाषणमा होइन, जनताको जीवनमा चाहिएको छ । सही पद्धतिको विकासविना परिवर्तन असम्भव छ । समाजवादी व्यवस्थामा जाने नै हो भने शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारी र गुणस्तरीय बनाउनुपर्छ । संस्थागत र नीतिगत भ्रष्टाचारको अन्त्य गरिनुपर्छ ।

जनता र युवालाई उत्पादनमा जोड्नुपर्छ। समाजवादी क्रान्तिमार्फत समाजवादी नीति र कार्यक्रम बनाई लागू गर्नुपर्छ। सबैको पहुँच पुग्ने अस्पताल देशका विभिन्न स्थानमा स्थापना गरिनुपर्छ। रेमिट्यान्सलाई उद्योगधन्दा र विकासमा लागाउनुपर्छ। सरकारी निकायमा दलको राजनीतिलाई निस्तेज गरिनुपर्छ। 

जायश्वर जैसी
२०७७ कार्तिक ५ बुधबार ०७:००:००
नयाँ पत्रिका

आज नवरात्रिको पाँचौं दिन— भगवती स्कन्धमताको पूजा-आराधना गरी मनाइंदै

आज नवरात्रिको पाँचौं दिनभगवती स्कन्धमताको पूजा-आराधना गरी मनाइंदै छ। भगवती स्कन्धमाता अरु कोही नभैकन देवी पार्वती नै हुनुहुन्छ। देवादिदेव महादेवकी पत्नी भएका कारण उहाँलाई महेश्वरी र गोरो वर्णकि भएकाले गौरी पनि भनिन्छ। उहाँ भगवान स्कन्ध अर्थात कार्तिकेयकी माता भएकाले उहाँलाई स्कन्धमाता भनिएको हो। भगवती पार्वती आफ्ना पुत्रलाई निकै मायाँ गर्नुहुन्छ र आफ्ना पुत्रका नामबाट चिनिदा आफूलाई आनन्दित भएको अनुभव गर्नुहुन्छ। 

 भगवती स्कन्धमाता कमलको फूलमाथि आशिन हुनुहुन्छ। जब-जब दानबहरुको कुकृत्य (राक्षसत्व) बढ्दैजान्छ, तब स्कन्धमाता सिंहमाथि विराजमान हुनुहुन्छ र राक्षसहरुको बध गर्नुहुन्छ।

 भगवती स्कन्धमाताको पूजा गर्ने भक्तजनहरुले भगवान कार्तिकेयको पूजा गरेको फल पनि प्राप्त गर्दछन। पुराणमा व्याख्या गरिएअनुसार, नवरात्रिको पाँचौ दिन भगवती स्कन्धमाताको पूजा गर्नाले भक्तजनहरुले भौतिक सम्पत्तिको मोहबाट मुक्ति पाउने र मोक्षका लागि ध्यान केन्द्रित गर्ने शक्ति हासिल गर्दछन।  भगवती स्कन्धमाताले आफ्ना भक्तजनहरुको आत्माको शुद्धीकरण पनि गर्नुहुन्छ। सौर्य प्रणालीकी प्रमुख देवी भएका कारण स्कन्धमाताले आफ्ना भक्तजनहरुलाई अपार महत्व र विशिष्ट गुण पनि प्रदान गर्नुहुन्छ।  तस्विर सौजन्य: गुगल 

 बुँदागतरूपमा भन्नुपर्दा:

१ स्कन्दमाताको पूजा नवरात्रिको पाँचौ दिन गरिन्छ।

२ उहाँले आफ्ना पुत्र स्कन्द अर्थात् कार्तिकेयलाई आफ्नो काखमा राख्नुभएको छ। 

३ उहाँका तीनवटा आँखा र चारवटा हात छन। 

४ उहाँका दुइवटा हातमा कमलका फूल छन भने अरु दुइवटा हातले प्रतिरक्षा गर्ने र दिने भन्ने अर्थ जनाउने संकेत गरेका छन। 

५ सिंहमाथि विराजमान हुने स्कंदमता ज्ञानका भण्डार हुनुहुन्छ। 

६ योग-शास्त्रमा उहाँ विशुद्ध चक्र र हामबीजा मन्त्रको प्रतिनिधित्व गर्नुहुन्छ। 

७ स्कन्दमाताले मातृत्व, उर्बरशिलता र मात्री-पुत्र सम्बन्धलाईसर्वोच्चता पनि प्रदान पनि गर्नुहुन्छ। 

Tuesday, October 20, 2020

मन्त्रिपरिषदले यस्ताे नक्कली काम गर्छ भने अरू जालीफटाहाहरूले के गर्लान?

 सांसदहरूले दसैँ भत्ता बुझेको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले ‘ब्याक डेट’मा निर्णय गरेर प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता फिर्ताको निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण दर तीव्र बनिरहेका वेला मन्त्रीले राज्यकोषबाट दसैँ भत्ता लिएका थिए । तर, चौतर्फी आलोचनापछि सरकारले ‘ब्याक डेट’मा निर्णय गर्न बाध्य भएको हो । 

सोमबार अपराह्न ४ बजे डाकिएको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरूको दसैँ भत्ता कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गर्ने तयारी थियो । तर, अचानक मन्त्रिपरिषद् बैठक स्थगितपछि सरकारका प्रवक्ता २६ र २९ असोजको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा पुगे । 

नवनियुक्त सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलनमा २९ असोजकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको दसैँ भत्ता कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराए । जब कि चार दिनअघिको मन्त्रिपरिषद् बैठकमा सरकारले गरेको यति लोकप्रिय र महत्वपूर्ण निर्णयबारे मन्त्रीहरू नै बेखबर थिए । ‘अघिल्लो बैठकमा यो विषय एजेन्डामा थिएन, कहाँबाट निर्णय भयो थाहा भएन ?’ एक मन्त्रीले भने । 

दसैँ भत्ताबारे चौतर्फी आलोचनाबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने अनुमान गरिरहेका उनीहरू सोमबार दिउँसो ३ बजेसम्म बालुवाटारमा हुने नियमित मन्त्रिपरिषद् बैठकमा जाने तयारीमै थिए । तर, प्रधानमन्त्री केपी ओली ‘ब्याक डोर’बाट २९ असोजमै बसेको मन्त्रिपरिषद् बैठकका निर्णयमा थप गरेर सार्वजनिक गर्ने निष्कर्षमा पुगेपछि मन्त्रीहरूलाई एक घन्टाअघि मात्र बैठक स्थगित भएको सूचना पठाइएको थियो । 

यसअघिका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामान्यतया मन्त्रिपरिषद् बैठकको भोलिपल्टै निर्णय सार्वजनिक गर्दै आएका थिए । एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीय पद्धतिमा निर्णय सार्वजनिक हुनुअघि कुनै पनि वेला परिवर्तन हुने र थपिने कुरा सामान्य भएकाले त्यसअनुसार नै सार्वजनिक भएको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।’ 

चौतर्फी आलोचनासँगै सांसदहरूले धमाधम दसैँ भत्ता फिर्ताको निर्णय गर्न थालेपछि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संसदीय दलका उपनेता सुवास नेम्वाङले टेलिफोनबाटै परामर्श गरेका थिए । राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख सचेतक खिमलाल भट्टराई, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङसहितको छलफलपछि संसदीय दलका तर्फबाट सबै सांसदको दसैँ भत्ता एकमुस्ट कोभिड कोषमा जम्मा गर्ने निर्णय भएको भन्दै नेम्वाङले संघीय संसद् सचिवालयलाई औपचारिक पत्र पठाएका थिए । 

प्रधानमन्त्रीसँग निरन्तर संवादमा रहेका उनीनिकट एक नेताले पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय हुन लागेको नयाँ पत्रिकालाई जानकारी दिएका थिए । मन्त्रीहरूले पनि अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक डाकिएकाले त्यहीँबाट आफूहरूको दसैँ खर्च पनि कोषमा जम्मा गर्ने निर्णय हुन लागेको लख काटेका थिए । तर, चौतर्फी दबाबका कारण निर्णय भएको सन्देश जाने देखिएपछि प्रधानमन्त्री ओलीले चलाखी अपनाए– पछिल्लो मन्त्रिपरिषद्बाटै त्यस सम्बन्धमा निर्णय भएको सरकारका तर्फबाट सार्वजनिक गर्ने र मुख्यसचिव शंकरदास बैरागीलाई निर्णय लेख्न लगाउने ।

प्रधानमन्त्री ओलीले ४ बजे डाकिएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित गराएर सरकारका प्रवक्ता गुरुङलाई पत्रकार सम्मेलनमार्फत दसैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने र प्रदेश र स्थानीय सरकारका पदाधिकारीलाई पनि सोहीअनुसार गर्न अनुरोध गर्ने निर्देशन दिएका थिए । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पनि सहभागी थिए ।

‘प्रधानमन्त्री र मन्त्रीहरूले प्राप्त गरेको यस वर्षको दसैँ खर्चबापतको रकम
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराई यस रोगको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने निर्णय भएको छ,’ २९ असोजको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने ।

त्यस्तै, सरकारले प्रदेश र स्थानीय तह पदाधिकारी र निर्वाचित जनप्रतिनिधिलाई समेत मन्त्रिपरिषद् बैठकको निर्णयको मर्मअनुसार यस वर्षको दसैँ खर्च कोरोना कोषमा जम्मा गर्न हार्दिक अनुरोध पनि गरेको छ ।

नवरत्रिको चौथो दिन आज कूष्माण्डा देवीको पूजा-आराधना गरिदै

नवरात्रिको चौथो दिन आज कूष्माण्डा  देवीको पूजा-आराधना गरिदैछ। सिद्धिदात्रीको रूप लिइसकेपछि भगवती पार्वतीले सूर्यको केन्द्रमा रहन शुरु गर्नुभयो। यसो गर्नुको उद्देश्य सूर्यले विश्व-ब्रह्माण्डमा आफ्नो शक्ति प्रवाहित गर्नसकुन भन्ने थियो। 

 त्यति बेलादेखि ती देवीको नाम कूष्माण्डा रहनगएको हो। कूष्माण्डा यस्ती देवी हुनुहुन्छ, जोसङ्ग सूर्यभित्र रहनसक्ने शक्ति र क्षमता छ। कूष्माण्डा देवीको शरिरको तेज र प्रभा सूर्यको जति नै तेजोमय छ। यसरी कूष्माण्डा देवीले सूर्यलाई शक्ति प्रदान गर्नुहुन्छ र दिशानिर्देश गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ।

 

कूष्माण्डा  देवीको प्रार्थना यस मन्त्रद्वारा गरिन्छ:  

या देवी सर्वभू‍तेषु माँ कूष्माण्डा रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। 

 

देवी कूष्माण्डाका आठवटा हात छन, जसका कारण यी देवीलाई अष्टभूजा देवी पनि भनिन्छ। कूष्माण्डा देवीको हातमा रहेको जप-मालामा शिद्धी र निधि प्रदान गर्नसक्ने सम्पूर्ण शक्ति छ भन्ने विश्वास गरिन्छ। तस्विर सौजन्य: गुगल