Friday, October 19, 2012

खाली हुँदैछ राजधानी


काठमाडौं, कार्तिक ३ - राजधानीको मुख्य बजार दसैं किनमेलले भीडभाड भएको छ । उपत्यका बाहिर जाने सवारीमा यात्रुको चाप छ । दिनभर किनमेल गर्दै साँझको सवारीमा उपत्यका छाड्नेहरू बढ्दै गएका छन् । राजधानी विस्तारै सुनसान बन्दै गएको छ ।
राजधानीको नयाँसडक, सुन्धारा, पुतलीसडक, बानेश्वर, पाटनलगायत बजारमा देखिने उपभोक्ताको हात खाली छैन । भृृकुटीमण्डप, खसीबजार भेडा, बोका र च्याङ्ग्राले भरिएको छ । गाउँ जाने पनि राजधानीदेखि खसी/बोका खरिद गरिरहेका छन् । राजधानीसहित मोफसलका सहरहरूमा ठूला व्यापारिक कम्प्लेक्स खुले पनि सामान्य र सस्तो सामान किनबेच हुने क्षेत्रका उपभोक्ताको चहलपहल घटेको छैन ।
किनमेलमा भेटिएकाहरू हतारमा देखिन्छन् । फेसनेबल कपडा र पहिरनका सामानसँगै बजारमा मनोरञ्जनका सामानको खपत पनि बढेको छ । आफन्त र नातेदारलाई उपहार दिन सजिलो र सहज हुने भएकाले मोबाइलको खपत ह्वात्तै बढेको छ । न्युरोड, सुन्धारालगायत आसपासका व्यवसायीका अनुसार दसंै लागेपछि नयाँ डिजाइनको सामानको खोजीमा सबै छन् । 'सबैले नयाँ डिजाइन देखाउनुस् भन्छन्,' भोटाहिटीका व्यापारी सुन्दर खड्काले भने, 'किन्नेभन्दा हेर्ने बढी छन् ।' मध्यमवर्गको रोजाइमा पर्ने पसलहरूमा पनि घुइँचो छ । 'अझै दुई दिन यत्तिकै भीड होला जस्तो छ,' उनले भने, 'अनि विस्तारै चाप घट्छ ।'
शुक्रबारसम्म बाहिरी जिल्ला जाने सर्वसाधारणले किनमेल गरिसक्ने व्यापारीहरूको अनुमान छ । आइतबार फूलपातीदेखि दसैं बिदा सुरु हुन्छ । समाजशास्त्रीहरू भने दसैंमा किनमेलको शैली पनि बदलिंदै गएको बताउँछन् । रेमिटेन्सले धानेको अर्थतन्त्र, विश्वव्यापीकरण लगायतका कारण समाज बदलिएको र किनमेलमा समेत त्यसको प्रभाव परेको उनीहरूको धारणा छ ।
पढाइ, जागिर, व्यापार वा अरू कुनै त्यस्तो कारणले वर्षभरि यहाँ बसेर यतिखेर उनीहरू आफ्नै गाउँमा दुःख/सुख सुनाउन गइरहेका छन् । काठमाडौंमा आएर जति नै प्रगति गरे पनि बाहिरबाट आएकाहरू दसैंमा भने आफ्नै थातथलोमा गएर रम्न रुचाउँछन् । त्यसैले घटस्थापना लागेदेखि नै काठमाडौं छाड्नेहरूको लर्को छ । उडेर र गुडेर जानेहरूको ताँती बसपार्क र विमानस्थल दुवैतिर ठूलो छ । हवाई र सवारी साधनको टिकट पाउन मुस्किल त छँदैछ । सवारी साधनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले दसैंमा मात्र करिब २० लाख मानिस बाहिरिने गरेको बताए । 'राजधानीवासीका साथै दसैंका लागि विदेशबाट आउनेको भीड हुन्छ,' उनले भने । उनका अनुसार यात्रुले औसतमा ७ सय रुपैयाँ टिकटमा खर्च गर्छन् । यस आधारमा टिकटका लागि मात्र करिब ३ अर्ब रुपैयाँको कारोबार हुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख गणेशराज राईका अनुसार थानकोट, जगातीलगायत अन्य नाकाबाट १ हजार ८ सय ८६ सवारी बाहिरिएका छन् । यसमा सरदर ३० राख्दा बुधबारमात्रै करिब ५७ हजार सर्वसाधारण राजधानीबाट बाहिरिएका छन् । उपत्यका नजिकका रुटमा चल्ने माइक्रोबसमा समेत यात्रुको भीड छ । हवाई यात्राको टिकटसमेत पाउन मुस्किल रहेको व्यवसायीले बताएका छन् ।

११ को बढुवा


काठमाडौं, कार्तिक २ - मन्त्रिपरिषद् बैठकले ११ सचिवको बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले ११ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नारायणगोपाल मलगो, आत्माराम पाण्डे, रणबहादुर श्रेष्ठ, उद्धब बास्कोटा, जनार्दन नेपाल, लक्ष्मणकुमार पोखरेल, शान्तबहादुर श्रेष्ठ, शारदाप्रसाद त्रिताल र शान्तराज सुवेदी, सुमनकुमार शर्मा र नरेन्द्र दाहाल पनि सचिवमा बढुवा भएका छन् ।
बैठकले नेपाल टेलिभिजनको महाप्रबन्धकमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । दीपक रौनियार जलविद्युत् विकास तथा लगानी कम्पनीमा महाप्रबन्धकमा नियुक्त भएका छन् । दुवै खुला प्रतिस्पर्धाबाट छानिएका हुन् ।
सचिव हेरफेर पनि
मन्त्रिपरिषद् बैठकले अर्थसचिव कृष्णहरि बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । अर्थसचिवमा बिहीबार नै बढुवा भएका शान्तराज सुवेदीलाई लगिएको छ ।
कृषि सचिव गणेशराज जोसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ भने कृषिमा जयमुकुन्द खनाललाई ल्याइएको छ । शान्ति मन्त्रालयका सचिव ध्रुवराज शर्मालाई राष्ट्रपति कार्यालयमा लगिएको छ भने युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेलाई शान्ति मन्त्रालय लगिएको छ ।
यसैगरी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा दिनशहरि अधिकारी, वातावरणमा केशव भट्टराई, सहरी विकास तथा गरिवी निवारण मन्त्रालयमा रणबहादुर श्रेष्ठ, भूमिसुधारमा शान्तबहादुर श्रेष्ठ, महालेखामा नरेन्द्र दाहाल, उपराष्ट्रपति कार्यालयमा लक्ष्मण पोखरेल, खेलकुद मन्त्रालयमा हरि नेपाल र प्रधानमन्त्री कार्यालयमा नारायणगोपाल मलेगोको सरुवा तथा पदस्थापना गरिएको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले केही प्रहरी अधिकारीको सरुवा गरेको छ ।

Wednesday, October 17, 2012

गिरीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार


काठमाडौ, कार्तिक १ - यस वर्षको 'कान्तिपुर रेडियो पत्रकारिता पुरस्कार' सञ्चारकर्मी प्रवीण गिरीलाई मरणोपरान्त प्रदान गरिएको छ । Prabin-Giriरेडियो कान्तिपुरको वाषिर्कोत्सव अवसरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले स्वर्गीय गिरीकी पत्नी रम्भा गिरीलाई मंगलबार पुरस्कार प्रदान गरेका हुन् । यो नेपाली रेडियो क्षेत्रको सबैभन्दा धेरै राशि ५० हजार रुपैयाँको पुरस्कार हो ।
२०३२ सालमा रेडियो नेपाल प्रवेश गरेका गिरीले ३३ वर्ष रेडियोमा र २३ वर्ष नेपाल टेलिभिजनमा समाचार बाचन गरेका थिए । नेपाल टेलिभिजनमा स्थापनाकालदेखि नै आबद्ध गिरीको विद्युतीय सञ्चारमाध्यममा समाचार बाचन गर्ने बेग्लै शैली थियो । ओजस्वी आवाज भएका गिरी त्यही सुमधुर शैलीका कारण रेडियोमा ३० को दशकदेखि र नेपाल टेलिभिजनमा ४० को दशकपछि २०६५ सम्म श्रोता र दर्शकमाझ लोकप्रिय थिए ।
परिवारजनका अनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनबाट २०६३ सालमा अवकाश पाएपछि पनि उनी विद्युतीय सञ्चारमाध्यमबाट अलग रहन सकेनन् । त्यसपछि उनी निजी टेलिभिजनहरू एभिन्युज र हिमालय टीभीमा करिब ५ वर्ष समाचार सम्पादक रहे । २५ वर्षको उमेरदेखि रेडियोमा काम थालेका गिरी सुरुका दिनमा रेडियो नेपालमा विदेशी समाचार अनुवादको काम गर्थे । तर प्रस्ट र मौलिक स्वर भएकाले अनुवाद छाडी समाचार बाचन थालेका थिए । उनीसँगै काम गरेका सञ्चारकर्मीहरूका अनुसार गिरीमा समाचारलाई जीवन्त बनाएर पढ्ने खुबी थियो । गिरी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका सहप्राध्यापकसमेत थिए । बिहान मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा करिब ३१ वर्ष अध्यापन गरेका उनी दिउँसो रेडियो नेपाल र बेलुकी नेपाल टेलिभिजनमा समाचार बाचन गर्थे । काठमाडौंको क्षेत्रपाटीमा २००७ साल माघ १६ गते जन्मेका उनी कवि पनि थिए । आन्द्राको क्यान्सरबाट पछिल्ला तीन वर्षदेखि बिरामी गिरीको ६२ वर्षको उमेरमा गत साउन १४ गते निधन भएको थियो । उनले पुर्‍याएको योगदानको कदर गर्दै रेडियो कान्तिपुरले मरणोपरान्त पुरस्कृत गरेको हो ।

ओली न्युयोर्कमा अस्पताल भर्ना


न्युयोर्क, कार्तिक १ - एमाले नेता केपी शर्मा ओली सिकिस्त बिरामी भएपछि न्युयोर्कको एक अस्पतालमा भर्ना भएका छन् । स्थानीय सयम अनुसार मंगलबार बिहान ओलीलाई क्वीन्स स्थित फरेस्ट हिल अस्पतालमा भर्ना गरिएको हो ।
KP Oliबुधबार कोलम्बो जाने तालिका रहेका ओलीलाई केही दिन अस्पतालमा राखिने र आवश्यक परे थप उपचारका लागि नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा लैजाने तयारी भएको छ । मेक्सिकोमा आयोजना भएको ल्याटिन र एसियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा भाग लिएर सोमबार राति न्युयोर्क फर्किएका ओलीलाई लागेको उच्च ज्वरो नघटेपछि अस्पतालमा लगिएको थियो ।
उनको रगतमा हेमोग्लोबिनको कमी भएको जनाईएको छ । एमाले निकट प्रवासी संगठन युएनडीएफका अध्यक्ष सीता खरेलले  दिएको जानकारी अनुसार बिगतमा मृगौला प्रत्यारोपण गरिएका ओलीको अवस्था शुरुमा चिन्ताजनक रहेपनि अहिले केहि सुधार आएको संलग्न चिकित्सकहरुले बताएका छन् । खरेलले भनिन 'मृगौला प्रत्यारोपण गरिएका नेताज्यूको ज्वरो तीन दिन देखि नघटेपछि चिकित्सकहरुले स्थिति सामान्य नरहेको बताए ।' मंगलबार बिहान उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अबुदाबी हुदै बिहीबार न्युयोर्क आउनेक्रममै ओली  सामान्य बिरामी भएका थिए ।

Friday, October 12, 2012

एसीसी ट्रफी एलिटः खेल बराबरीमा: नेपाल र युएई दुवै च्याम्पियन एक महिनाको अन्तरालमा दोस्रो ठूलो अन्तर्राष्ट्रिय ट्रफि



काठमाडौं, आश्विन २६ - नेपाल र यूएईबीचको रोमान्चक फाइनल खेल बराबरीमा सकिएपछि एसीसी ट्रफी एलिट क्रिकेटको उपाधि दुवै टिमले जितेका छन् ।
accनेपालले एक महिनाको अन्तरालमा दोस्रो ठूलो अन्तर्राष्ट्रिय ट्रफि जितेको छ । नेपालले यहि नोभेम्बरमा मलेसियामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको थियो ।  
सारजहा क्रिकेट मैदानमा २ सय ४२ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक थियो । यूएईका बलर सिल्भाले उत्कृष्ट बलिङ गरेपछि नेपालले पहिलो तीन बलमा मात्र २ रन जोड्यो । त्यसपछि अनुभवी ब्याट्सम्यान शक्ति गौचनले एक छक्का र दुई रन दिएपछि नेपाललाई अन्तिम बलमा दुई रनको आवश्यक थियो । नेपालले एक रन पूरा गर्दै ९ विकेटको क्षतिमा ४ सय ४१ रन बनायो । दोस्रो रन लिने क्रममा शक्ति गौचन १४ रनमा रनआउट भए ।
नेपालका लागि शरद भेषावकरले नटआउट ३६ रन बनाए ।
प्रारम्भिक ब्याट्सम्यानद्वय सुवास खकुरेलले ५५ र अनिल मण्डलले ४४ रन जोडे । ज्ञानेन्द्र मल्लले ३२ र कप्तान पारस खड्काले ३१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टिमले ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । उसका सकिब अलिले नटआउट १ सय १ को सान्दार इनिङ्स खेले ।
नेपाल तेस्रो पटक एसीसी ट्रफी एलिट क्रिकेटको फाइनलमा पुगे पनि उपाधि जितेको थिएन । युएईले चार पटक ट्रफी उचालिसकेको छ ।
सन् २००२ मा सिंगापुरमा भएको संस्करणमा पहिलोपटक फाइनल पुगेको नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली कप्तान पारस खड्का प्लेयर अफ दी सिरिज भए ।

Thursday, October 11, 2012

लोडसेडिङ घटाउन महत्त्वाकांक्षी योजना


काठमाडौ, आश्विन २५ - सरकारले मुलुकमा बढ्दो लोडसेडिङ घटाउन कात्तिक १५ देखि साताको दुई दिन बिदा दिने र भारतबाट माघ मसान्तसम्म २ सय मेगावाट विद्युत् आयात गर्नेलगायत महत्त्वांकाक्षी योजना कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले आगामी हिउँदमा लोडसेडिङ १० घन्टामा सीमित गर्न तथा दीर्घकालीन रूपमा लोडसेडिङ घटाउँदै शून्यमा झार्ने ऊर्जा मन्त्रालयद्वारा प्रस्तावित कार्यतालिकासहितको 'लोडसेडिङ न्यूनीकरण कार्ययोजना २०६९' कार्यान्वयनको निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले विद्युत् प्राधिकरणलाई हुने घाटा र महत्त्वाकांक्षी योजना कार्यान्वयन गर्न आवश्यक रकम उपलब्ध गराएन भने सरकारको यो तत्कालीन तथा दीर्घकालीन कार्ययोजना व्यवहारमा उतार्न असम्भव हुने सरकारी अधिकारीहरू बताउँछन् ।
सरकारले विद्युत्को माग घटाई लोडसेडिङ र इन्धनको खपत घटाउन लोडसेडिङ अन्त्य नहुन्जेलसम्मका लागि स्वास्थ्य मन्त्रालय र अस्पतालमा बाहेक सबै सरकारी कार्यालयमा कात्तिक १५ देखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको ऊर्जा मन्त्रालयका अधिकारीले जनाए ।
ती अधिकारीका अनुसार कात्तिक १५ देखि साताको पाँच दिन सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिनेछ । असोज मसान्तदेखि सरकारी कार्यालयहरूमा हिटर र एअर कन्डिसनलगायत विद्युतीय उपकरणमा प्रतिबन्ध लगाइएको छ ।
ऊर्जा र उद्योग मन्त्रालयले लोडसेडिङ घटाउन विद्युत्का ठूला ग्राहक औद्योगिक क्षेत्र, व्यापारिक प्रतिष्ठानहरूलाई सार्वजनिक बिदाको दिन फरक गर्न लगाउने निर्णयसमेत सरकारले गरेको छ ।
कार्ययोजनाअनुसार सरकारले लोडसेडिङ घटाउन भारतबाट माघ मसान्तदेखि २ सय मेगावाट बिजुली आयात गर्ने र विद्युत् प्राधिकरणका विराटनगर र हेटौंडामा रहेका थर्मल प्लान्ट (तापीय विद्युत् केन्द्र) बाट दैनिक १५ घन्टा ४० मेगावाटका दरले बिजुली उत्पादन गर्ने भएको छ ।
विराटनगरको ४९ मेगावाट र हेटौंडाको १४ मेगावाट क्षमताका थर्मल प्लान्ट सञ्चालन गर्दा र भारतबाट बिजुली आयात गर्दा विद्युत् प्राधिकरणलाई घाटा हुने ५ अर्ब ४० करोड रुपैयाँ अर्थ मन्त्रालयले उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको ऊर्जाका अधिकारीले जनाए । दुई थर्मल प्लान्टबाट आगामी मंसिर १५ भित्र दैनिक १५ घन्टाका दरले ४० मेगावाट विद्युत् उत्पादन गर्ने योजना प्राधिकरणको छ । प्राधिकरणलाई तापीय विद्युत् केन्द्र सञ्चालन गर्दा २ अर्ब ८० करोड तथा भारतबाट विद्युत् आयात गर्दा २ अर्ब ६० करोड रुपैयाँ घाटा हुनेछ ।
विराटनगर-जोगवनीस्थित प्रसारण लाइनबाट १ सय ५० तथा कटैयादेखि भारतको कुसाहासम्म १३२ केभीको प्रसारण लाइन निर्माण माघ मसान्तभित्र गरी त्यहाँबाट थप ५० मेगावाटसमेत भारतबाट २ सय मेगावाट बिजुली आयात गर्ने कार्ययोजनामा उल्लेख छ ।
भारतीय कम्पनी पावर गि्रड कर्पोरेसन इन्डियासित वार्ता गरी कटैयादेखि कुसाहासम्म प्रसारण लाइन निर्माण गर्न जिम्मा दिने र त्यसका लागि जग्गा अधिग्रहण कार्य छोटो प्रक्रियाबाट गर्ने निर्णय सरकारको छ । उक्त प्रसारण लाइन निर्माणका लागि असोज मसान्तभित्र अर्थ मन्त्रालयले प्राधिकरणलाई ३२ करोड रुपैयाँ उपलब्ध गराउने कार्ययोजनामा छ ।
विद्युत् चोरी गरी अनधिकृत प्रयोग गर्नेहरूलाई कारबाही गरी चुहावट तीन प्रतिशत घटाउने कार्ययोजनामा उल्लेख छ । हाल विद्युत् चुहावट २७ प्रतिशत छ । कार्ययोजनाअनुसार प्राधिकरणले विद्युत् चोरी हुने क्षेत्रमा बढी लोडसेडिङ गर्नेछ । बत्ती बाल्दा हुने विद्युत्को खपत कम गर्न लाइट एमिटिड डायोड चिम प्रयोग गर्न सर्वसाधारणसहित सबै ग्राहकलाई प्रोत्साहित गर्ने र त्यस्ता चिममा अर्थ मन्त्रालयले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट दिने निर्णय गरेको
छ । हाल बढी मात्रामा प्रयोग हुने चिमभन्दा लाइट एमिटिड डायोड चिमले ९० प्रतिशतसम्म कम विद्युत् खपत गरी उत्तिकै उज्यालो दिन्छ । त्यस्तो चिम महँगो हुने भएकाले कर छुट दिने निर्णय गरिएको हो ।
सरकारले निजी क्षेत्रलाई डिजेल, कोइला तथा फर्नेस आयलबाट सञ्चालन हुने तापीय प्लान्टबाट बिजुली उत्पादन गर्न दिने र तिनबाट उत्पादित विद्युत् प्राधिकरणले खरिद गर्ने निर्णयसमेत गरेको छ । निजी क्षेत्रको तापीय विद्युत् कम्पनीबाट ४ महिनाभित्र ३० मेगावाट र एक वर्षभित्र २ सय मेगावाट विद्युत् खरिद गर्ने कार्ययोजनामा उल्लेख छ । सार्वजनिक खरिद ऐनको छोटो प्रक्रियाबाट खरिद गर्ने प्रावधानबमोजिम निजी क्षेत्रका तापीय विद्युत् उत्पादन केन्द्रबाट उत्पादित बिजुली खरिद गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
वाणिज्य, ऊर्जा र वातावरण मन्त्रालयले त्यसका लागि इन्धन आपूर्ति र वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया सरलीकृत गर्ने कार्ययोजनामा छ । डिजेल प्लान्ट छोटो प्रक्रियाबाट खरिद गर्ने र तापीय विद्युत् केन्द्र स्थापना गर्न प्राधिकरणले निजी क्षेत्रलाई जग्गा उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ । तापीय प्लान्टबाट विद्युत् उत्पादन गर्न निजी क्षेत्रलाई अनुमति दिने, सरकारले स्थापना गरी लिजमा निजी क्षेत्रलाई सञ्चालन गर्न दिने, प्राधिकरण आफैंले स्थापना गरी सञ्चालन गर्ने र निजी क्षेत्रसित साझेदारीमा निर्माण गरी विद्युत् उत्पादन गर्ने कार्ययोजनामा उल्लेख छ ।
तापीय प्रविधिबाट उत्पादित बिजुली प्रतियुनिट ३५ रुपैयाँ पर्छ । चरम घाटामा रहेको प्राधिकरणलाई त्यस्तो बिजुली खरिद गर्दा थप घाटा हुनेछ । तर, कार्ययोजनामा प्राधिकरणलाई हुने घाटा सरकारले बेहोर्ने उल्लेख छ । सरकारले यसअघि पनि निजी क्षेत्रलाई तापीय विद्युत् कम्पनी सञ्चालन गर्न दिई तिनबाट उत्पादित बिजुली खरिद गर्ने प्रस्ताव अघि बढाउँदा संसदीय समिति र विभिन्न क्षेत्रबाट तीव्र विरोध भएपछि स्थगित भएको थियो ।
सरकारले विद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीको निर्माणमा हड्ताल या बाधा उत्पन्न गर्न नपाउने गरी आयोजनाको तोकिएको निश्चित क्षेत्रमा आवश्यक सेवा सञ्चालन ऐन लागू गरी बाधा विरोधमा प्रतिबन्ध लगाउनेछ । निर्माणाधीन प्रसारण लाइनहरू खिम्ती-ढल्केबर तथा थानकोट -चापागाउँ) भक्तपुर खण्डको निर्माण कार्य मसान्तभित्र सम्पन्न गर्ने कार्ययोजना छ । यी प्रसारण लाइनको निर्माण कार्य माओवादीको विरोधले अवरुद्ध भएका छन् ।
सरकारले चिनी कारखानाको बगासबाट उत्पादित बिजुली प्राधिकरणले खरिद गर्ने निर्णयसमेत गरेको छ । प्राधिकरणले चिनी कारखानासित आवश्यक विद्युत् खरिद सम्झौता गर्ने र त्यसका लागि कात्तिक मसान्तभित्र प्रसारण लाइन निर्माण गर्नेसमेत कार्ययोजनामा उल्लेख छ । डिजेल वा फर्नेस आयलबाट विद्युत् उत्पादन गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणले एक महिनाभित्र प्रस्ताव माग गर्ने र विद्युत् खरिद सम्झौता गर्ने कार्ययोजनामा छ ।
सरकारले बढी बिजुली खपत गर्ने सरकारी कार्यालयहरू सिंहदबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, नेपाली सेनाको मुख्यालय, दुवै प्रहरीका प्रधान कार्यालय, ठूला अस्पतालहरूमा आगामी मंसिर मसान्तभित्र सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् आपूर्ति गर्ने भएको छ । त्यसका लागि प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक महिनाभित्र निजी क्षेत्रसित प्रस्ताव माग गरी छोटो प्रक्रियाबाट निर्णय गर्ने कार्ययोजनामा छ ।
विद्युत्गृहहरूको नजिकैको क्षेत्रमा लोडसेडिङलाई कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई उत्तरदायी बनाउने निर्णयसमेत सरकारले गरेको छ । विद्युत्गृह नजिकैको क्षेत्रमा स्थानीयवासीको दबाबमा कहिल्यै लोडसेडिङ नहुने गरेका कारण देशभरका अन्य क्षेत्रमा बढी लोडसेडिङ हुने गरेको छ ।
सरकारले लोडसेडिङ शून्यमा झार्ने दीर्घकालीन कार्यक्रमअन्तर्गत ८ वर्षभित्र ६ ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय गरेको छ । स्वदेशी तथा विदेशी निजी क्षेत्रसितको साझेदारीमा प्राधिकरणले ७ सय ५० मेगावाटको पश्चिम सेती, ३ सय ५० मेगावाटको दूधकोसी, ३ सय मेगावाटको उत्तरगंगा, १ सय ८० मेगावाटको आँधी खोला आयोजना तथा सरकार आफैंले विकास समिति गठन गरी ६ सय मेगावाटको बूढीगण्डकी र ४ सय मेगावाटको नलसिंग गाड जलाशययुक्त आयोजना आठ वर्षभित्र निर्माण गर्ने कार्ययोजनामा छ ।

Tuesday, October 9, 2012

मापसे गर्ने चालकलाई सार्वजनिक मुद्दा


काठमाडौं, आश्विन २३ - मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७ चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । दसैंमा राजधानीबाट बाहिर जाने भाडाका सवारी सुरक्षित गन्तव्यमा पुर्‍याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही सुरु गरेको हो ।

ट्राफिकले गत साताबाट राजधानी बाहिरिने नाकामा थालेको अभियानका क्रममा पश्चिमाञ्चल यातायातको सवारी बढी कारबाहीमा परेका छन् । चेकिङका क्रममा ट्राफिकले पश्चिमाञ्चल यातायातको लु१ख ५८७९ नम्बरको बिहीबार नयाँ बसपार्कबाट भैरहवा जान लागेको बस कलंकीको बाफलमा चेकिङका क्रममा चालक ताराप्रसाद आचार्य र ४२ जना यात्री बोकेर तौलिहवा जान लागेको लु१ख ५२३७ नम्बरको भाडा बसका चालक रूपन्देही मधौलीय १ का राजेश पौडेलले मदिरा सेवन गरेको भेटेपछि कारबाही गरेको ट्राफिकले जनायो ।
काठमाडौंबाट झापाको बुधबारे जान लागेको परेली यातायातको ना४ख ५४८० नम्बरको रात्रिबसका चालक सतासीधामका ३९ वषर्ीय रेवतबहादुर कुँवर र सोमबार पाँच बजे कलंकी खसीबजारनजिक ट्राफिक प्रहरी चेकिङमा काठमाडौंबाट झापाको शनिश्चरे जान लागेको साकिरा यातायातको ना४ख ३८६० नम्बरको रात्रिबसका चालक बद्रीप्रसाद सुवेदीलाई पनि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको ट्राफिकले बतायो ।
बनेपाबाट सर्लाहीको मलंगवा जान लागेको बा३ख ८४६ नम्बरको बसका चालक दिनेश खत्री, धनुषा रघुनाथपुर जाँदै गरेको ना३ख २२५८ नम्बरको यात्रुवाहक बसका चालक तनहुँ चिसापानी-४ का ४४ वर्षीय खुसीराम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिकले कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
उपत्यका चल्ने माइक्रोबसका चालकले पनि दिउँसै मापसे गरेर सवारी चलाउने गरेको भेटिएको छ । बा१ज ८८३४ नम्बरको बालाजु चल्ने माइक्रोका चालक बारा रतनपुरका २५ वषर्ीय रमेश तामाङलाई नियन्त्रणमा लिइएको छ ।
मापसे कारबाहीमा परेपछि अर्को चालकलाई बोलाएर बसलाई निश्चित गन्तव्यमा पठाउने गरेको महाशाखा प्रमुख डीआईजी गणेशराज राईले बताए । नियन्त्रणमा लिएको चालकको स्वास्थ्य परीक्षण गराई मुद्दा चलाउन प्रहरीलाई जिम्मा लगाउने गरिएको उनले बताए । यात्रुहरूको ज्यान उच्च जोखिममा पारेर लापरबाही ढंगबाट सवारी चलाउने गरेकाले सार्वजनिक मुद्दा चलाउने गरेको राईले बताए । सार्वजनिक मुद्दामा २८ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरको चोक-चोकमा सीमित रहेको मापसे चेकिङ रात्रिकालीन यात्रुवाहक बसलाई लक्षित गरी सुरु गरिएको उनले बताए । ट्राफिकले पूर्व-पश्चिम जाने सवारी थानकोटमा, बनेपा जाने सल्लाघारीमा, हेटौंडातर्फ जाने फर्पिङमा, ककनीतर्फ जाने सवारी मुड्खु नाकामा चेकिङ गर्ने गरेको छ ।

Monday, October 8, 2012

बोर्डमा मात्रै 'रामपुर अस्पताल'


काठमाडौ, आश्विन २२ - फ्लाई दुबई एयरका यात्रु भारतीय नागरिक विनोदकुमार सोनीबाट बरामद भएका विभिन्न मुलुकका एक करोडभन्दा बढी रकम प्रहरीले नै सुरक्षा जाँच पार गराएको खुलेको छ ।
airport
विमानस्थलमा कार्यरत एसएसपी रविराज श्रेष्ठका चालक शोभित कार्कीले शुक्रबार साँझ चुस्ता (प्रहरी पोसाक) भित्र लुकाएर विमान चढ्ने बेलामा सोनीलाई उक्त रकम दिएको पुष्टि भएको हो । सोनीबाट शुक्रबार १ करोड २३ लाख ४० हजार ३ सय ८९ नेपाली रुपैयाँबराबर विभिन्न ९ देशका विदेशी मुद्रा बरामद भएको थियो ।
विमानस्थलको सीसीटीभी क्यामेरामा कैद भएअनुसार कार्कीले स्टेराइल हल (सबै सुरक्षा जाँच पास भएर विमानमा जानुअघिको प्रतीक्षालय) को शौचालयमा सोनीलाई सो रकम दिएको प्रहरीले जनाएको छ । 'स्टेराइल हलसम्म आउँदा सोनीसँग झोला देखिँदैन,' विमानस्थल सुरक्षा प्रमुख डीआईजी नारायण बस्ताकोटीले भने, 'शौचालयबाट निस्कँदा कालो रङको झोला भेटिएको देखिएको छ ।'
बस्ताकोटीले आइतबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठका चालक कार्की फरार भएको समेत बताएका छन् । विमानस्थल प्रहरी स्रोतले भने ओखलढुंगा घर भएका कार्की भागेको नभई भगाइएको बताउँछ । हवल्दारको एकल प्रयासले पटक-पटक अवैध मुद्रा लैजान सम्भव नहुने बताउँदै यसमा उच्चस्तरका प्रहरी अधिकृतको संरक्षण भएको र अप्रत्यासित रूपमा विदेशी मुद्रा फेला परेपछि कार्कीलाई भगाइएको स्रोतको दाबी छ ।
आयुक्तको कार्यालयबाट विमानस्थलमा सरुवा भएपछि श्रेष्ठले आफ्ना विश्वास पात्र कार्कीलाई तीन महिनाअघि सँगै लिएर गएका थिए । एसएसपी श्रेष्ठ विमानस्थलमा खटिएको यो चौथो पटक हो । सामान्यतया एउटा कार्यालयमा एक वा दुई पटकभन्दा बढी कसैको पदस्थापन हुँदैन । यसअघि प्रहरी निरीक्षक हुँदा दुई पटक र डीएसपी हुँदा एक पटक श्रेष्ठ विमानस्थलमा खटिएका थिए ।
त्यसबेला तत्कालीन गृहमन्त्रीहरू वामदेव गौतम र खुमबहादुर खड्काको सिफारिसमा श्रेष्ठ विमानस्थलमा खटिएको प्रहरी स्रोतको भनाइ छ । ती दुई गृहमन्त्रीको कार्यकालमा विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएको थियो । अहिले पनि सुन र डलर तस्करीकै लागि उनलाई विमानस्थलमा लगिएको प्रहरी स्रोत बताउँछ । 'उनी -श्रेष्ठ) विमानस्थलमा बस्दाका पुराना रेकर्डले नै उनको चरित्र छर्लंग हुन्छ,' नेपाल प्रहरीका एक पूर्वएआईजीले भने, 'श्रेष्ठको पछाडि तस्करी गर्ने ठूलो समूह छ, त्यो गिरोहले नै उनलाई त्यहाँ पुर्‍याएको हुन सक्छ ।' पटक-पटक फोन र एसएमएस गर्दा पनि एसएसपी श्रेष्ठ भने सम्पर्कमा आउन चाहेनन् ।
पक्राउ परेका सोनीले ११ दिनअघि पनि यसरी नै विदेशी मुद्रा विदेश पुर्‍याएको बताएपछि प्रहरीले त्यस दिनको सीसीटीभी फुटेज हेरेको थियो । त्यसमा पनि शौचालयमै गएर रकम लेनदेन भएको देखिएको छ । डीआईजी बस्ताकोटीका अुनसार कार्की उक्त मुद्रा बोकेर विमानको फोहोर हटाउने र खाना ल्याउने ढोकाबाट भित्र पसी अन्तर्राष्ट्रिय उडानको अन्तिम ढोकामा पुगेका थिए । जे ६६७९६२६ नम्बरको भारतीय राहदानी वाहक सोनीले १३ वर्षदेखि नेपाल बस्दै र महाबौद्धमा विद्युतीय उपकरणसम्बन्धी काम गर्दै आएको बताएका छन् । प्रहरी वा विमानस्थलका कर्मचारीलाई पनि ल्यान्ड साइटबाट एयर साइटमा जाँदा विमानस्थलको आन्तरिक पास चाहिन्छ । त्यो पास लगाएपछि सुरक्षा जाँचमा बस्नुपर्ने भएकाले कार्की आन्तरिक उडानको ढोकाबाट भित्र पसेको डीआईजी बस्ताकोटीले बताए । 'कार्की विमानमा खाना र फोहोर ल्याउने बाटोबाट भित्र पसेको ड्युटीमा रहेका प्रहरीले सनाखत गरिदिएका छन्,' उनले भने 'चुस्ता लगाएर ड्युटी गर्न हिँडेको प्रहरीको सधैं सुरक्षा जाँच गरिँदैन ।' प्रहरी स्रोतका अनुसार अवैध मुद्रा सुन तस्करीका लागि लगिएको हो । स्रोतका अनुसार बरामद विदेशी मुद्रा सुन व्यवसायी मुरारी जमालियाको हो । जमालिया दरबारमार्गमा रहेको इबिसु ज्वेलरीका सञ्चालक हुन् । जमालियाको दुबईमा पनि कम्पनी छ । उनले नेपाली बजारबाट विदेशी मुद्रा संकलन गरेर दुबई पठाउने गरेको र त्यहाँबाट सुन तस्करी गरेर नेपाल भित्र्याउने र प्रहरीले नै विमानबाट सुन खल्तीमा राखेर गोल्डेनगेटसम्म ल्याई तस्करको जिम्मा लगाउने गरेको पाइएको छ । विमानस्थलबाट पछिल्लो समय डलर र सुन तस्करी बढेको चर्चा यो बरामदीबाट पुष्टि भएको छ । केन्द्रीय कारागारमा हत्या मुद्दामा थुनामा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजले विमानस्थलबाट हात्ती छिराउने अभिव्यक्ति दिएका थिए । विदेशी मुद्रा र सुन तस्करीमा नेपाल प्रहरीकै प्रत्यक्ष संलग्नता देखिनुले त विमानस्थलको सुरक्षामा खतरा बढेको सुरक्षाविज्ञहरू बताउँछन् ।
एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र अवैध मुद्रा तस्करी भएको यो घटना नौलो भने होइन । तीन दशकअघि 'झिटीगुन्टा' का नाममा केही सामान सुविधाबापत विमानस्थलका कर्मचारी र प्रहरीले हङकङबाट ल्याउन पाउँथे । त्यसको दुरुपयोग गरी सुन तस्करीको धन्दा सुरु भएको पूर्वप्रहरी अधिृकतहरू बताउँछन् । त्यसबेला सुनको तस्करीमा तत्कालीन राजदरबारकै संरक्षण थियो ।
पूर्वआईजीपी डीबी लामा र धीरेन्द्र शाहका अंगरक्षक प्रमुख सेनानी भरत गुरुङलाई त्यतिबेला थुनेर मुद्दासमेत चलाइएको थियो । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा हङकङबाट फकिर्ंदा विमानस्थलमा २२ किलो सुनसहित समातिएका थिए । उनले प्रहरीलाई तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ल्याउन भनेको बयान दिएका थिए । प्रहरी स्रोतका अनुसार पचासको दशकमा पुनः फस्टाएको सुन तस्करीमा अन्डरवल्र्ड डन दाउद इब्राहिम समूहले लगानी गरेको थियो । छानबिन समिति प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रमुख डीआईजी परशुराम खत्रीको संयोजकत्वमा यस प्रकरणको छानबिन समिति गठन गरेको छ । महानिरीक्षक कुबेरसिंह रानाले समितिलाई सात दिनभित्र वास्तविकता पेस गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता विनोद सिंहले बताए ।

मुद्रा तस्करी प्रहरीकै सहयोगमा


काठमाडौ, आश्विन २२ - फ्लाई दुबई एयरका यात्रु भारतीय नागरिक विनोदकुमार सोनीबाट बरामद भएका विभिन्न मुलुकका एक करोडभन्दा बढी रकम प्रहरीले नै सुरक्षा जाँच पार गराएको खुलेको छ ।

विमानस्थलमा कार्यरत एसएसपी रविराज श्रेष्ठका चालक शोभित कार्कीले शुक्रबार साँझ चुस्ता (प्रहरी पोसाक) भित्र लुकाएर विमान चढ्ने बेलामा सोनीलाई उक्त रकम दिएको पुष्टि भएको हो । सोनीबाट शुक्रबार १ करोड २३ लाख ४० हजार ३ सय ८९ नेपाली रुपैयाँबराबर विभिन्न ९ देशका विदेशी मुद्रा बरामद भएको थियो ।
विमानस्थलको सीसीटीभी क्यामेरामा कैद भएअनुसार कार्कीले स्टेराइल हल (सबै सुरक्षा जाँच पास भएर विमानमा जानुअघिको प्रतीक्षालय) को शौचालयमा सोनीलाई सो रकम दिएको प्रहरीले जनाएको छ । 'स्टेराइल हलसम्म आउँदा सोनीसँग झोला देखिँदैन,' विमानस्थल सुरक्षा प्रमुख डीआईजी नारायण बस्ताकोटीले भने, 'शौचालयबाट निस्कँदा कालो रङको झोला भेटिएको देखिएको छ ।'
बस्ताकोटीले आइतबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठका चालक कार्की फरार भएको समेत बताएका छन् । विमानस्थल प्रहरी स्रोतले भने ओखलढुंगा घर भएका कार्की भागेको नभई भगाइएको बताउँछ । हवल्दारको एकल प्रयासले पटक-पटक अवैध मुद्रा लैजान सम्भव नहुने बताउँदै यसमा उच्चस्तरका प्रहरी अधिकृतको संरक्षण भएको र अप्रत्यासित रूपमा विदेशी मुद्रा फेला परेपछि कार्कीलाई भगाइएको स्रोतको दाबी छ ।
आयुक्तको कार्यालयबाट विमानस्थलमा सरुवा भएपछि श्रेष्ठले आफ्ना विश्वास पात्र कार्कीलाई तीन महिनाअघि सँगै लिएर गएका थिए । एसएसपी श्रेष्ठ विमानस्थलमा खटिएको यो चौथो पटक हो । सामान्यतया एउटा कार्यालयमा एक वा दुई पटकभन्दा बढी कसैको पदस्थापन हुँदैन । यसअघि प्रहरी निरीक्षक हुँदा दुई पटक र डीएसपी हुँदा एक पटक श्रेष्ठ विमानस्थलमा खटिएका थिए ।
त्यसबेला तत्कालीन गृहमन्त्रीहरू वामदेव गौतम र खुमबहादुर खड्काको सिफारिसमा श्रेष्ठ विमानस्थलमा खटिएको प्रहरी स्रोतको भनाइ छ । ती दुई गृहमन्त्रीको कार्यकालमा विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएको थियो । अहिले पनि सुन र डलर तस्करीकै लागि उनलाई विमानस्थलमा लगिएको प्रहरी स्रोत बताउँछ । 'उनी -श्रेष्ठ) विमानस्थलमा बस्दाका पुराना रेकर्डले नै उनको चरित्र छर्लंग हुन्छ,' नेपाल प्रहरीका एक पूर्वएआईजीले भने, 'श्रेष्ठको पछाडि तस्करी गर्ने ठूलो समूह छ, त्यो गिरोहले नै उनलाई त्यहाँ पुर्‍याएको हुन सक्छ ।' पटक-पटक फोन र एसएमएस गर्दा पनि एसएसपी श्रेष्ठ भने सम्पर्कमा आउन चाहेनन् ।
पक्राउ परेका सोनीले ११ दिनअघि पनि यसरी नै विदेशी मुद्रा विदेश पुर्‍याएको बताएपछि प्रहरीले त्यस दिनको सीसीटीभी फुटेज हेरेको थियो । त्यसमा पनि शौचालयमै गएर रकम लेनदेन भएको देखिएको छ । डीआईजी बस्ताकोटीका अुनसार कार्की उक्त मुद्रा बोकेर विमानको फोहोर हटाउने र खाना ल्याउने ढोकाबाट भित्र पसी अन्तर्राष्ट्रिय उडानको अन्तिम ढोकामा पुगेका थिए । जे ६६७९६२६ नम्बरको भारतीय राहदानी वाहक सोनीले १३ वर्षदेखि नेपाल बस्दै र महाबौद्धमा विद्युतीय उपकरणसम्बन्धी काम गर्दै आएको बताएका छन् । प्रहरी वा विमानस्थलका कर्मचारीलाई पनि ल्यान्ड साइटबाट एयर साइटमा जाँदा विमानस्थलको आन्तरिक पास चाहिन्छ । त्यो पास लगाएपछि सुरक्षा जाँचमा बस्नुपर्ने भएकाले कार्की आन्तरिक उडानको ढोकाबाट भित्र पसेको डीआईजी बस्ताकोटीले बताए । 'कार्की विमानमा खाना र फोहोर ल्याउने बाटोबाट भित्र पसेको ड्युटीमा रहेका प्रहरीले सनाखत गरिदिएका छन्,' उनले भने 'चुस्ता लगाएर ड्युटी गर्न हिँडेको प्रहरीको सधैं सुरक्षा जाँच गरिँदैन ।' प्रहरी स्रोतका अनुसार अवैध मुद्रा सुन तस्करीका लागि लगिएको हो । स्रोतका अनुसार बरामद विदेशी मुद्रा सुन व्यवसायी मुरारी जमालियाको हो । जमालिया दरबारमार्गमा रहेको इबिसु ज्वेलरीका सञ्चालक हुन् । जमालियाको दुबईमा पनि कम्पनी छ । उनले नेपाली बजारबाट विदेशी मुद्रा संकलन गरेर दुबई पठाउने गरेको र त्यहाँबाट सुन तस्करी गरेर नेपाल भित्र्याउने र प्रहरीले नै विमानबाट सुन खल्तीमा राखेर गोल्डेनगेटसम्म ल्याई तस्करको जिम्मा लगाउने गरेको पाइएको छ । विमानस्थलबाट पछिल्लो समय डलर र सुन तस्करी बढेको चर्चा यो बरामदीबाट पुष्टि भएको छ । केन्द्रीय कारागारमा हत्या मुद्दामा थुनामा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजले विमानस्थलबाट हात्ती छिराउने अभिव्यक्ति दिएका थिए । विदेशी मुद्रा र सुन तस्करीमा नेपाल प्रहरीकै प्रत्यक्ष संलग्नता देखिनुले त विमानस्थलको सुरक्षामा खतरा बढेको सुरक्षाविज्ञहरू बताउँछन् ।

Sunday, October 7, 2012

उसु खेलाडीलाई मकाउबाट ३ लाख ४३ हजार रुपैयाँ पुरस्कार


हङकङ, आश्विन २१ - मकाउमा आयोजित चौथो वर्ल्ड जुनिएर उसु च्याम्पिएनसिपमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई त्यहाँ कार्यरत नेपालीहरूले प्रोत्साहन पुरस्कार स्वरुप ३ लाख ४३ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

chinaप्रतियोगितामा सहभागी तीन खेलाडीमध्ये १८ वर्षीय चाहना बोम्जन लामाले साठी किलोग्राम तौल समुहको सान्डातर्फ कांस्य पदक जितेकी थिइन । ४२ राष्ट्र सम्मिलित खेलमा नेपालको प्रतिनिधित्व गर्दै विजेता लामासँगै रिंजी शेर्पा, विशाल थापा सिंजाली र प्रशिक्षक युवराज गुरुङ सहभागी थिए । टोलीका चारमध्ये कांस्य विजेता लामालाई कुल पुरस्कार रकमको आधा र बाँकी अन्य दुई खेलाडी तथा प्रशिक्षकलाई दामासाहीले प्रदान गरिएको हो ।
'प्रवासमा बस्ने नेपालीहरूले देखाउनु भएको सहयोग, सद्भाव र मायाले निकै उत्साहित बनाएको छ', गैर आवासीय नेपाली संघ मकाउको सकृयतामा उक्त पुरस्कार रकम  प्राप्त भएको उल्लेख गर्दै प्रशिक्षक गुरुङले भने, 'राज्यबाट उपेक्षित भइरहेका बेला यस्ता सहयोगले खेलाडीहरूलाई राम्रो खेल्न प्रोत्साहित गर्नेछ ।' विश्व जुनियर उसुमा नेपाली खेलाडीले पाएको अहिलेसम्मकै ठूलो उपलब्धि बताउँदै प्रशिक्षक गुरुङले राज्यका तर्फबाट समेत सहयोग हुने अपेक्षा गरेको जनाए ।
नेपाली खेलाडीहरू आर्थिक रुपमा पछि परेको बताउँदै एनआरएन मकाउका अध्यक्ष सुर्दशन थापामगरले खेलाडीहरूको मनोबल बढाउन प्रोत्साहन स्वरुप नगद पुरस्कार उपलब्ध गराएको बताए । 'सबै ठाउँबाट यस्तै सहयोग हुनसके खेलाडीहरूलाई हौंसला बढाउन मद्दत मिल्नेछ', उनले थपे । प्रशिक्षक युवराजले मुलुक बाहिर रहेकाहरूबाट खेलाडीलाई प्राप्त भएको यो रकम अहिलेसम्मकै ठूलो हुनसक्ने बताए ।
'प्रवासमा बस्ने नेपालीले खेलाडीलाई पुरस्कार स्वरुप यति ठूलो रकम उपलब्ध गराएको थाहा छैन्', उनले भने, 'उहाँहरूले दिनुभएको सम्मान र इज्जतले निकै हौसला मिलेको छ ।' कांस्य विजेता लामाको प्रतियोगिताका दौंरान बायाँ पाखुराको हड्डी भाँचिएको थियो । थप उपचारका लागि पुरस्कार रकमले सहयोग पुग्ने समेत प्रशिक्षक गुरुङले बताए ।

नेपाललाई १ सय ३२ रनको लक्ष्य

काठमाडौ, आश्विन २१ - नेपालले एसीसी ट्रफि एलिटको तेस्रो खेलमा जितको लागि १ सय ३२ रनको लक्ष्य पाएको छ ।

 यूएईमा भइरहेको प्रतियोगितामा नेपालविरूद्ध पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४८ ओभर १ बलमा १ सय ३१ रनमा समेटियो । कुवेतविरुद्ध फिलतो बलिङ गरेका नेपाली बलर साउदी अरेबियाविरुद्ध चम्के । कप्तान पारस खड्का र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । शक्ति गौचन र भुवन कार्कीको नाममा २-२ विकेट रह्यो । साउदी अरेबियाविरुद्धको खेलमा विनोद भण्डारीले डेब्यु गरेका छन् । स्पिनर संजम रेग्मीलाई घटाउँदै विनोदलाई टिममा सामेल गरिएको हो । नेपालले प्रतियोगिताको पहिलो खेलमा यूएईलाई ४ विकेट हराएको थियो । दोस्रो खेलमा कुवेतसग ४ विकेटले पराजित भयो ।

जहाजबाट बरामद भयो सवा करोड


planeकाठमाडौं, आश्विन २१ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ तहको सुरक्षा जाँच छल्दै शुक्रबार भारतीय नागरिक विनोदकुमार सोनीले जहाज भित्रै अवैध रूपमा १ करोड २४ लाख रुपैयाँ बराबरका विभिन्न विदेशी मुद्रा पुर्‍याएका छन् । सुरक्षा निकाय र विमानस्थल कर्मचारीको मिलेमतोमा उनले यस्तो गरेको आशंका छ । काठमाडौंबाट दुबई जान लागेका भारत राजस्थानका ३५ वर्षीय सोनीले कसका लागि रकम लैजान लागेका हुन् भन्ने सुरक्षा निकायले खुलाएको छैन । यति धेरै विदेशी मुद्रा निर्बाध विमानभित्र पुग्नुले विमानस्थलको सुरक्षा व्यवस्थामा लापरबाही प्रस्ट्याएको छ । साउदी अरब जाने जहाज 'उड्नेबित्तिकै खस्ने' सूचना आफूलाई रमेश मिलन केसी भन्दै कसैले दिएपछि उड्न लागेका ६ जहाज जाँच गरिएका थिए । सोही क्रममा फ्लाइट दुबईको उडानबाट दुबई जान लागेका काठमाडौं, कुलेश्वर निवासी सोनीलाई अवैध मुद्रासहित राति १० बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।
विमानस्थलका महाप्रबन्धक रतिश सुमनका अनुसार विमानमा विस्फोट हुने गलत सूचना ७ बजेर ३५ मिनेटमा आएको थियो । त्यसपछि सबै यात्रुको सामान र जीउ खानतलासी लिने क्रममा विदेशी मुद्रा बरामद भएको थियो । 'विमानमा बम राखेको हल्ला आयो । सबै यात्रु र विमान खानतलासी लिन थालेपछि पछिल्लो सिटमा बसेका एक यात्रु शौचालय गए, शंका लागेर शौचालयमा हेर्दा पैसाको पोका भेटियो,' खानतलासीमा संलग्न एक प्रहरीले भने, 'सुरक्षा जाँचका क्रममा कसरी पास भयो शंकास्पद छ । मिलेमतोमा पठाएको हुन सक्छ ।' विमानस्थल प्रहरी स्रोतका अनुसार सोनीको साथबाट कतारी मुद्रा ६८ हजार १ सय ५०, साउदी रियाल १ लाख ७३ हजार १ सय १०, यूएई दिनार १६ हजार ९ सय, ओमनको मुद्रा ५ सय २९, बहराइनको मुद्रा ४ सय ५, युरो ४१ हजार ७ सय ५०, स्विस प|mांक ८ हजार ५ सय ४०, बेलायती पाउन्ड ४ हजार ९ सय १० र कुवेती रियाल १ हजार ७ सय ८७ रुपैयाँ बरामद भएको छ ।
यति धेरै विदेशी मुद्रा जहाजभित्रैबाट बरामद गरिएको घटनाले प्रहरीमा खैलाबैला मच्चिएको छ । विमानस्थल प्रमुख प्रहरी नायब महानिरीक्षक -डीआईजी) नारायण बस्ताकोटीले शनिबार राति अबेरसम्म आफ्नो मोबाइल अफ गरे । जहाज चढ्नुअघि पाँच ठाउँमा सुरक्षा जाँच हुन्छ । सुरक्षाकर्मीले पेटी, जुत्ता, घडी, पर्ससमेत खोल्न लगाएर चेकजाँच गर्ने गर्छन् । हाते ब्यागलाई समेत एक्सरे जाँच गरेर पठाउने गरिएको छ । विमानस्थलका सुरक्षामा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठले घटनाको छानबिन भइरहेको बताए । 'यति धेरै सुरक्षा जाँच छल्न माथिल्लो तहको मिलेमतोबिना सम्भव छैन, यसमा विमानस्थल र एयरलाइन्सका कर्मचारीसमेत मिलेका हुन सक्छन्,' प्रहरीका एक जना उच्च अधिकारीले भने, 'सोनी आफैंले पैसाको पोको लगेको होइन जस्तो देखिन्छ । शरीर खानतलासी नहुने व्यक्तिले उनलाई जहाजभित्र पैसा लगेर दिएको हुन सक्छ ।' विमानस्थलको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई मात्रै दिइएको छ । विमान जाँचका क्रममा शुक्रबार बेलुकी करिब दुई घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको थियो ।

Wednesday, October 3, 2012

अर्काको जग्गा बेच्न खोज्ने १८ जना थुनामा

 प्रत्येकलाई २ करोड १० लाख धरौटी आदेश


भक्तपुर, आश्विन १७ - सक्कली जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्रीमा संलग्न १८ जनालाई जिल्ला अदालत भक्तपुरले जनही २ करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । धरौटी तिर्न नसकेपछि सबैलाई थुनामा पठाइएको छ । यी १८ जनाबाहेक घटनामा संलग्न अरू चार जना भने अझै फरार छन् ।

नक्कली नागरिकता बनाउने सिन्धुपाल्चोक बाह्रबिसे-२ का दिनेश अर्याललाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजलासले मंगलबार १८ जनाबाट ३७ करोड ८० लाख धरौटी असुलको आदेश दिएको हो ।
मध्यपुर थिमि-१६ लोकन्थली अरनिको राजमार्गसँगै जोडिएको दिव्यश्वरी ५ (ख) को काठमाडौंका वीरमानन्द अग्रवालको नाममा रहेको ३ रोपनी ६ आना जग्गा मालपोत कर्मचारीको मिलेमतोमा बिक्रीको प्रयास भएको थियो ।मालपोत को सक्कल मोठ स्रेस्ताको फोटो उप्काई अर्को व्यक्तिको फोटो टाँसिएको थियो ।
त्यस्तै वीरमानन्द नामको नक्कली नागरिकता बनाएका थिए । नक्कली नागरिकताका आधारमा मालपोत बाट नक्कली जग्गाधनी पुर्जा बनाई सरकारी छाप दस्तखत किर्ते गरेर वीरमानन्द अग्रवालको हक समाप्त पारिएको थियो । 'सक्कल मोठमा फोटो परिवर्तन गरी केबल जग्गा बिक्री गर्ने लिखत पारित गर्न मात्र बाँकी रहेको अवस्था देखिँदा संकलित सबुत प्रमाणहरूका आधारबाट उल्लेखित प्रतिवादीहरू कसुरदार रहेनछन् भनी भन्न सकिने अवस्था देखिँदैन,' अदालतको फैसलामा भनिएको छ ।
थुना परेकामा मालपोत कार्यालय भक्तपुरका शाखा अधिकृत उमाकान्त पौडेल र सुबोधकुमार खनाल, नासु रामहरि न्यौपाने, पियन कर्णबहादुर बिष्ट छन् । संलग्नहरू विश्वराम सुवाल, अनिल हेक्का, धनकृष्ण भासिमा, दीपक क्याल, भीमप्रसाद पौडेल, बालकृष्ण सिंह, टंकबहादुर बुढाथोकी, शंकरप्रसाद भट्टराई, अनुप चालिसे, दिल गोपाल श्रेष्ठ, राजनकुमार श्रेष्ठ, सुबोधप्रसाद दाहाल, लीलामणि भट्टराई र अभयन्द्र रञ्जित पनि धरौटी बुझाउन नसक्दा थुनामा गएका छन् । 'कसैले पनि धरौटी बझाउन नसक्दा डिल्लीबजार कारागार पठायौं,' अदालतका तहसिलदार दिलीप पन्तले भने ।  
'मुद्दाको बिगोको स्थिति र अवस्थालाई समेत विचार गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुद्दा पुर्पक्षका निमित्त मुलुकी ऐन, अदालती बन्दोबस्त ११८ को देहायको ५ र १० लाई समेत मध्यनगर गरी प्रतिवादीबाट जनही २ करोड १० लाख नगद वा सो बराबरको जेथा जमानी लिई मुद्दा पुर्पक्षका निम्ति तारेखमा राख्नू,' फैसलामा भनिएको छ, 'नगद वा जायजेथा दिन नसके थुनवा पुर्जी दिई कानुनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न सम्बन्धित कारागारमा पठाइदिनू ।'
अभियोग पत्रसाथ पेस भएको आइफोन  धरौटीमा बाँध्न आदेश दिइएको छ । उक्त मोठ स्रेस्ताबाट सक्कली जग्गाधनीका फोटो उप्काई नक्कली वीरमानन्दको फोटो टाँसेबापत नगद पाँच लाख २५ हजारसहित आइफोन धनकृष्ण भासिमाले मालपोत का पियन बिष्टलाई दिएका थिए । रोहितजंग राणा, राजु लामा, सीताराम भट्टराई र मालपोत का कर्मचारी हरिविनोद चौलागाईं फरार छन् । नक्कली जग्गाधनीको नागरिकता बनाउने अर्याललाई कसुर ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनले ६ हजार रुपैयाँ लिएर नक्कली नागरिकता बनाइदिएको बयान दिएका छन् । सरकारी वकिलको कार्यालयले अर्याललाई मुलुकी ऐन, किर्ते कागजको ७, १२, १६ नम्बरबमोजिम मागदाबी गरेको थियो । ऐनको १२ मा १ वर्ष, १६ मा ४ वर्ष कैदको व्यवस्था छ । फैसलामा भनिएको छ, 'कसुरको गम्भीरता हुन सक्ने सजायसमेत विचार गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई उनलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को दफा २ बमोजिम थुनामा राखी मुद्दा पुर्पक्ष गर्नका लागि अदालती बन्दोबस्ती १२१ नम्बरबमोजिम थुनवा पुर्जी दिई सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनू ।' सरकारी वकिलको कार्यालयले १९ जनालाई नै सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो । मुलुकी ऐन, किर्ते कागजको ७, १२ नम्बरबमोजिमको सजायको मागदाबी गरेको थियो । ऐनको ७ नम्बरमा 'सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगोबमोजिम जरिवाना हुन्छ, काम भइसकेको रहेनछ भने बिगोको आधा जरिवाना हुन्छ,' उल्लेख छ । १२ नम्बरमा एक वर्ष कैदको व्यवस्था छ । प्रहरीले घटनाको मुख्य योजनाकारहरूलाई नागरिकता, सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा, सरकारी कर्मचारीलाई सरकारी छाप र किर्तेमा मुद्दा चलाउनुपर्ने रायसहित १६ करोड २० लाख मागदाबी गरेको थियो । सरकारी वकिलको कार्यालयले सरकारी छाप दस्तखत किर्ते मुद्दा मात्रै चलाएको थियो । त्यस्तै ४ करोड २० लाख ५८ हजार १ सय ७० रुपैयाँ बिगो माग गरेको अदालतले जनाएको छ । ठगी गरेको पुष्टि हुँदासमेत वकिलको कार्यालयले सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएर कमजोर बनाउने प्रयास गरे पनि अदालतले सही निर्णय गरेको कानुन व्यवसायीहरू बताउँछन् । 'सरकारी वकिलको अभियजन स्पष्ट नहुँदा अदालतले गरेको आदेशबाट सबैले एउटै किसिमको अपराध गरेको देखाएको छ,' एक वरिष्ठ कानुन व्यवसायीले भने ।
सरकारी मोठ स्रेस्तामा जाहेरवाला वीरमानन्द अग्रवालको फोटो उप्काई नक्कली व्यक्ति खडा गरी जग्गा हडप्ने, बेच्ने उद्देश्यले मुख्य स्रेस्ता अभिलेख बदलेको, नक्कली नागरिकता बनाएको, अभिलेखमा रहेको फोटो परिवर्तन गरिएको, वडा सचिव स्वयं संलग्न भई सम्पत्तिका वास्तविक धनीलाई थाहै नदिई बीचैमा जग्गा बिक्री गर्न ग्राहक खोजी हिँडेको, तोक आदेश गरी सनाखतसमेत गराएर प्रमाणित गराई लालपुर्जा बनाएको र डोर खटाएका कर्मचारीहरू डोरमा गएको सरकारी वकिलको मिसिलमा उल्लेख छ । मालपोत कार्यालयका डोर कर्मचारीले मौकामा थाहा पाई प्रतिवेदन दिएको आधारमा प्रतिवादीहरूको उद्देश्य पूरा हुन नसकेको स्थिति मिसिलबाट देखिएको फैसलामा उल्लेख छ ।
थुनामा परेकाहरू
मालपोत कै कर्मचारी
१.    उमाकान्त पौडेल (शाखा अधिकृत)
२.    सुबोधकुमार खनाल (शाखा अधिकृत)
३.    रामहरि न्यौपाने (नासु)
४.    कर्णबहादुर बिष्ट (पियन)
अन्य
५.    विश्वराम सुवाल (भक्तपुर-११)
६.    अनिल हेक्का (मध्यपुर-१६, लोकन्थली)
७.    धनकृष्ण भासिमा (मध्यपुर-९, भुलाँखेल)
८.    दीपक क्याल (काठमाडौं-३४, पुरानो बानेश्वर)
९.    भीमप्रसाद पौडेल (उदयपुर, हडिया-७)
१०.    बालकृष्ण सिंह (सर्लाही, हरिवन-६)
११.    टंकबहादुर बुढाथोकी (काभ्रे, ज्याम्दी-९)
१२.    शंकरप्रसाद भट्टराई (हेटौंडा-६, चौघडा)
१३.    अनुप चालिसे (सिरहा-५)
१४.    दिल गोपाल श्रेष्ठ (काभ्रे, धुलिखेल-२)
१५.    राजनकुमार श्रेष्ठ (काठमाडौं, सरस्वती-४)
१६.    सुबोधप्रसाद दाहाल (सिरहा, असनपुर-६)
१७.    लीलामणि भट्टराई (सुनसरी, इनरुवा-१०)
१८.    अभयन्द्र रञ्जित (मध्यपुर-१२, थिमि)

प्रकाशित मिति: २०६९ आश्विन १७ ०८:२८