नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले नेपालको विकास र स्थिरता चीनको पनि चाहना भएको कुरा बताउनुभएको छ। यस सन्दर्भमा नेपालको पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्न चीन इच्छुक रहेको कुरा राजदूत यांगले बताउनुभयो। आफ्ना अन्य छिमेकी मुलुक, जस्तै जापान, कोरिया आदिको तुलनामा चीनको नेपालसँगको सम्बन्ध सारै सौहार्द्रपूर्ण भएकाले नेपालमा सीधै लगानी गर्न कुनै समस्या नभएको उहाँले बताउनुभयो ।
चीनमा हालै भएको नेतृत्व परिवर्तनबारे जानकारी दिन मङ्सिर पाँच गते काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यांगले नेपालका जल-विद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न चीनका धेरै कम्पनीहरु इच्छुक रहेको र त्यसका लागि लगानी मैत्री वातावरणको मात्र खाँचो रहेको कुरा बताउनुभयो ।
चीनको आर्थिक विकासबाट नेपालले प्रसस्त फाइदा लिनसक्ने सम्भावना रहेको कुरा बताउंदै राजदूत यांगले चीनले सदैव नेपालको हित चाहेको र आगामी दिनमा चीनको नयाँ नेतृत्वले पनि त्यस्तो कामना गरिराख्ने कुरा स्पष्ट पार्नुभयो ।
'हाम्रा छिमेकीसँगको मित्रता र साझेदारीलाई हामी निरन्तररुपमा प्रवर्द्धन गर्दैजानेछौं, आपसी हितयुक्त सहकार्यलाई बढाउँदैजानेछौं र चीनको विकासबाट हाम्रा छिमेकीको फाइदालाई सुनिश्चित पार्नेछौं', चीनमा नेतृत्व परिवर्तन हुनुअघि निवर्तमान राष्ट्रपति हु चिन्थाओले तयार पार्नुभाएको दस्तावेजको अंश पढ्दै राजदूत यांगले भन्नुभयो।
चीन समाजवादी विकासको बाटोमा लागिरहेको भए पनि खुला र निष्पक्ष व्यापार चीनको विशेषता भएकाले यसबाट नेपाल पनि लाभान्वित हुनसक्ने विश्वास नेपालका लागि चिनियाँ राजदूत यांगले व्यक्त गर्नुभयो।
No comments:
Post a Comment