Wednesday, December 19, 2012

कामचलाउको ठाउँमा अर्को कामचलाउ बनाउनुको कुनै अर्थ छ? कतै कुनै वैधानिकता छ?


राष्ट्रपति रामबरण यादवले पाँचौ पटकको समयावधिमा पनि सहमतिको सरकार गठन गर्ने बारे दलहरु बीच सहमति हुननसकेको खण्डमा नयाँ सरकार गठन गर्नका लागि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा अघि बढ्नुपर्ने संकेत गर्नुभएको भन्ने भनाइ बाहिर आएको छ ।
मंगलबार विहान एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरूसँगको छलफलपछि सहमतिको नयाँ सरकार गठनका लागि दलहरुलाई फेरि पाँचौं पटक पाँच दिन, अर्थात आगामी  शनिबारसम्मका लागि म्याद थपेपछि आज बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई छलफलका लागि शीतल निवास बोलाउनुभएका राष्ट्रपति यादवको आशय के हुनसक्छ? 'अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा' भनेको के हो? 
हाम्रा नेपाली राजनीतिज्ञहरुले त आजसम्म आफूलाई फाइदा हुने भए अन्तर्राष्ट्रिय अभ्यास र अनुभवको उदाहरण दिन, तर आफूलाई बेफाइदा हुने भए त्यस्ता अन्तर्राष्ट्रिय अभ्यास र अनुभवको स्मरण नै नगर्ने अभ्यास गरेका छन। अन्यथा यिनीहरु दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाको सहनशीलता र दुरदर्शितालाई उदाहरणका रुपमा लिनसक्थे, यूरोप र अमेरिकाकै उदाहरण लिनसक्थे, जहाँ जहाँ अर्काको सरकार ढाल्ने र आफू सत्तामा जाने होडबाजी दलहरुले नगर्ने भएकाले अल्पमतका सरकारहरु पनि पूर्ण समय टिकेका हुन्छन। 
त्यति लामो सोच्नसक्ने क्षमता भैदिएको भए यी दलहरुले आफूले निर्बाचनमा बहुमत ल्याउन नसकेर सत्तामा रहिरहनसक्ने अवस्था नबन्दासाथ अन्तरिम संविधानमा व्यवस्था गरिएको सहमतीय प्रणालीलाई जबर्जस्ती बदलेर बहुमतीय प्रणालीमा लैजादैनथे। अहिले नेपाल र नेपालीले भोग्नुपरेको यो दुर्गतिको मूल जड नै यही हो- अन्तरिम संविधान संशोधन गरी सहमतीय प्रणालीलाई बहुमतीयमा लैजानु। आफ्नो सुविधाअनुसार, सविधानमा संशोधन गरी देशलाई डुबाउने यी कुख्यात राजनीतिज्ञहरुको पर्दाफास हुनुपर्नेमा अझ सहमतीय सरकारका नाममा यिनीहरुलाई नै सत्तामा टिकाइराख्ने राष्ट्रपति महोदय पनि फस्नुभएको छ। 
कामचलाउको ठाउँमा अर्को कामचलाउ बनाउनुको कुनै अर्थ छ? कतै कुनै वैधानिकता छ? अनि के 'अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा' भनेको? यो त खाली सत्ताको भोक र खेल मात्र होइन र?   

No comments:

Post a Comment